Friday, May 23, 2014

संस्मरणः इअसंमा चोरी




इन्जिनियरिङ अध्ययन संस्थानमा चोरी


३० को दशकको शुरूतिरको कुरा हो । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा अचम्म भयो । तीन ताला भित्रको रकम चोरी भयो । त्योभन्दा पनि ठुलो अचम्म त ताला यथास्थानमा लागेको लागेकै थिए दराज भित्रको पैसा थिएन । हल्लीखल्ली भयो, पुरै क्याम्पस पढाइ समेत बन्द गर्नु पर्ने स्थिति आयो ।

सिमेष्टर प्रणाली लागु थियो त्यो बेला र जाँचमा उत्तर पुस्तिकाहरू शिक्षकहरूले परिक्षानियन्त्रण कार्यालयमा नै जाँच्दथे र दस्तुर पनि जाँचेको उत्तरपुस्तिकाको अनुपातमा पाउथे । शिक्षकहरूको कसैप्रति मोलाहिजा पनि थिएन र 'म यो कपी जाँच्छु' भन्ने रोजाइ पनि थिएन । कतिपय विवाद आएमा सामुहिक छलफलद्वारा समस्या समाधान गरिन्थ्यो । परिक्षा नियन्त्रकले उत्तरपुस्तिका जाँचेको दस्तुर तत्कालै दिनको निम्ति रकम पहिले नै निकासा लिएर सो रकम आफ्नो कार्यालयको दराजमा राखेका हुन्थे । त्यो दिनको पैसा दिएर पठाउथे र रहेको बाँकी त्यही दराजमा हुन्थ्यो । दराजको मात्रै होइन, दराज भएको कोठाको ढोकामा पनि ताला लाग्थ्यो र त्यो ढोकासम्म पुग्ने अर्को बाहिरी कोठाको ढोकामा पनि ताला लाग्थ्यो । सबै ढोकाका २/२ वटा साँचा थिए र परिक्षानियन्त्रक र सह-परिक्षानियन्त्रकले १/१ सेट बोक्दथे । रकमको जिम्मेवारी भने सह-परिक्षानियन्त्रकको थियो ।

सधैँझै सह-परिक्षानियन्त्रक आए र काम शुरू गरे तर दराज खोलेर हेर्दा रकम पाएनन् । हल्लीखल्ली भयो । सोचे सबैले सोचे - चोरी भयो नियन्त्रकको साँचो । नियन्त्रक आएपछि थाहा भयो उनको साँचोको झुत्तो कार्यालयको बाहिरीकोठाको दराजमा यथास्थानमा छ । कसैले उनको नियतमाथि शंका गरेन तर उनी आफैले अप्ठ्यारो माने । 

प्रहरी आयो, निरिक्षण गर्‍यो र निष्कर्शमा पुग्यो कि रातभर चौकिदारी हुने क्याम्पसभीत्र चोर आउनसक्ने संभावना नभएकाले चोर त्यहीँको भीत्रिया हुनुपर्छ । त्यति पैसाको निम्ति सबैको बयान लिने पक्षमा संस्थान गएन । बरु भित्रभित्रै खोजीनीतिको पक्ष लियो र केही दिनमा एउटा जानकरी आयो परिक्षानियन्त्रण कार्यालयमा सह-परिक्षानियन्त्रकले माया गरेर राखेको १८ वर्षे पियनकेटोले रेडियो किनेको कुरा । कमाइ हुनेको निम्ति पनि शोख ठहरिने सो समयको रेडियो पिउनकेटाका हातमा शंका ल्याउने नै भयो । सोधपुछ गरियो क्याम्पस भित्रै तर भरपर्दो जवाफ दिन सकेन उसले । प्रहरीको पञ्जामा परेपछि भने कुरा प्रस्ट भयो ।

यो प्रशङ्गको विवरण दिनुपर्दा अर्को एउटा घटना पनि सँगै आउछ । इन्जिनियरिङका कक्षामा २/४ जना विद्यार्थी थिए जो पढाइमा अति कमजोर देखिन्थे तर परिक्षामा अति राम्रो गर्थे । शिक्षक इन्जिनयरहरूको निम्ति यो एउटा बुझ्नै नसकिने पहेली भएको थियो । उत्तरपुस्तिका लिइन्थ्यो, ताला लगाएर राखिन्थ्यो र २/४ दिनपछि कपी जाँच्न शुरू गरिन्थ्यो । चाबी सधैँ परिक्षानियन्त्रकसँग हुन्थ्यो । उनीहरूको इमान्दारीमाथि शंका गर्न सकिन्नथ्यो ।

पियनकेटोको बयान दुवै घटना प्रस्टिन थाले । परिक्षानियन्त्रक नया इन्जिनियर थिए केवल २/४ वर्ष पुराना । सहनियन्त्रक धेरै वर्ष काम गरेका पुराना । त्यसैले जिम्मेवारी धेरै सह-नियन्त्रकमा नै हुन्थ्यो । उनी कडा थिए हत्तपत्त कसैलाई विश्वास नगर्ने । त्यसैले उनको साँचोको झुप्पो सँधै खल्तिमा हुन्थ्यो । आलाकाँचा नियन्त्रक सबैलाई विश्वास गर्थे । त्यसैले बाहिरी ढोकाको साँचो लिएर अरू चाबी आफ्नो टेबलको ड्रअरमा राख्दा रहेछन् ऊनी । बाहिरी कोठका दुई ढोका थिए । एउटामा भित्रबाट गजबार लगाइन्थ्यो र अर्कोमा बाहिरबाट ताला मारिन्थ्यो । पर्दा दुवै ढोकामा थिए । नियन्त्रकहरू पियनलाई ढोका बन्द गर्न अराउथे । विश्वास थियो पियन माथि उनीहरूको । तर पियनले त्यो दिन गजबार हालेन । राति भएपछि गजबार नहालेको ढोकाबाट भित्र पस्यो । नियन्त्रकको ड्रअरबाट चाबी निकाल्यो, ताला खोल्यो, पैसा निकाल्यो र फेरि सबै चिज यथावत राखिदियो । भोलि आउने नियन्त्रकहरूले केही पत्ता पाएनन् ।

त्यो केटाकेटी पियनले यो सबै अक्कल गर्‍यो भन्ने पत्याएनन् अनुसन्धानकर्ताले र 'कसरी जानिस् तैँले ?' भनेर केर्न थाले । पहिले त आनाकानी गर्‍यो तर कडाइ गरेपछि बक्यो उसले । त्यहीँ एकजना हाकिमको छोरो पढ्थ्यो । पढाइमा सारै लद्दु तर परिक्षमा सार्‍है अव्वल । प्रश्नपत्रमा शिक्षकहरू सार्‍है कडा । त्यसैले अगाडि नै प्रश्नपत्र प्राप्त गर्न सक्ने संभावना नभएपछि हाकिमले अर्को बाटो अपनाएछन् । त्यसलै उनले सिकाएका रहेछन् पियनलाई त्यो अक्कल । प्रश्नपत्र पाएपछि एउटा विज्ञले उत्तर तयार गर्दो रहेछ । छोरोले नया उत्तर पुस्तिकामा विज्ञको लेखन सार्दो रहेछ र पियनको सहायताले परिक्षकेन्द्रबाट ल्याएको पुरानो उत्तरपुस्तिकाको बाहिरी पन्ना त्यसमा लगाएर पुरानोको ठाउँमा राख्न लगाउदा रहेछन् । यसरी नै छोराका सबै परिक्षा अव्वल गराएका रहेछन् उनले र छोराका केही मित्रले पनि सो फाइदा उठाएछन् । यसरी उत्तिर्ण भएका ती र तिनका केही साथी पछि इन्जिनियर बन्न पुगे र अहिले त जागिरबाट रिटायर पनि भइसके होलान् । यस्तैबाट आएको रहेछ पियनलाई रकम चोरीको आँट ।

पियनका बाबु आए, रोए, कराए र केही रकम तिरेर थोरै रकम चोरीमा मात्र उसलाई पारियो तर हाकिमलाई केही भएन । एउटा चोरीको कथा यसरी नै टुंगियो ।
जोरपाटी - १
काठमाडौ
२०७१ जेठ ९

No comments: