Wednesday, October 01, 2014

विद्यालय र परिवेश



विद्यालय र परिवेश

नारदगुरुको पाठशाला थियो र उनको पठशालामा युगौंदेखि चलिआएको पारम्परिक शिक्षा दिइन्थ्यो। त्यो श्रुति, स्मृति, धुलौटो, डिको, बाँसका खबटा र बाँसका कलममा आधारित थियो र किताब, कापी, पेन्सिल, कलम, स्लेट, खरीको प्रकाशसरको विद्यालयसामु त्यो धेरै दिन टिक्न सकेन। विद्यार्थी पनि असम्पन्नहरूमध्येबाट भएकाले गुरुदक्षिणा पनि नगण्य हुन थालेपछि नारदगुरु आउन छोडे  र उनका विद्यार्थी पनि लाखापाखा लागे।  

हामी स्वनिर्मित डेस्क, बेन्चमा बसेर लेखपढ गथ्यौं र प्रार्थना पनि त्यही नै उभिएर गर्थ्यौं। पाठशालामाजस्तो त्यहाँ एकले अर्कालाई उछिन्न सक्ने संभावना थिएन। तीक्ष्ण विद्यार्थीले कमजोरलाई पर्खनु पर्थ्यो र कमजोरले तीक्ष्णलाई भेट्न बढी परिश्रम गर्नु पर्थ्यो। पुरानो पाठशालामा विद्यार्थीले गल्ती गरे कन्सिरीका रौं तानिन्थे भने नया विद्यालयमा हातमा पिटाइ पाइन्थ्यो।  

अघिल्लो दिनको शिक्षाले आफ्ना केटाकेटीलाई के सिकाउछ? त्यो हाम्रा अभिभावकलाई थाहा थियो र उनीहरू त्यो शिक्षाबारे अर्ति, उपदेश दिन सक्थे तर पछिल्ला दिनको शिक्षामा भने उनीहरू हामीभन्दा पनि अनभिज्ञ थिए र सो विद्याप्रति उनीहरूको उत्सुकता यति धेरै थियो कि सामाजिक मर्यादाले नरोकेको भए उनीहरू आफ्ना छोराछोरीसँगै बसेर पढ्ने थिए। 

प्रकाशसर र त्यो स्कुल मेरो गाउँको परम्परामा परिवर्तन ल्याउने थालनी भए। प्रकाशसर गाउँका सबैभन्दा अलग्ग थिए। उनी जुल्फी पाल्थे, छरी काटथे, प्यान्ट, कमिजसुरुवाल लगाउथे र साबुन मन्जन प्रयोग गर्थे। उनले सम्पन्न बजारको सँस्कृति जानेका थिए र त्यसलाई गाउँसम्म ल्याइ पुर्‍याए। त्योभन्दा पनि पर उनी गाउँमा कसैले नजानेको विद्या जान्दथे। त्यसैले उनी हामी विद्यार्थीका निम्ति अनुकरणिय र उपमा भए। हामी टुप्पी राखे पनि कपाल बढाउन थाल्यौं, कैंची नभए दमाईका कतर्नाले कपाल काटिमाग्यौं। परम्परको हाम्रो दौरासुरुवालले कमिजपाइजामालाई ठाउँ दिनु पर्‍यो। हामीले सफा हुन सिक्यौं। नुहाउने साबुन नपाए कपडा धुनेले नै सही नुहाउन थाल्यौं। बुरुस र मन्जन उपलब्ध नहुनाले सिँवालीका डाँठका दतिवन भए पनि चल्यो। जुत्ता त हाम्रो लागि महँगो थियो र त्यो नकल गर्न भने हामीले निकै वर्ष पर्खनु पर्‍यो। 

प्रकाशसर र मेरो सम्बन्ध अभिभावक र आश्रितजस्तै रह्यो सधैं नै। आज यो लेख्दा प्रकाशसरसँगको पहिलो भेटपछिका ४५ वर्ष बितिसके(आज त उनी स्वर्गिय भइसकेः लेखक) पनि हामी एक अर्काका प्रिय नै छौं र एक अर्काको सुखदुखलाई खोजी गरि नै रहन्छौं। मेरा बडाबाहरूले भने प्रकाशसरलाई कहिले पनि रुचाएनन् र उनको सधैं अपमान नै गरे। उनीहरूले उनलाई नरुचाउने धेरै कारण हुन सक्छन्। मेरी आमाले सधैं उनीहरूसँग संरक्षण नमागेर प्रतिद्वन्तिता गरेको कारणले पनि त्यसो हुन सक्थ्यो या आफ्ना छोराहरूको शिक्षादिक्षाका निम्ति सो समयमा सो ठाउँमा शिक्षित ठहरिएका प्रकाशसरसँग मेरी आमाले राम्रो सम्बन्ध राख्नुलाई मेरा बडाबाहरूले 'यसको नियत ठिक छैन' भन्ने सोचेका पनि हुन सक्थे। ती दिनभन्दा केही समय अघि मात्रै मेरा साहिँला बडाबाकी, मेरै आमका उमेरकी र मेरै आमाका जस्तै दुई छोरा भएकी, विधवा सम्धिनी घरभित्रको सम्पत्ती लिएर अर्कैसँग हिडेकीले उनीहरूका मनमा आफ्ना बाबुको सम्पत्ती जाने त्राश पनि हुन सक्थ्यो। मेरी आमा भने उनीहरूका कुरा नमानेकाले उनको खेदो गरेको भनि ठान्थिन् भने म बडाबाहरूको डर पनि स्वभाविक हो भनि ठान्छु। 

हाम्रो शिक्षा कुनै नियमित शिक्षा थिएन। जो किताब थिए त्यही पढ्न थाल्यौं। ए बी सी डी बाट थालनी गरेर अंग्रजी शब्द घोक्न थाल्यौं। उच्चारण के कस्तो? स्वर तल कि माथि? कहाँ छिटो कहाँ ढिलो? व्याकरणको यस्तो ज्ञान गुरुलाई पनि थिएन, हामी शिष्यलाई त झन् हुने कुरै भएन। आफ्नै स्वरमा, आफ्नै भाकामा पढ्यौं, घोक्यौं। अंग्रजी बाहेक सबै पाठ्यपुस्तक नेपालीमा हुन्थे र पुस्तक छिचोल्न अगाडि नै अमरकोषसमेत छिचोलेका हामीलाई त्यति गाहारो पनि भएन। हाम्रो जम्माजम्मी एउटा कक्षा थियो र त्यसलाई कुन कक्षा भनेर छुट्याउनु पनि परेन। पढाइ सुरु भएको १।२ महिनामा नै फेरि नया किताब आए र सरले कक्षा उक्लिएको घोषणा गरे। यसरी हामीले ८।१० महिनामा नै ४ कक्षा पास गर्‍यौं। 

प्रकाशसर त्यही पाटीको माथिल्लो तलामा बस्थे र उनीसँगै पढ्न भनेर आएका अमरबहादुर श्रेष्ठ उनको खानापिनाको बन्दाबस्त गर्थे। केटाकेटी नै थिए अमरबहादुर पनि। दालचामल त जोहो गरेर राखिन्थ्यो नै। सागपात, तरकारी, दहीमोही आदि सामान भने त्यो समयमा गाउँमा बेच्ने चलन नभएकाले छरछिमेबाट मागेर नै चलाउनु पर्थ्यो। हाम्रो घर नजिकै भएको र सम्बन्ध पनि रामै्र भएकाले म बराबर सागपात, दहीमोही लगिदिन्थें। 

प्रकाशसर जसरी आए त्यसरी नै बर्ष दिन नपुग्दै विदा भए तर त्यो छोटो समयमा नै गाउँको र विशेष गरेर शिक्षामा हाम्रो मनस्थितिले ठुलै फड्को मारिसकेको थियो। पाठशाला त वर्ष दिन अगाडि नै विदा भएको थियो र अब त्यहाँ फर्कने संभावन थिएन। छोराहरू पनि नपढाई नभएकाले हाम्रा अभिभावकहरूले हामीलाई चैनपुर बजारको विद्यालयमा पढ्न पठाए। म पनि ९ वर्षको उमेरमा परदेश लखेटिएँ र प्रकाशसरको संरक्षणमा उनकै घरमा बसेर चैनपपुर विद्यालयमा पढ्न थाले।

No comments: