बिजुलीः सपनाको व्यापार
सपनाको व्यापार पनि एउटा आनन्दको व्यापार हो । न
यसमा कुनै लगानी गर्नु पर्छ न परिश्रम नै । तैपनि आनन्दसँग कल्पनाको घोडा चढेर
उड्न पाइन्छ, क्षणमा नै विश्वभ्रमण गरेर आफ्नो कोटरीमा आई पुगिन्छ । यस्तो सपनाको
व्यापार गर्न हामी नेपाली सार्है सिपालु छौँ । २० को दशकतिर म विद्यार्थी हुदा एक
जना महापंच विदेश भ्रमणको सिलसिलामा हाम्रो महाविद्यालयम पुगेर भनेर भनेका थिएः
"बुझ्यौ ! तिमीहरू त सार्है भाग्यवानी रहेछौ नि । त्यहीँ नजिकै काभ्रेमा
विशाल युरोनियम खानी पत्ता लागेको छ । अमेरिकाले पत्ता लगाएको । तिमीहरू नेपाल
पुग्ने बित्तिकै त्यहीँ हो काम गर्ने ।" हामी विद्यार्थीले पत्यायौँ किनकि
त्यति ठुला मानिसले भनेको कुरा नपत्याउने कुनै कारण पनि थिएन तर त्यो सपना त्यहीँ
नै अन्त्य भयो । मैले नेपाल फर्केपछि कहिले पनि काभ्रेको युरेनियमको बारेमा कुरा
सुनिनँ । महापंचले आफू मान पाउन एउटा सपनाको व्यापार गरेका रहेछन हामी विद्यार्थीसँग
। अहिले अर्को युरेनियमको अर्को व्यापार शुरू भएको छ हामी कहाँ अहिले फेरी बडो
तामझामकासाथ । मनाङ मुस्ताङतिर ठुलो युरोनियम खानीको सम्भावना भेटियो रे । अब
कसलाई बेच्ने त्यो युरेनियम ? सपना बुन्दैछौँ हामी ।
त्यही पढाइकै समयमा डा.हर्षमान श्रेष्ठले आफ्नो
विद्यावारिधिको शोधपत्रमा नेपालको जलस्रोत ऊर्जाक्षमता ८४००० मेगावाट भएको दावी
गरिदिए । सो काल सो समयमा ती तथ्याङ्क कति वास्तविक थिए ? त्यसमा हामीले शंका
गरेनौ किनकि त्यसको आधा मात्रै भए पनि हामीलाई चाहिनेभन्दा बढी देखियो
जलऊर्जास्रोत । व्यापार शुरू गरियो अब त्यो ऊर्जाको । ८४ हजार मेगावाट त किन
चाहियो नेपाललाई ? ४ हजारले नै छताछुल्ल हुने भयो देश । बाँकी ८० हजरा कहाँ पठाउने ? पाकिस्तानदेखि
श्रीलंका, चिनसम्म पनि व्यापार गरियो त्यो ऊर्जाको तर झण्डै १ सय वर्ष अगाडिको
चन्द्रज्योतिदेखि अहिलेसम्म विद्युतऊर्जा निस्कियो त केवल ६७० मेगावाट । तैपनि
सपना देख्ने अधिकार छ हामीसँग । घरमा ढिँडो ओडाल्ने पिठो नहुने गरिबले वासमती चामल
बेच्ने सपना देख्न्छ किनकि चामल ऊसँग छैन त सपना त छ । हाम्रो हालत पनि त्यो
गरिबकोभन्दा केही कम छैन । उद्योगका निम्ति ऊर्जाको त कुरै छोडिदिऊँ राजधानीको
केन्द्रमा नै पनि टुकी बाल्नु पर्ने अवस्थामा छन् जनता तर हामी भारतलाई बिजुली
बेच्ने सपना बाँडिरहेका छौँ । यही सपनाको व्यापारमा हामीले हजारौँ खोला झोलामा
हालीदिएर पार नलाग्दा पनि हामीमा चेत आएन र सपनाको व्यापार अर्को बाटोबाट मौलाउदै
गएको छ । लगानी बोर्डका अध्यक्षदेखि अर्थमंत्री र मंत्रीपरिषदसम्मले यही सपनाको
व्यापार फिँजाइरहेका छन् तर जनताको निम्ति त यो बिजुली बेच्ने वासमतीको सपनाभन्दा
विपनामा देशलाई चाहिने ऊर्जाको पिठो पुर्याइदिए धन्य धन्य भन्ने थिए जनताले ।
हेरौँ ! विपनाको पिठोतिर जोड गर्छन् कि सपनाको व्यापारतिर !
No comments:
Post a Comment