Thursday, June 27, 2013

खसबाहुनबारे

को हुन् खस-बाहुन ?
चाणक्यले व्राह्मणलाई चार भागमा विभाजित गरेका छन् । जो व्राह्मण बनमा बसेर फलफूल, कन्दमूल खान्छ र नित्य श्राद्ध र तर्पण गर्छ त्यो ऋषि हो । जो व्राह्मण एक छाक खान्छ, ६ कर्म(पढ्नु, पढाउनु, यज्ञादिकर्म गर्नु र गराउनु, दान दिनु । लिनु) गर्न तयार हुन्छ र पत्नीसँग ऋतुकालमा मात्रै सहवास गर्छ त्यो द्विज हो । जो व्राह्मण सांसारिक दुनियादारी काम गर्छ, गाईवस्तु पाल्छ, खेतीपाती गर्छ त्यो वैश्य व्राह्मण हो र जो खोटो, लाहा, तील, तेल, नीर कुंकुम, मह, घ्यु मदिरा, मासु आदिको काम गर्छ त्यो शुद्र व्राह्मण हो । साथै उनी यो पनि भन्छन् कि अर्काको काम बिगार्ने, घमण्डी स्वभाव भएको, आफ्नो स्वार्थ मात्र हेर्ने, अर्काको डाहा गर्ने, झुट र छलकपटको सहारा लिने, पेटमा कपट राखेर अगाडि मीठो बोल्ने त्यस्ता व्राह्मणलाई मार्जार या बिरालो भनिन्छ । ईनार, कुवा, तलाउ, बगैँचा, देवालय भत्काउने म्लेच्छ व्राह्मण हुन् र देवगुठी खाने, गुरुको धन हडप्ने, परपत्नीलाई संभोग गर्ने र सर्वभक्षीलाई चाण्डाल व्राह्मण भनिन्छ ।

ऋषि व्राह्मणहरू अब भेटिदैनन् । द्विज व्राह्मण २।४ वटा पाइएलान् । अब त हामीले बाहुन भएसकेका वैश्य र शुद्र व्राह्मण मात्र पाउछौँ । मार्जार, म्लेच्छ र चाण्डाल व्राह्मणको त बिगबिगी नै छ हामीकहाँ ।

खसआर्य समाज पितृसत्तात्मक समाज हो । छोरो बाबुको हो र उसले बाबुको गोत्र, थर, पुर्ख्यौली समात्नु पर्छ । यो परम्परा पुस्तापुस्तादेखि चली आएको हो । त्यो हिसाबले बाहुनहरू चार थरी गन्न सकिन्छ अथवा एकै पुर्खाका उपाध्याय, जैसी, खत्रीछेत्री र दलित हाँगाहरू छन् । त्यसैले उनीहरूलाई उपाध्याय, जैसी, खत्री र दलित बाहुन भनिन्छ । चारवटै हाँगाका गोत्र, थर मिल्छन् र खत्रीमा आमापक्षका रगतबाट बनोटमा केही फरक देखिए पनि बाँकी तीन वटामा शुद्ध आर्य बनोट छर्लङ्ग देखिन्छ । यसै मेसोमा झापामा केही समय अघि गरिएको दलित बटुकहरूको व्रतबन्ध सही देखिन आउछ तर ती तागाधारी बटुकहरूले डोरी मात्रै बाँध्ने हुन् कि मनुस्मृतिले भने झैँ पञ्च महायज्ञ या चाणक्यले सुझाए झैँ ६ कर्म गर्ने हुन् या उनीहरू द्विज वा शुद्र के बन्ने हुन्, सो थाहा छैन । उनीहरूको व्रतबन्धले खसदलित पनि बाहुन हुन् भन्ने कुरा भने मान्नु पर्छ किनकि जातच्यूत हुन सक्ने खसबाहुन मात्रै थिए र अरू जातमा सो चलन थिएन । त्यसैले अब बाहुनका यी चार हाँगालाई एकै मूल बाहुनमा स्वीकार गरौँ ।

No comments: