Thursday, April 10, 2014

डेरा

उपपति

    एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा  थुप्रो लागेका सामानतिर हेर्‍यो। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो घर बसाल्नु पर्ने दुर्भाग्यमय परिपाटीबाट ऊ पनि जोगिन सक्ने संभावना अवश्य नै थिएन। ऊ एक ठाउँबाट अर्को ठाउँमा नसर्न हरसम्भव प्रयास गर्थ्यो। घरधनीसँग कहिल्यै मनमुटावको वातावरण सिर्जना गर्दैनथ्यो। भाडा समयभन्दा अगाडि नै दिन्थ्यो। भर्सक सानातिना मर्मत पनि आफैं गर्थ्यो र समय समयमा घरधनीले बढाउन खोजेको भाडालाई पनि ऊ स्वीकार गर्थ्यो। यी सब प्रयासहरूको केवल एउटै मात्र कारण हुन्थ्यो - डेरा सर्नु नपरोस्, उसका आफ्नो जिवनका दुखसुखका आन्द्राभुँडी देखाउने राम्रा-नराम्रा, नयाँ-पुराना झटीमिटीका टुक्राहरू पुराना सामान बेच्ने लिलामेले गल्ली, टोल र बजारमा सामान प्रदर्शनी गरेजस्तै देखाउँदै हिडनु नपरोस् तर घर घर हो जहाँबाट अन्तिम पटक लाश भएर निस्किइन्छ र डेरा डेरा हो, जहाँ निस्किने प्रतिकृया हेर्दा पटके होइन्छ। प्रत्येक घरधनी र डेरावालको सम्बन्ध दुर्ईका  बीचमा मनमुटाव नहुनु, समयमा भाडा तिर्नु, घरधनीलाई झिझ्याहट नदिनुसम्ममा मात्र सीमित हुँदैन। दुर्ई  बीचमा जस्तोसुकै सुमधुर सम्बन्ध भए पनि घरधनीले डेरा दिनुको अर्थ उसले आफ्नो सम्पत्ति अर्काको हातमा सुम्पिएकोले ऊ सधै सशङ्कितत हुन्छ र डेरावाललाई पराई ठान्दछ। डेरावाल भने अर्काकै धन भए पनि भोगचलन गरिल्याएकोले त्यो धन आफ्नो निजी अनुभव गर्दछ र घरधनीले अन्तिम सूचना दिई सक्दा पनि बुझ्न नसक्ने बाँदरको छाउरोले मरेकी आमा नछोड्न समाएर चिच्याए झैं ऊ पनि डेरा नछोड्न खोज्छ। त्यसैले उनीहरू  बीचमा अन्तर्द्वन्दको संघर्ष चल्छ र विजय जहिले पनि घरधनीकै हुन्छ। डेरावाललाई निकाल्न अरू केही कारण नभए घरधनीकी भान्जीको बिहे त्यही घरबाट हुने टुङ्गो लाग्छ या नातीको पास्नीलाई ठाउँ पुग्दैन या यस्तै अरू कुनै मानविय कारण जन्मन्छन् या जन्माइन्छन् र मानवताको नाताले नै सही डेरावाल डेरा छोड्न बाध्य हुन्छ। अनिलले जतिसुकै सतर्क भएर डेरावालको जिम्मेवारी पुरा गरे तापनि पछिल्ला कारणले बाध्य गरायो उसलाई डेरा सर्न।
 --(लामोकथा 'उपपति' बाट)http://ramdahal.tripod.com/upapati.html

No comments: