Sunday, May 06, 2012

मादीबिर्ता — ३०

समग्रमा मादीबिर्ता
यदि सिवाइ मादीबिर्ता उत्तरपश्चिम नफर्किएर दक्षिणपश्चिम ढल्किएको भए त्यसको इतिहास अवश्य नै आजकोजस्तो हुने थिएन। दक्षिणपश्चिम फर्केको भए त्यो घमाइलो पाटो ती चार दाहालवन्धु पुग्नुभन्दा अगाडि नै आवादी भइसकेको हुने थियो र त्यहाँका रैथानेले उनीहरूलाई त्यो पाटो दिने नै थिएनन्।अल्लो र सिस्नोले ढाकिएको त्यो चिसो र ओसिलो पाटो अगाडि हुनेले ओगट्न आवश्यक ठानेका पनि थिएनन्।

सुवा ज्वरावर सिं र सुवा भारथ सिंको पत्र बमोजिम संवत् १८४३ सालमा जोगाराम उपाध्यायले मायाको उत्तर हांथुथुङ डाँडाको दक्षिण उम्लिङ खोलाको पश्चिम र क्यामी खोलाको पूर्वको जमिन पाएको देखिन्छ। त्यसै  पत्रका आधारमा सुवा दुर्जोधन कार्की र सरदार हरि कार्कीले जोगारामलाई संवत् १८४६ सालमा बहाली दिएका रहेछन्। त्यसपछि पूर्वतिर जोगारामको सीमा, पश्चिममा आसिकरामकोसाँध, दक्षिणमा माया खोला र उत्तरमा सिवां खर्क यो सीमाना भित्रको जमिनको रुक्का अहिरमान कार्की र उपेन्द्र कार्कीले संवत् १८४९ मा पाएका रहेछन्। यसरी पुलुङदेखि पर उम्लिङ खोलासम्मको घाम लाग्ने पाटो त ओगटि नै सकिएको रहेछ। त्यसैले संवत् १८५२ सालमा सो ठाउँमा बिर्ता पाउने दाहालको निम्ति त्यो भेकमा बाँकि रहेको जमिन नै त्यही ओसिलो पाटो देखिन्छ। अरूतिर जमिन बाँकी भएको भए दाहालबन्धुहरूले सो जमिन लिने पनि थिएनन् तर आफूलाई अत्यावश्यक भएको र चिनाजानाका मानिस पनि त्यहीँ नजिकै भएकाले उनीहरूले सो जमिनको लालमोहोर गराए। आफ्ना झटीमिटी, थाङ्नाभोटा बोकेर आएका ती दाहालहरूको निम्ति ‘गर या मर’ को स्थिति थियो र उनीहरूले त्यसलाई आवादी गर्न थाले। ३० वर्षसम्म उनीहरूले मरिमरी काम गरेर केही जमिनलाई खेतियोग्य बनाए र संवत् १८८५ मा चार दाजुभाइ र एक काकाका छोरा समेत गरी पाँच दाजुभाइ बीच अंशबण्डा भयो र खाल छुट्टिन शुरू गर्‍यो।

कुलानन्द, प्रमानन्द र उदयानन्दका सौतेनीआमाका छोरा मनरथ र काकाका छोरा दुर्गादासका खालमा आपसी प्रतिद्वन्दिता या झैझगडा लगातार चलिरह्यो। बिर्ता लालामोहोर गराउने कुलानन्दको ठुलै तत्कालमा ठुलै हैकम थियो र उनले आङ्ग134ना छोरा नारदशंकरको नाउँमा मादीबिर्ताको लालमोहोर गराएर सपुत्याइँ पनि लिएका थिए तर उनको मृत्युपछि त्यही सपुत्याइँ विवादको कारण भयो। आफ्ना बाबुको  नाममा भएको लालमोहोरको सपुत्याइँ बाजेले काका श्यामलाललाई समेत दिएपछि नारदशंकारका छोराहरूले काकामाथि जाइलाग्नु स्वभाविक ठाने। नारदका आठ भाइ छोरा र श्यामलालका एक्ला छोरा भएकाले विभाजनपछि त झन् सम्पत्ती पनि श्यामलालका भागमा धेरै देखिन थाल्यो। नारदका छोराहरूबाट बचाउनको निम्ति त श्यामलालका एक्ला छोरालाई श्रीहर्कलाई मामलीमा लुकाउन पठाउनु परेको समेत कुरा पुर्ख्यौली भनाइमा सुनिन आएको छ।

कुलानन्दकापछि तालुकवाला भई हैकम चलाउने कुलानन्दका भाइका नाति श्रीनारान देखा परेका छन्। देवानराईहरूसँगको सीमाना मुद्दामा उनकै समयमा सीमा तोकी मादीबिर्ताको नयाँ लालमोहोर गराइएको हो। त्यसैले उनले नारदशंकरलेजस्तै सपुत्याइँ पनि पाएका हुन्। संवत् १८८५ को अंशबण्डामा आफू ठगिएको भन्ने दलिल लिएर मनरथका सन्तानले महिपतिका अरू सन्तानसँग अदालति झगडा पनि यसै ताका शुरू गरेका थिए र सो अदालती झगडा प्रमानन्दका सन्तानसँग संवत् २०४० तिर आएर अन्त्य भए पनि कुलानन्दका सन्तानसँग अझै पनि टुंगिएको छैन।

खनजोत गरेर कमाइखाने दाहालहरू समय बित्दै गएपछि आफूलाई कुलिन सम्झन थाले र सो कुलिनताको मात्रा पनि बाहिर सम्पर्कसँगै बढ्न थाल्यो। जसले सो बेलाको नेपाल उपत्यकासम्मको नाता बढाए ती नै बढी कुलिन हुन थाले। कुलिनताको प्रदर्शन धनबाटभन्दा पनि सम्पर्कबाट बढी देखिन थाल्यो। कुलानन्दपछि  नेपाल उपत्यकासँग बढी सम्पर्कमा रहेका श्रीनारान र उनका भाइका खालले आफूलाई त्यही कुलिन दाँजोमा उभ्याए र सिरिसेली भन्ने त्यो परिवारको प्रभुत्व २।४ गाउँ परैसम्म पनि फैलिएकाले अरू दाहालहरूले त्यसलाई नरुचाउदा नरुचाउदै पनि अस्वीकार गर्न गाहारो भयो तर आफसी प्रतिद्वन्दिता भने चलि नै रह्यो र सो प्रतिद्वर्‍न्दिता पहिले पहिले अदालती झगडामा सीमित भए पनि संवत् २००७ सालको परिवर्तनपछि तयसले राजनैतिक रूप नै लियो।



No comments: