Saturday, March 09, 2013

दुई कविता



माया अघोरी जिउदै रह्यो

सुन्यौ ! मेरी प्रेमिका आज
आइछन् राति ज्योति बनेर
अँध्यारो मेरो कोटरीभित्र
साथ सबैका आँखा छलेर ।

तप्त स्पर्शले छुदै भनिन् -
"नभेटेको जुग नै भयो
मन त मारे तैपनि किन हो ?
माया अघोरी जिउदै रह्यो ।

कैयौँ आए छोएर गए
कैयौँ आए भोगेर गए
जलगंगा ठाने सबैले
पाप ममा पोखेर गए;
पाएँ पनि सबै मैले
मन सधैँ नै रित्तै भयो
मन त मारे तैपनि किन हो ?
माया अघोरी जिउदै रह्यो ।

सधैँ साझा पिडा हाम्रो
भागमा तिम्रो सारेकी थिएँ
सुख जति मेरो आफ्नै ठानी
आफ्नै पोल्टा पारेकी थिएँ
फर्कने न कुनै चाह भयो
न भेट्ने आश खास थियो
मन त मारे तैपनि किन हो ?
माया अघोरी जिउदै रह्यो ।

झट्ट अर्को मनले सम्झ्यो
विदाइ त हुनै पर्ला
कुनै दिन त साथ थियो
पालोपैचो गर्नै पर्ला
त्यसैले नै भेट्न आएँ
त्यसैले नै भेट्न पाएँ ।

तिमी बिना त जीवन मेरो
सधैँ सधैँ नै खल्लो भयो
मन त मारे तैपनि किन हो ?
माया अघोरी जिउदै रह्यो ।"

घच्घच्यायो कसैले मलाई
छिटो मिठो मुस्कान दिइन्
मेरो सामु कुहिरो जस्तै
क्षणमा नै ती अलप भइन् ।

आँखा खुले बहिनी सामु
नयन उसका स्निग्ध थिए
शुन्यमा झैँ उसले बोली -
"सखारै उनी आज गइन रे ।"

 २०६९ फाल्गुण २२


उनी

अन्यमनस्क उनका चेतनाहरू
अनभ्यस्त उनका आँखाहरू
बारीका डिलमा फूलेका फूल नदेखेर
नचिनेर
वन वन चहारी रहिछन्
सौन्दर्य र सुवास खोजेर र
पलाँस तानी रहिछन् कहीँसौन्दर्य पाएँ भनेर
उनिउँ समाती रहिछन् कहीँ सुवास भेटेँ भनेर ।

धमिलो दृष्टिदोषले देखिदैन आफ्नो अनुहार
समयको ऐनामा र
अतितको धमिलो छायाँसँगै रमाई रहिछन्
भत्किएको चिहानमाथि फूल ओछ्याएर
अतितको पूनर्जीवनको छन् उनी आशामा
र अगाडिको चिसो पानी पिउन छोडेर
अतितको शीतले तिर्खा मेटाउन खोज्छिन् उनी ।

लोकलज्जा भन्दै दबाउदी छन् खुशीका चाहना
मर्यादा भन्दै सीमित छन् आफैँभित्र
बैँस ढल्दै जाँदो छ, रूप गल्दै जाँदो छ
समय पर्दा हाल्दै छ पत्रपत्रमा
र कोर्दैछ बुढौतीका धर्काहरू ।
खुल्दैनन् तैपनि आँखा
बुझ्दैन तैपनि चेतना
बारीका डिलमा फूलेका फूल नदेखेर
नचिनेर
वन वन चहारी रहिछन्
सौन्दर्य र सुवास खोजेर र
पलाँस तानी रहिछन् कहीँ सौन्दर्य पाएँ भनेर
उनिउँ समाती रहिछन् कहीँ सुवास भेटेँ भनेर ।

जोरपाटी, काठमाडौ
२०६९ फागुन २५
 

No comments: