Monday, January 08, 2007

कविता — मेरो पुरानो कविता संग्रह बाट

जीवन र मृत्यु

-- राम दाहाल

मृत्यु त जीवन आसन्न लक्ष हो
बाँच्नेले यसलाई कुर्नै पर्छ
जीवन निर्धारित कोशेढुंगा हो र्
मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

हामी आफैले आफैलाई ढाँटेर बाँच्न चाहन्छौं,
या आफैलाई ढाँटेर मर्न चाह्रन्छौं ,
कोही वटवृक्ष झैं शताव्दि नाघ्दै रमाउछौं,
कोही पानी झार झैं कलकलाउदैमा बिलाउछौं ।
हामी बाँचुन्जेल बाँचेर बस्छौं
र शताव्दि या सोर्‍ह दिन पछि
ढल्छौ् र मर्र्छौ् ।

'बाँचेकैछ ?‘ भनी चौरासी हेर्न आउने निम्तालु भन्दा त
वैंसमा मलामी हुन आउने चोखा हुन्छन,
सुखले मोटाएका भन्दा त
दुखले खँगारिएका बढी भोका हुन्छन ।
त्यसैले आफ्नो निम्ति बाँच्न सजिलो छैन भने
अर्कोको निम्ति बाँच्न झन गाहारो हुन्छ ,
वर्त र पूजा त कष्टसाध्य शोख हो
श्राद्ध र तर्पणको लागि पो अभागी वाध्य हुन्छ ।

'बाँचेकैछु' भनि जनाउन पनि केही त भन्नै पर्दोरहेछ,
भएको दिन्छु भन्न पनि उठेर तम्सनु पर्दो रहेछ
र पानीझार होस या वटवृक्ष दुवैले
केही त दिएर नै जानुपर्दो रहेछ ।

दिल्ली
१९ जुन १९९२