Sunday, June 03, 2012

घरबाहिर — ९

 काठमाडौँ बसाइको शुरूआत



काठमाडौ प्रवासको मेरो पहिलो लक्ष थियो विज्ञान विषय पढ्नु। त्यो बेला राज्यभरिमा त्रिचन्द्र कलेज मात्र थियो विज्ञान पढाउने र मैले त्यहीँ नै प्रवेश लिनु थियो। मेरा स्थानिय अभिभावक कोही थिएनन्। त्यसैले मेरा आफू समानका दाजु या भिनाजु कसैले प्रवेश आवेदनको विधि पुर्‍याएर निवेदन दर्ता गरिदिए र म प्रवेशको आशा लिएर दिनदिनै त्रिचन्द्र कलेजको प्राङ्गण कुर्न थालेँ।
केही दिनको प्रतिक्षापछि विद्यार्थी प्रवेशको सूची त निस्कियो तर त्यो सूचीमा म परिनँ। किन परिनँ? त्यसका धेरै कारण हुन सक्थे। नागरिकशास्त्र र अर्थशास्त्र लिने विद्यार्थी विज्ञान पढाइको निम्ति अयाग्य हुन सक्थ्यो र छनौट निष्पक्ष भएकोले पनि हुन सक्थ्यो या बलियो सिफारिस हुने व्क्तिले मलाई विस्थ्ापित गनै सक्ने संभावना पनि त्यक्तिकै थियो त्यहाँ। जे होस्, म परिनँ।जुन पढाइको लागि पचास डाँडा र सय खोला नाघ्दै असारसाउनको भेल पार गरेर चुहुँदो झरीमा राजधानी पसेको थिएँ त्यही पढाइमा प्रवेश नपाउनु पिडादायक थियो र जति समय बित्दै गयो मेरो पिडा पनि बढ्दै गयो।मैले प्रवेश निम्ति कलेजका प्रिन्सिपलकोमा पुगेँ। आफ्नो व्यथा सुनाएँ। ठाउँ भए गरी दिने वचन दिएर उनी पन्सिए। लीलानाथबाले सिफारिस गरी दिएका शिक्षविभागका डाइरेक्टरको कार्यालयको ढोका धेरै दिन कुरेँ तर कुनै पार लागेन। मेरो दुर्गमता दूरी उनीहरूलाई साँगा भन्ज्याङभन्दा पर भएन ।
अघि नै भनी सकेँ - मैले प्रवेश लिएँ। अरू विषयमा त म किताब रटेर पनि भ्याउन सक्ने थिएँ तर गणितमा त कोणको निम्ति प्रयोग हुने a, b, d, q जस्ता ग्रिक अक्षर मेरो लागि नबुझने अभिव्यक्तिहरु थिए। एस.एल.सी. मा अतिरिक्त गणित लिएका भोलादाइले मदत गरे तर आफू बुझ्ने तर अर्कालाई बुझाउने सक्ने क्षमता वृद्धि भई नसकेकाले केही मात्र सहयोग भयो त्यो। यस्तै समस्या अरू ठाउँमा पनि परिरह्यो। मैले प्रयास जारी राखेँ र एक वर्ष पनि नपुग्दै गणितमा अव्बल हुन पुगेँ।
मेरो कक्षा बढो विचित्रको जमघट थियो। त्यहाँ धनकुटा मुसाङ्खेलका डिल्लीबहादुर खड्का थिए, धनकुटा बजारका तुलशी जोशी दिवस थिए, सिन्धुली कोटगाउँका नारायणविक्रम थापा थिए। थिए त्यहाँ काठमाडौं फोहोरा दरबारका अनन्तशमशेर राणा, कुपण्डोलका उपेन्द्रपुरुष ढकाल र ज्ञानेश्वरका आत्मप्रकाश पनेरु पनि। साइकल पनि शोख थियो त्यो जमानामा र थोरै मात्र साइकल चढेर आउथे। हाम्रो कक्षामा भएका छ वटी केटीमध्ये तीन वटी मोटरकारमा आउँथे तीन वटी हिँडेर। दुई वटी सो समयका उत्तरआधुनिक भएर होला ब्लाउज र स्कर्ट लगाएर पुरै मेकअपसाथ कक्षामा आउँथे जो सो समयक काथमाडौको परिवेशका लागि अपाच्य थियो। कक्षमा उनीहरु जतिखेर आए पनि अग्रस्थान दिनु पर्थ्यो र त्यो काठमाडौंको अभिजात्य वर्गबाट आएका विद्यार्थीलाई सह्य थिएन। त्यसैले एक द्यिन कक्षाभित्र समयमै आइपुग्ने केटाहरुले ती स्थान कब्जा गरे। ढिलो आउने केटीहरु आफ्नो ठाउँ खाली नदेखेर ढोकामा नै उभिइरहे। शिक्षक आएर स्थान खाली गरिदिन अनुरोध या आदेश गर्दा पनि सबै केटा पक्ष एक भए। कुरा प्रिन्सिपलकोमा पुगेपछि उनी आए, सम्झाए, हप्काए। अन्ततः अरूले त ठाउँ छोडिदिए, विरोधको नाइके भने त्यही समय कक्षाबाट बाहिर निस्केका फेरि फर्केर आएनन्।

No comments: