Tuesday, July 22, 2014

किन_नेपाल_बनेन?



नेपालमा भ्रष्टाचार

म केटाकेटी छदा मेरा बाजे हाम्रो मुद्दामा घुस खुवाउनु पर्छ भनेर रूपयाँ जम्मा गर्थे र तल अड्डादेखि राजधानीसम्मका अड्डाहरूलाई घुस खुवाएका लिखत मेरा पुराना कागजमा खोजे पाइन्छ । त्यो समयमा प्रहरी नभए पनि सिपाहीले प्रहरीको काम लिएर गाउँमा पसेपछि त्राही त्राही हुन्थे गाउँले र हाहाकार चल्थ्यो गाउँमा । खसी ढालिन्थ्यो, घिउको रास लाग्थ्यो र मसिना चामल खोजिन्थे । जसरी भए पनि उनीहरूलाई पन्साउन सामग्री र रकम जम्मा हुन थाल्थ्यो । सो समयका कर्मचारीलाई रिझाएर खुशि पार्न नसके आफ्नै खैरियत नहुन सक्थ्यो । 

६० वर्ष बितीसक्यो सो समयदेखि र मेरो नाति नै पनि ३० वर्षको भई सक्यो । बाबुको थोत्रो गाडी चड्छ त्यो मेरो नाति । मन परेन बाबुलाई मन परेको रङ उसलाई र उसले गाडीको रङ फेर्‍यो । नियम बमोजिम ऊ सम्बन्धित कार्यालयमा गयो आफ्नो गाडीको फेरेको रङ जानकारी गराउन । दिनभरि त्यही काममा अल्झिएपछि बेलुका लखतरान हुदै आएर भन्यो - "हजुरबा ! अति नै भएछ हाम्रो देश । पाइला पाइलामा भेटी नचढाए फाइल नै अघि नबढ्ने ।"

मलाई लाग्छ फरक पृष्ठभूमिमा भए पनि मेरा हजुरबा र मेरा नातिले भोगेको समस्या एउटै हो । त्यो कालमा भ्रष्टाचार थियो र अहिले पनि त्यही भ्रष्टाचार उभिएको छ । केही समय अघि मात्रै त्यही कार्यालयका हाकिम टेलिभिजनको पर्दामा कुर्लदै थिए - "भ्रष्टाचार भएको प्रमाण ल्याउनोस्, म कारवाही गर्छु ।" मानौँ भ्रष्टाचारीलाई पाता फर्काएर उनका अगाडि ल्याएपछि उनी कारवाही गर्ने रे । जनताले भ्रष्टाचार भयो भनेपछि उनी आफै खोजी नगर्ने रे । ‍

राणाशाशन ढलेको पनि ६ दशक नाघी सक्यो एउटा बच्चाको नाति पनि गरी खाने भई सक्यो तैपनि किन भ्रष्टाचारको समस्या जहीँकोतहीँ रह्यो ? किन सेलाएर गएन त्यो ? 

अहिले हामीले हेर्‍यौ भने भ्रष्टाचार नहुने ठाउँ पाउदैनौ । पदमा बसेको कुनै व्यक्ति भ्रष्ट छेन कसैले भन्यो भने त्यो हाँसोको पात्र बन्छ । राणाशाशन कालमा त कुनै सुरतले राजाका कानमा पर्‍यो भने जेलनेल, सर्वश्वहरण हुने डर थियो, अहिले त त्यो पनि छैन । सर्वोच्चअदालतका न्यायाधिश अघिल्लो बेलुका झगडियाको भोजमा गएर साँझ बिताउछन् र भोलिपल्ट उसैको पक्षमा फैसला गर्छन् । अदालतका न्यायाधिश सपथग्रहणको मसी सुक्न नपाउदै दलिय नेताकोमा दाम राख्न पुग्छन् र नियुक्ति गर्ने निकाय 'त्यो भएन होला' भन्दै पन्सिन थाल्छन् । दलिय नेता अदालतद्वारा दण्डितलाई पुरष्कार दिन्छन् र आफ्ना कार्यकर्तालाई बलजफ्ती चन्दाको नाममा रकम असुल्ने छुट दिन्छन् । भ्रष्टाचारको मूल स्रोत नै माथिल्ला पदाधिकारीहरूको भ्रष्ट आचरण हो । तल्लो तहको भ्रष्टाचार त अनाचारको चुहिदै गएको थिगर मात्रै हो । यी सबै भ्रष्टाचारी कार्यहरूको लक्ष नै जनताको सेवाको नाममा आफ्नो सम्पन्नतावृद्धि हो । विकसित राष्ट्रहरूमा उत्पादन उद्योगका माध्यमबाट सम्पन्नता वृद्धि गरिन्छ भने हाम्रोजस्तो अविकसित राष्ट्रमा भ्रष्टाचार उद्योगबाट सम्पन्नता वृद्धि गर्ने प्रयाशको परिणाम हो हाम्रो भ्रष्टाचार जालो ।

भ्रष्टाचार संस्थागत भएको यो देशमा । भ्रष्टाचार गर्नेको संस्थागत जालो छ । कार्यालयको लेखनदास मार्फत आएको रकम, सुविधा, कोशेली त्यो कार्यालयको हाकिमसम्म पुग्छ र कार्यालय कार्यालयबाट थपिदै गएर माथिल्लो निकायको कोशेली बन्छ । त्यसैले तल्लो तह समातिने बित्तिकै माथिल्लो तह उसको बचावटमा ढाल बनेर "प्रमाण ल्याऊ, प्रमाण ल्याऊ" भन्दै कुर्लन थाल्छ । भ्रष्टाचार छानविन गर्ने निकाय पनि छन् तर ती निकाय स्वयम् नै पनि अरू कार्यालयभन्दा फरक छैनन् । प्रहरीले अपराधी समाएन भन्दा या न्यायाधिसले झगडियासँग सँगै रात बिताए भन्दा पनि अचम्म लाग्न छोडी सकेको छ सर्वसाधारणलाई । अब त झन् हिजो खान नपाउने माओवादीका नेताहरू आज करोडौपति भएको देखेपछि त नैतिकता नै मरेर गएको ठानेका छन् सर्वसाधारणले त ।

तलदेखि मायीसम्म दायाँदेखि वायाँसम्म व्याप्त छ भ्रष्टाचारको जालो । सबै नै कुनै न कुनै रूपमा भ्र्रष्टाचारसँग जोडिएका छन् । भ्रष्टाचार व्यक्ति विशेषमा सीमित नभएर एउटा विकृत सामाजिक पेशा भएको छ । त्यसैले यसको जरा व्यक्ति विशेषमा नखोजिएर हाम्रै समाजभित्र खोजिनु पर्छ । 

कमाउनुलाई राम्रो मानिन्छ संसारभरि नै तर कसरी कमाउने ? त्यसको एउटा सीमा हुन्छ । हाम्रो समाजमा त्यसको कानुनी सीमा छ तर नैतिक सीमा छैन । जसरी कमाए पनि कमाएस् तर नसमाइएस् भन्ने आशिर्वादमा विश्वास गर्छ हाम्रो समाज । भ्रष्टाचारले सामाजिक मान्यता पाएको छ समाजमा । दोश्रो, नियम, कानुनलाई मिचेर अगाडि बढ्नेलाई बहादुर ठान्छ हाम्रो समाज । सडक मिचेर घर बनाउन सक्ने आँटिलो ठानिन्छ । अरूलाई कैयौँ दिन झुल्याइने काम कसैले आफ्ना शक्तिस्रोतद्वारा एक घण्टामा नै गर्न सक्छ भने त्यसलाई पहुँच भएको सशक्त व्यक्ति मानेर सन्मान गरिन्छ अर्थात् जसले भ्रष्टाचार गरेर धन कमाउछ, नियम-कानुन मिचेर आफ्नो फाइदा उठाउछ त्यो व्यक्ति समाजमा सन्मानित मानिने भएपछि भ्रष्टाचार र बेथिति रोकिन्छ कसरी ?

तैपनि ओखती त खोजिनै पर्छ किनकि भ्रष्टाचार र बेथिति नरोकी विकास सम्भव छैन । पहिलो त देशलाई एउटा नैतिकवान र दरिलो राजनितिज्ञको आवश्यकता छ । नेतृत्व गर्ने मानिस सदाचारी र नैतिकवान नभएसम्म देशबाट भ्रष्टाचार र बेथिती हटाउने काम शुरू पनि गर्न सकिन्न । त्यो राजनितिज्ञको सदाचार र नैतिकताको प्रभाव उसका वरिपरि बस्ने स्वत पर्न शुरू हन्छ ।

No comments: