Saturday, May 12, 2012

घरबाहिर — १

दोश्रो खण्ड 
घरबाहिर

निष्क्रमण

एस.एल.सी.को परिणाम के आएथ्यो मेरी आमालाई कहाँ पठाउने छोरो? भन्ने चटारो आइलाग्यो। पठाऊँ त कहाँ पठाऊँ? कसरी पठाऊँ? नपठाऊँ त अरूका छोरा पठाइएका छन्। दुई जना थियौं पिताम्बर काका र म। असार साउनको झरी, उर्लदा खोलानाला, बालकै देखिने छोरो गाहारो थियो निर्णय गर्न र उनकासामु ह्यामलेटकोजस्तै गर्ने या नगर्नेमध्ये एउटा रोज्नु पर्ने समय भएको थियो। सधैं अंधकारमा बसेकी एउटी आइमाईका निम्ति उज्यालो ठाउँ कस्तो हुन्छ? त्यो मात्र थाहा नभएको होइन कि उज्यालो के हो? भन्ने पनि थाहा थिएन। तैपनि उनले छोरो पढ्न पठाउने निर्णय आँखा चिम्लेर गरिन् किनकि त्यो आफसी प्रतिस्पर्धामा उनीसँग अर्को विकल्प थिएन।
नानीबाबु दाइ काठमाडौंमा बिर्ता मुद्दा गर्न बसेका हाम्रा अभिभावकहरूलाई खर्च पुर्‍याइ दिन जाने भएपछि हामीहरूलाई पनि उनकै साथ लगाएर पठाइने भयो। मेरी आमाले खाजासामललाई दाल चामल, घिउ, कुराउनी, चिउरा, मसला, तरकारी धरानसम्मको बाटोलाई हालिदिइन्। काठमाडौंका लागि एक हर्पे धिउ, चिउरा, सख्खर, एउटा बट्टामा कागतीको चुकअमिलो आदि इत्यादि सामग्री मेरा लागि तयार भयो र जिम्मेवार भरियाका साथमा पिताम्बर काकासहित म पनि नानीबाबु दाइकापछि लाग्यौँ।
कहाँ कहाँ बास बस्यौँ हामी थाहा छैन तर दिनभर हिडेर लखतरान भएको मलाई भात खुवाउन पनि भरियाले उठाउनु पर्थ्यो। गोरेदाइले माया गरेर उठाउथेँ मलाई र मेरो भागमा आमाले अलग्गै दिएको घिउको डल्लो हालिदिन्थे। धनकुटाको हिलेमनितिर कतै फलामे कलधाराबाट पानी आएको देखेर चकित भएथेँ म। त्यो भने सम्झना छ मलाई। चार दिन लगातार हिडेपछि बिहानको खाना धारापानीमा खाएर उकालो लागेको एक घण्टाजतिमा हामी साँगुरी आइपुग्यौ। साँगुरीबाट थपक्क अलिकति के झरेका थियौं भरियामध्ये कसैले बाटोमा लौरो तेर्स्याएर पन्थे माग गरेर अगाडि बढ्न दिएन। पहिले त अलमल्ल परे तर पछि थाहा पाइयो पन्थे भनेको पहाडमात्र देखेकाले मधेस हेर्नु पर्दा पहिले देख्नेलाई तिर्नु पर्ने सलामी रहेछ।
साँगुरी भन्ज्याङको कुइनेटोमा मैले पन्थे तिरेर कुइनेटो नाधेपछि एकाएका मेरो अगाडि एउटा विशाल मैदान देखा पर्‍यो जसको अन्त्य नदेखेर म चकित भएँ। जहिले पनि आँखाले भ्याएसम्म दायाँवायाँ चारैतिर पहाडका चुचुरा मात्र देखेको किशोरको निम्ति त्यो मैदान अर्कै संसार थियो। पहाडको टुप्पैबाट सुनिने धरानको त्यो धान मिलको प्वाँक, प्वाँक सुनसान र निर्जन बनमा सुनिने लाहाँचेको  ट्याक, ट्याकजस्तै लागेथ्यो मलाई। म उडेर त्यो मैदानतिर झर्न चाहन्थेँ तर मेरा अभिभावक साथीहरूलाई त्यस्तो हतारो थिएन। उनीहरूले त त्यो मैदान कति पटक देखिसकेका थिए। ४।५ दिन त यसै पनि हिँडाइमै बिति सकेको थियो भने अरू १।२ घण्टाले के फरक पर्थ्यो र लामो यात्राका यात्रुलाई? म भने यति आह्लादित थिएँ कि पखेटा भएको भए एकै पटकमा कावा खाएर त्यो विशाल मैदानको आकाशमाथि धित मरुन्जेल घुम्ने थिएँ। यो चाहना मेरो त्यही समयको मात्रै हो।
पहाडको फेदीमा सर्दुखोलो तरेर फुस्रे आइपुग्दा जहीँतहीँ भरिया मात्र देखिन्थे। ताप्लेजुङ, तेरथुम, धनकुटा, संखुवासभा, भोजपुर आजका यी पाँच जिल्लालाई नुन, तेल, लत्ताकपडा, साबुन, मसाला आदि इत्यादि आपूर्ति गर्ने फुस्रेबजारमा भरियाहरूको मेला देखिन्थ्यो। भरिया कमै चल्ने असारसाउनका दिनमा पनि आउने जानेको ओहोरदोहोर, किनमेल गर्नेको हल्लीखल्ली त्यो बजार मेरो चैनपुरमा लाग्ने शुकबारे बजारभन्दा कम लागेन। त्यो समयको धरान भन्नु नै माथिल्लो छाताचोक, तल्लो छाताचोक, पुरानोबजार, नयाबजार र चतरालाइनमा सीमित थियो। ढुंगा छापिएको फराकिलो सडकमा सुकिलामुकिला मानिसहरू, बिजुलीबत्ती नभए पनि ब्याटरीले चल्ने रेडियोका स्वर, किनमेल गर्नेहरूको मोलामोल त्यही थियो त्यो बेलाको धरान बजार। कहिलेकहीँ धरती कम्पायमान गराउदै प्वाँक प्वाँक गरेर आउने थोत्रा गाडी र अध्यारोमा त्यसका बलेका आँखा देख्दा त्यो गाडी निर्जीव वस्तु हो भन्ने जानेर पनि त्यो निर्जीव नै हो भनेर पत्याउन निकै गार्‍हो परेथ्यो मलाई र आउनेजाने ती मोटर भनिने गाडीलाई पटकै पिच्छे धर्मशालाको बरण्डाबाट चकित भएर हेरि नै रहन्थेँ।
हुन त मेरो घरआँगनका गफमा धरानबजारको ठुलै नाम सुनेको हुँ र त्यहाँका चमत्कारी कार्यकलापबारे थुप्रै कुरा पनि सुनेको तर त्यो बजारका यति मात्रै देखे मैले। यसमा थप छानो नभएका मुन्डा घरहरू पनि देखे मैले। नौलो मानिसले एक रातको बसाइमा त्योभन्दा बढी देख्ने सम्भावना पनि थिएन। 

No comments: