Saturday, September 08, 2012

टिप्पणी - ९


साम्यवादी विचारयात्रा

n  रामप्रसाद दाहाल

एउटा नक्सा बोकेर हिडेको मानिस लक्ष ताकेर एउटा बाटोमा हिडे पनि चाहेको ठाउँमा पुग्छ भन्ने केही छैन । पहिलो, उसको त्यो नक्सा ऊ हिडेको समयसँग कति तादाम्य राख्छ ? त्यसमा भर पर्छ । त्यो नक्सा कुन कालमा बनाइएको थियो ? त्यो मुद्दा प्रमूख हो । त्यो कालमा त्यो बाटो हुन, नहुन दुवै सक्छ । बाटो थियो भने पनि त्यो बाटोमा जोडिन आउने या त्यो बाटोबाट हाँगा फाटेर जाने अरू बाटाहरू थिए वा थिएनन्, त्यसमा पनि भर पर्छ । दोश्रो, समयको परिवर्तनसँगै नक्सामा भएको स्थानको भौतिक र मानसिक परिवर्तनले पनि उसको गन्तव्यलाई असर गर्दछ । लक्षतिर बढ्दा नक्सामा नभएको नहर, कुलो बनेछ या खोलो फर्केको हुन सक्छ या यस्तै अरू केही सुविधा या अवरोश सिर्जना हुन पनि त सक्छ । तेश्रो, नकसा नै गलत समाइएको त छैन ? कोही पनि त्यो लक्षमा नपुगेकोमा त त्यो नक्सा नै गलत खिचिएको हुन सक्ने संभावना पनि त्यत्तिकै हुन सक्छ । चौथो, कथम् कदाचित त्यो बाटो सही नै रहेछ भने पनि कोही पनि प्रवेश नगरिएको लक्षमा प्रवेश गर्ने नै कहाँबाट र कसरी ? यो प्रश्न पनि उठी नै हाल्छ । अर्थात् एउटा नक्सा समाएर नजानेको लक्षतिर बढ्दा त्यो लक्षमा पुग्न नसकिने संभावनाहरू थुप्रै हुदा रहेछन् । मार्गचित्र नै छैन भने त झन् मानिसको के हालत होला ?
सिद्धान्त पनि परिक्षण नगरिएको नक्साजस्तै हो । पृथ्वी गोलो छ भन्ने सिद्धान्त जहाजीहरूले त्यसलाई परिक्रमा गरेपछि मात्रै प्रमाणित भयो । आइन्स्टाइनको सापेक्षवादको सिद्धान्त प्रमाणित हुन २० वर्ष कुर्नु पर्‍यो । यी त शुद्ध प्राविधिक र वैज्ञानिक कुराहरू भए । कतिपय स्थितिमा त प्रस्तुत गरिएका वैज्ञानिक र प्राविधिक सिद्धान्त पनि प्रयोगमा प्रमाणित हुन नसकेर बिलाएर गए । उदाहरणको निम्ति, पुराना अलकेमिस्टहरूद्वारा थालिएका सुन बनाउने सिद्धान्तहरू प्रयोगमा प्रमाणित हुन नसकेर नै हराएका हुन् । चञ्चल मानव मस्तिष्कसँग प्रत्यक्ष संलग्न मानव समाजको परिवर्तनलाई यसको वैज्ञानिक आधार यो हो भनेर किटेर भन्ने कुरा त झन् गाहारो हो र यो प्रमाणित गर्न त झन् असम्भव जस्तै छ तापनि कार्ल मार्क्सले त जर्मन दार्शनिक हेगलको द्वन्दवादी दर्शनसिद्धान्तलाई समाएर समाजको परिवर्तन भौतिक द्वन्दवाद सिद्धान्त अनुरूप हुन्छ भनेर ठोकुवा गरिदिए । उदाहरणको निम्ति, उनले मानव सभ्यताका विकासक्रममा बढी विकसित उत्पादनविधिबाट अल्पविकसित उत्पादनविधि प्रतिस्थापनको उदाहरणहरू प्रस्तुत गरे र त्यसलाई वर्गसंघर्षको परिणाम घोषणा गरे । अझ अगाडि बढेर उनले इतिहासमा सबैभन्दापछि आएको औद्योगिक उत्पादनविधिका श्रमिकहरूको अधिनायकत्वमा साम्यवाद स्थापना भएपछि वर्गसंघर्ष अन्त्य हुने द्वन्दवादको वैज्ञानिक घोषणा पनि गरिदिए र यही आधारमा सोभियत संघ स्थापना भयो ।
‘सबैलाई आवश्यकता अनुसार, सबैबाट सामर्थ्य अनुसार’ को सिद्धान्तमा आधारित साम्यवाद एउटा लक्ष थियो र सर्वहाराको अधिनायकबाद त्यहाँ पुर्‍याउने माध्यम । त्यो माध्यमलाई बाटो सजिलो बनाई दिन सोभियत संघमा एकै रातमा सबैलाई सर्वहारा बनाइयो । तैपनि सोभियर संघ गएन साम्यवादमा । उसले मिठो वा पिठोले आफ्ना नागरिकको पशुजन्य आवश्यकता पूर्ति गर्न त सक्यो तर सबै मानिसका मानवजन्य आवश्यकता पूर्ति गर्नेतिर उसले बाटो नै पाएन र प्रतिस्पर्धात्मक उद्योगको बाटो नै रोकियो । अन्तत करोडौको बलऊ राज्य पूँजिवादभन्दा पर जान सकेन ।
काल्पनिक चित्रजस्तो एउटा लक्ष त मार्क्सले दिए र त्यहाँ जानका निम्ति साधन पनि औँल्याई दिए तर उनले तय गर्नु पर्ने बाटोको मार्गचित्र दिएनन् । त्यसैले, अरू त अरू, साम्यवादीहरूले त्यो स्वर्गमा पुग्न तर्नु पर्ने वैतरणी पनि फेला पार्न सकेनन्, पारी तर्ने डुंगाको त कुरै छोडी दिऊँ । उनीहरूसँग कोही पनि नपुगेको साम्यवादको काल्पनिक चित्र त थियो । त्यहाँ अपराध, न्याय, दण्डसजाय केहीको पनि कल्पना थिएन । न त्यहाँ राज्यको उपस्थिति नै हुन सक्थ्यो । स्वर्गसमान हुने थीयो त्यो समाज आफसेआफ सबै चल्ने । सबै काल्पनिक चित्र । मार्गचित्र नभएपछि सर्वहारा भनिने शाशकको आज्ञाभन्दा फरक विचार राख्ने सबै प्रतिगामी, सबै जनविरोधि । ट्रस्की मारिए त्यसैले । ल्यु साओ ची जेलमै सडे । स्तालिन बदनाम भए । मार्सल चु तेह पनि छोडिएनन् । जहाँ अधिनायकवाद थिएन त्यहाँ नेता पिच्छे नै दल बने । साम्यवादी दलहरू टुट्नुको मूल कारण नै अन्धाहरूले बाटो पहिल्याएजस्तै हो । जो जता हिड्यो त्यही बाटो ठिक, अरू सबै गलत । नेपाल पनि अपवाद होइन र यस्तै कथा दोहोरी रहेछ यहाँ पनि । १५००० नागरिकको हत्यापछि एनेकपा माओवादी आजको स्थानमा आई पुग्नु साम्यवादतिरको मार्गचित्रको अभावको कारणले नै हो । कसरी जाने ? को त कुरै छोडी दिऊँ, कहाँ जाने ? भन्ने नै अति भ्रमपूर्ण र मनोगतवादी छ । प्राव्दा गलत लेख्दैन भनिन्थ्यो सोभियत संघमा । अध्यक्ष माओ गलत हुदैनन् भन्ने उक्ति थियो चिनमा र हेडक्वार्टर प्रचण्ड गलत गर्दैनन् भन्ने मान्यता थियो नेपाली माओवादीमा पनि तर ती सही ठहरेनन् । कारण, लक्षको ज्ञान र मार्गचित्र बिनाको यात्राले कही पनि पुर्‍याउदैन र पुरानो यात्रीले यो बुझेर मार्गचित्र समायो भने अर्को यात्रीले त्यही पुरानो सिद्धान्त समाएर अदृश्य यात्रा शुरू गर्न थाल्दछ । मोहन वैद्यको माओवादीको यात्रा त्यतै तिरको हो ।

No comments: