Tuesday, June 03, 2014

खसबाहुन

 खसबाहुन

नेपाल मण्डलको नेपाल उपत्यकामा जयस्थिति मल्लले वर्ण विभाजन गरेका हुन भन्ने इतिहासकारको भनाइलाई मान्ने हो भने त्यो भन्दा पहिले उपत्यकाका राज्यमा जात विभाजन थिएन भन्नु पर्ने हुन्छ । अर्को शव्दमा भनिदा त्यो समयको राज्यभाषा नेवारी बोल्ने समुदायमा हिन्दु प्रवेशले जातिय मान्यता जयस्थिति मल्ल पछि मात्र पाएको हो र नेवार समुदायका गैर्‍हहिन्दुहरू गैह्रनेवार समुदाय बाट छिरेका हुन भन्न पनि सकिन्छ । यसरी एउटा भाषाभाषी अर्को भाषाभाषीमा समाहित हुने कुरा नौलो पनि होइन । तर मैले भन्न खोजेको कुरा भाषाका वारेमा होइन, समाजमा सँस्कार या कुसँस्कारको विकाश र त्यसको निराकरणका उपायमा हो ।

हिन्दु धर्ममा जात विभाजन आफै उव्जिएको होइन । यो त हिन्दुधर्मिय पद्धतिले सयौं र अझ हजारौं वर्ष लगाएर समाजमा स्थापित गरिदिएको सँस्कार र सँस्कृति हो । गलत हो वा ठीक ? आफ्ना आफ्ना पक्षकाले जे जस्तो तर्क पेश गरे पनि आजको  विश्वमा शुद्र या दलितको परिभाषा दिएर एउटा समुहलाई मिल्काउनु नैतिक र मानविय दुवै हिसाबले अनैतिक र अमानविय हो । तर हजारौं वर्ष लगाएर समाजमा स्थापित भएको कुसँस्कार या कुरिति केही दिन, केही महिना या केही वर्षा नै बदलिन सक्दोरहेनछ भन्ने किरियापुत्रि आगनमा ल्याएर गिडदा पनि मानिसले किरिया गर्न नछाडेका र एकनिष्ठ बाहुनलाई गाई मारेर मासु कोचाउदा पनि बाहुनहरूले गाईको मासु खान शुरु नगरेका घटनाले नै प्रस्ट पारिदिएको छ । एउटा व्यक्तिलाई बल, धम्की र आतंक देखाएर केही क्षण परिवर्तन गरे पनि सिंगो समाजको सँस्कार र आस्था बाट त्यति सजिलै टस बाट मस हुदो रहेनछ भन्ने द्वन्दका समयमा अनुभूत भइ नै सकेको छ । सत्तरी वर्षसम्म धर्म अफिम हो भनेर राज्य द्वारा अपहेलित र नियन्त्रित भएको धर्म नमानी बसेको ठानिएको रुसी समाजमा कम्युनिष्ट शाशन ढलेको भोलि पल्ट नै त्यो समाजका गिर्जा घरका घण्टाहरू पूजिवादी देशका घण्टा भन्दा चर्को स्वरले बजे र त्यहाँका नागरिकहरूको धार्मिक आस्था कुनै पनि पूजिवादी देशको भन्दा कम देखिएन । त्यसैले सँस्कार परिवर्तन त जुग नै लगाउने प्रकृया रहेछ भन्ने यसै बाट बुझन सकिन्छ ।

हिन्दु समाजमा गरिनु पर्ने परिवर्तनको लागि हिन्दुधर्मको विशेष स्वरुपलाई बुझन आवश्यक हुन्छ । हिन्दुधर्मको आदिम ग्रन्थ वेदमा व्राह्मणलाई आदि व्रह्मको मुख बाट, क्षत्रियलाई वाहु बाट, वैश्यलाई जङ्घाबाट र शुद्र पैताला बाट उत्पत्ति भएको मानेर व्राह्मणलाई सबै भन्दा उचो स्थान दिइएको छ । त्यही अनुरुप नै हिन्दु सँस्कार, सँस्कृति र पद्धति स्थापित भएको हो । अर्को धर्म मान्न गए अर्कै कुरा नत्र हिन्दु समाजमा बसेर व्राह्मणको धार्मिक श्रेष्ठतालाई नकारिदैन । बरु को व्राह्मण, को क्षत्रिय, को वैश्य या को शुद्र भनेर पुनः परिभाषित गर्न सकिन्छ । गैह्रहिन्दुले समाजमा व्राह्मणको आवश्यकता देख्न र बुझन पनि सक्दैन । हिन्दु समाजमा त जन्म देखि मृत्यु सम्मका सबै धर्म र संस्कार कार्यमा व्राह्मणको आवश्यकता हुन्छ र उसको निर्णय नै अन्तिम मानिन्छ । हिन्दु धर्म अरु धर्म जस्तो आस्था मात्र होइन, यो त धर्म भन्दा पनि सामाजिक र व्यक्तिगत जीवन पद्धति हो, संस्कार विधि हो ।

यस्तै पद्धति नेपालका पहाडी हिन्दु समाजमा पनि छ । पहाडी बाहुन (जसलाई कतिपय नृवंशशास्त्रीहरू खस बाहुन भन्न रुचाउछन र म यही शव्दावली प्रयोग गर्न चाहन्छु) हरूको उत्पत्ति खोजिगर्ने सबै वंशावलीहरूले
वर्तमान नेपाल भित्र आफ्ना पर्खाहरूको प्रवेश महाकाली पारि बाट भएको हो भनेर टुंग्याएकाछन । त्यो भन्दा परको थलो भारतको कान्यकुव्ज र सारस्वत क्षेत्र तिर औल्याउछन । आफू ती स्थान बाट नआएकै भए पनि ती क्षेत्र बाट आएको धर्म अँगालेको हुनाले उनीहरूले आफूलाई त्यता तिर जोडनु आवश्यक ठाने ।

पहाडी हिन्दुहरूको वर्ण विभाजन पनि बढो अनौठो छ । बाहुनहरू चुच्चो नाक गरेका आर्य नश्लका देखिन्छन भने नेप्टा नाक हुने मंगोल समुदायलाई वैश्यको समुदायमा हालेका छन । दई थरी छेत्री मध्ये एका तिर बाहुन बाबु र मंगोल आमाको सन्तानलाई खत्रीको दर्जा दिएर छेत्री समान बनाएका छन भने अर्को तिर मंगोलियन नश्लका ठकुरीहरू आफूलाई उचो दर्जाको छेत्रीमा दावी गर्दछन । शुद्ध मंगोल नश्लका छेत्री हिन्दुहरू भारतिय आर्य मूलका हुन नसक्ने हुनाले हिन्दर्धर्मको विस्तारको क्रममा बाहुनहरूले आफ्नो संरक्षण र सुरक्षार्थ तत्कालिन जनजातीका सानाठूला सबै शाशक वर्गका सदस्यलाई तागाधारी व्राह्मण कर्म गराएर क्षत्रिय वर्ण दिई धर्म विस्तार गरेको हुनु पर्छ । पुरातन सिन्जा क्षेत्र मानिएको अहिलेको कर्णाली र सो आसपासको क्षेत्रमा जनजातीहरूको तुलनामा बाहुन, अझ क्षेत्रीहरूको, वाहुल्य त्यतै तिर सङ्केत गर्दछ ।

पहाडे हिन्दु समुदायको शुद्र वर्णमा राखेर अछुत मानिएका कामी, सार्की र दमाई अपवाद वाहेक मूलतः आर्य नश्लको देखिन्छ । यिनीहरूको भाषा बाहुनको जस्तै खस नेपाली भाषा  हो । यिनका रिति, रिवाज, चाल, चलन, कर्मकाण्ड सबै नै खस बाहुनका जस्तै छन । अरु त अरु, त्यो समुदायको गोत्र र थर पनि बाहुन सँग मिल्छन र जहाँ बाहुन छन त्यहाँ मात्र उनीहरूको उपस्थिति छ र बाहुन द्वारा संरक्षित छन भने यसलाई बाहुनको एउटा हाँगो मान्नुको विकल्प पनि देखिदैन ।

हिन्दुधर्ममा मानिस मात्र होइन सबै प्राणी नै ऋषि कश्यपका सन्तान मानिन्छन र सबै जीव कश्यप गोत्री हुन भन्ने गरिन्छ । कालान्तरमा वंश वंशमा युगपुरुषका नामका आश्रमहरू जन्मदै गए पछि तिनै आश्रमका अनुयायीहरूले युगपुरुषको नामका गोत्रहरू लिए । त्यसैले कुनै गैर्‍‍ह हिन्दुले हिन्दुधर्ममा प्रवेश गर्न चाहे या हिन्दुले गोत्र परिवर्तन गर्न चाहे उसले शुरुको काश्यप गोत्र लिन पाउछ । त्यसैले आफ्नो अलग्गै गोत्र हुने खस दलितहरू गैर्‍ह हिन्दु बाट प्रवेश गरेका होइनन । खसहरूमा तागाधारीका मात्र विभिन्न गोत्र छन र त्यति नै गोत्र छन खस दलितका पनि । वैश्य भनिएका जनजातीका त गोत्र हुने कुरा पनि भएन र भए पनि उनीहरू काश्यप गोत्री मात्र हुने भए । उत्तरी भारतका हिन्दु, गैर्‍ह हिन्दुको आफ्नो समूह चिनाउने प्रचलन भनेको थर हो । थर विभिन्न कारणले स्थापित हुन्छन । दुई गोत्रिय बाहुनका कहिले कहीं एउटै थर हुन सक्छ र थर कहिले कही जनजाती सँग पनि मिले पनि सबैको सबै सँग सधैं मिल्छ भन्ने छैन तर खस बाहुन र खस दलितको थर सधै मिल्नु संयोग मात्र पक्कै पनि होइन । त्यसैले खस बाहुनको उत्पत्ती खस दलित बाट हुन नसक्ने हुदा खस दलितको उत्पत्ती खस बाहुनमा खोज्नु पर्ने हुन्छ ।

खस बाहुनहरू विजेता राजाले जस्तै आफूलाई चाहिने जति सबै नोकर चाकर, होमे-डोमे आदि लिएर पसेका होइनन । त्यसैले खस दलित उनीहरू सँगै आएका होइनन र खस बाहुनका थरहरू नेपाल बाहिर नपाइने हुनाले तिनीहरू यहीं उब्जिएका हुन भन्न कर पनि लाग्छ । आफूलाई चोखो ठान्ने बाहुनहरूले वाध्यता नभइ दलितलाई आफ्नो गोत्र र थर चलाउन दिन तयार हुने थिएनन र त्यो वाध्यता पनि कि त राजदण्डको भयले कि मायाले मात्र उत्पन्न भएको हुनु पर्छ । सो समयका समाजच्युत दलितलाई बाहुनले गोत्र, थर दुवै दिनु पर्छ भनेर वाध्य गराउन सक्ने सामर्थ्य सो समयको राज्यको थिएन र त्यो आवश्यकता पनि देखिदैन । बाहुनहरूले आफूखुशी स्वविवेकले नै दलितलाई गोत्र र थर दिएको निश्चित छ । तर, कारण के थियो त बाहुनले दलितलाई त्यत्रो माया गर्नु पर्ने ?

नेपाल अधिराज्यको मुलुकी ऐन जंग बहादुर कुँवरले स्थापित गरे पनि हिन्दु धर्मव्यवस्था सिन्जा राज्य कालमा पनि थियो र जात च्युत गराउने व्यवस्था पनि थियो हिन्दु धर्मव्यवस्थामा । धर्म छोडने, म्लेच्छ संसर्ग गर्ने, अभक्ष खाने, हाडनाता करणीमा पर्नेहरूलाई जात च्युत गराइन्थ्यो र राज्य विरोध गर्नेहरू पनि त्यो समूहमा पर्दथे । जनजातीमा जातच्युतको व्यवस्था नै नभएकोले राज्यले जातच्युत भनिदिए पनि त्यो लागु हुन सक्ने समाज त बाहुन मात्रै थियो र जातच्युत भएर अछुत हुने बाहुनको जाने ठाउँ पनि कही नहुदा ऊ त्यही बाहुन समाजमा त्यही गोत्र र थर लिएर बस्थ्यो । आफ्नो स्वजन भएकाले बाहुन समाजले त्यसको विरोध गर्ने कुरा पनि भएन । सबै किसिमले खस बाहुन र खस दलितमा समानता देखिनुको कारण यो भन्दा अर्को हुनै सक्दैन ।

अब आएर खस बाहुनको परिभाषा भित्र खोजी शुरु गरौं । उपाध्याय र जैशी दुई समूह त यसै पनि बाहुन भित्र परिरहेकै कुरा हो । पितृ सत्तात्मक हिन्दृ समाजमा खत्री छेत्री त बाहुनको परिभाषा भित्र पर्ने नै भए । कुनै समयमा पुर्खा बाहुन बाट च्युत भए पनि बाहुनकै समाज भित्र राखिएका बाहुनका सन्तान पनि बाहुन भन्दा फरक कसरी हुन सक्छन र ? फेरि जुन कारणले सो समयमा उनीहरू जातच्युत भएका थिए आज तिनै कारण बाट बाहुन जातच्युत भएर अछुत बन्दैनन भने त्यो समयको कारणलाई अहिले मान्यता दिनु सरासर वेइमानी हुन्छ । त्यसैले बाहुनका यी चार समूह एकै हुन भन्ने मान्यता स्थापित गर्दा हुन्छ । तर मान्यता आफै स्थापित हुदैनन । मान्यता खोज्नेले मान्यताको दावी गर्नु पर्छ र मान्यता दिन त्यो समाज पनि तयार हुनु पर्छ । उपाध्याय, जैशी र खत्री समुदायले त आफू बाहुन भएको दावी गरेकै हो र त्यो पाएको पनि छ । अब खस दलित मात्र बाँकि रहेकोले खस दलितले पनि आफू खस बाहुन भएको कुरा दावी गर्नु पर्‍यो र अरुलाई मनाउन प्रयाश पनि गर्नु पर्‍‍यो ।

शुरुमा नै भनियो – हिन्दुधर्म व्राह्मणमा आधारित धर्म हो र हिन्दुधर्म भित्र रहुन्जेल यो मान्यतालाई इन्कार गर्न सकिदैन । थरका आधारमा मात्रै हिन्दु हुने भए व्राह्मण जातीलाई बुझाउने 'शर्मा' थर समाएर क्रिश्चियन पादरी बनेका यहीं भेटिन्छन । त्यसैले खस दलितहरू पनि बाहुन हुन भन्ने मान्यता अरु तीन समूहले दिनु पर्छ भन्ने मेरो जिकिर हो । जसरी भगवान देखि मानिस सम्म सबैले क्षत्रिय बाट तपोबलले बनेको विश्वामित्र व्राह्मण समूहलाई व्राह्मण मानिदिदा पनि वशिष्ठ व्राह्मण समूहले नमान्दा सम्म उनीहरू व्राह्मण बन्न सकेनन त्यसरी नै खसबाहुन समाजले नमानुन्जेल अरु जोसुकैले मान्यता दिए पनि खसदलित बाहुन समाजमा पस्न सक्ने छैनन । त्यसैले खस दलितले जनै पूणिर्माको डोरो बाँधिदिएनन भनेर बाहुन कुटुनु भन्दा बाहुन समाजको हुँ म भनेर दावी गर्नु बढी फलदायक हुन्छ र खसबाहुनले पनि आफ्नो एउटा अंगलाई काटेर फाल्नु भन्दा त्यसलाई आफूमा समाहित गराउन श्रेयकर छ । हिन्दु बिचको जातिय विभेद यसरी मात्रै मेटिदै जान्छ , कटुता बढाएर होइन ।

जोरपाटी - १
काठमाडौ

No comments: