मेरी बजै, मेरा गुरु र मेरो पहिलो पाठशाला
मेरो जीवनको कखहरा मैले मेरी बजैको काँखबाट सुरु
गरेको हुँ र मेरो शिक्षाको बाह्रखरी पनि मैले त्यहीं सिकेको हुँ। घाँस, दाउरा, मेलापात, चुलोचौको गर्नु पर्ने र
काँखमा दुधखाने सानो छोरो पनि भएकी मेरी आमाले मलाई काँखमा लिने फुर्सद पाउन्नथिन् र म त्यसको माग
पनि गर्दिनथें। म सार्है सानो थिएँ त्यस बेला। बल्दो बैसमा पनि १५५ सेन्टिमिटर
उचाइ र ४५ किलोग्राम तौल हुने व्यक्ति ३।४ वर्षको उमेरमा कस्तो हुन सक्थ्यो?
यसै अन्दाज गर्न
सकिन्छ। मेरी आमा र अरूको भनाइ मान्ने हो भने म दुई वर्षको उमेरमा भैंसीले एकपल्ट
गोब्य्राएको गोबर भन्दा अलिकति मात्रै बढी थिएँ रे। यसरी गोबरसँग जोख्दा गोबरभन्दा
बढी भए सबै रोगव्याधी गएर बाँच्ने संभावना बढ्छ भन्ने लोकमान्यता अनुसार साँचै नै गोबरसँग जोखेका
थिए रे मलाई। पल्लो कटेरोको भित्तामा सुकाएको गोबर त्यही मलाई जोखेको गोबर हो
भन्थे सबै जना।
मेरी बजै ठुलो जिउडालकी मोटी थिइन् र काँखमा बसेर
खास्टोले छोपिदा म काँखमा नभएको देखिने। मलाई बाह्रखरी कण्ठस्थ गराउन मेरी बजै
ठुलो स्वरले कराएर दोहोर्याउन लगाउथिन्। मेरी फुपू, बडाबा, बडीआमाहरूलाई त्यो चिच्याहट
झर्को पनि लाग्थ्यो होला तर कसैले केही नभने पनि मेरी कान्छी फुपू त भनिहाल्थिन् —"'कति कराउनुहुन्छ, ए आमा? मूलबाटोमा हिडनेले पनि यो बुढी
बौलाइछ भन्लान्।"
"भने भनुन् त। मेरो नाति पढाउदा पनि कसैले बुढी
बौलाइछ भन्यो भने खाँच्चैसित" भन्दै उनी मलाई रटाउन
थाल्थिन्।
हुनत अरू पनि नातिहरू थिए तैपनि मेरी बजै ममा नै बढी
चासो राख्थिन्। मलाई लाग्छ – म मेरी बजैको मृगतृष्णाको एउटा त्यान्द्रो थिएँ र उनी आफ्नो
मरेको कान्छो छोरोको जम्मै माया ममा पोखेर मातृत्व रिणबाट मुक्त हुन खोज्थिन्। उनी
भन्थिन् — "म यसलाई पढाएर विद्वान पण्डित बनाउछु र यसले व्यासाशन बसेर पुराण सुनेपछि
मात्रै मर्छु।'
मेरा ज्ञान र शिक्षाका कारकहरू धेरै छन् तर मेरी बजै
त्यो चाहकी उत्प्रेरक हुन्। मेरो सम्झनाको पहिलो चरण नै मेरी बजैको काखमा बसेर
बार्हखरी कण्ठस्थ गर्न लागेको अनुभूति हो। उनलाई म ठूलो मानिस बनेको देख्ने अभिलाषा
थियो। टुहुरो नातिमाथिको बजैको अपहत्ते देखेर मेरा बडाबा, बडीआमा या अरू कसैको मुखबाट 'के के न बनाउँला भनेर यो
अपहत्ते गरेको होला, हेरिहालुँ ला नि' भनेका शब्दले उनलाई पोल्थ्यो पनि होला ।
मैले मेरो भाषाका सावाँ अक्षर कहिले सिकें? थाहा छैन। म त बजैको काँखमा
बसेर ती अक्षर भट्याएको मात्र सम्झन्छु। बजैको काँख छोडेर पाठशाला गएको मलाई थाहा
छ र त्यो पाठशाला त्यो गाउँको नियमित पाठशाला थियो। गाउँका पण्डित नारद लामिछाने
पाठशालाका गुरु थापिएका थिए र मेरो घर नजिकैको रामालय–शिवालयको पाटीमा परालको सुकुल
ओछ्याएर हामी पढ्ने गर्थ्यौं। गुरुको आशनमा भने सुकुलमाथि एउटा सानो राडी पनि
ओछ्याइएको हुन्थ्यो।
मेरो पाठशालाको पहिलो पुस्तक, सचित्र ठुलो वर्णमाला हो।
सावाँअक्षर, बाह्राखरी, अंक, दशमांक,
दुनोट सबै यही
पुस्तकबाट सिकेको हुँ मैले। काठको धुलौटोमा मसिनो धुलो पारेको रातोमाटो हालेर
बाँसको डिको(छेस्को) ले हामी लेख्न सिक्थ्यौं र मैले पनि त्यसरी नै सिकेको हुँ।
बाँसको कलम र बत्तीको गाजल र तितेपातीको झोल मिसाएर बनाएको मसीबाट लेख्न त निकै
पछि थालिएको हो। मेरी बजै कहिलेकही पाठशालामा नै पनि पुग्थिन् र मेरो पढाइको खै
गर्थिन्। बजै पाठशाला आएको देखेर मलाई सधैं डर भइरहन्थ्यो कि कहीं उनले मेरा
गुरुलाई गाली गरेर मेरो अबगाल नपारून्।
मेरी बजै, ठुलो वर्णमाला र नारदगुरु मेरो प्राथमिक शिक्षाका
सूत्रधारहरू हुन्। मैले सधैं बिहानै पञ्चस्नान गरेर बजैले पुजा गर्दा गरिने पाठका
श्लोकहरू सुन्नु पर्थ्यो र केही जान्ने भएपछि आफैंले पनि पढ्नु पर्थ्यो। बजैले
मलाई निधारमा त्रिपुण्डक लगाइदिएर नैवेद्य खान दिन्थिन्। यी नित्यकर्म पछि म ठुलो
वर्णमाला समाएर घोकन्ति विद्या गर्थें। बिहान खाना खाएपछि म त्यही वर्णमाला र
धुलौटो समाएर पाठशाल पुग्थें। सावाँ अक्षरदेखि लघुकौमुदीसम्म एउटै गुरुले पढाउने
हुनाले एउटै सुकुलमा कोही पाणिनीका सुत्रहरू घोकिरहेका हुन्थे भने कोही सावाँ
अक्षर कोर्ने प्रयासमा हुन्थे। पाठशाला आइपुग्ने बित्तिकै गुरुलाई खुट्टामा शिर
राखेर सरस्वती वन्दना गर्नु सधैंको नियम थियो र त्यो पनि प्रत्येक विद्यार्थीले
अलग अलग गर्दथ्यो। सामुहिक वन्दनाको चलन थिएन त्यहाँ।
दिनमाभन्दा रातमा बढी पढिन्छ भन्ने विद्यार्थी सोचाइ
त्यो समयमा पनि थियो र कतिपय विद्यार्थीहरू खाना खाएर बेलुका पाठशालामा नै सुत्न
आउथे। त्यसैको देखासिकी म पनि घरमा खाना खाएर घरबाट २।४ मिनटको बाटो परको
पाठशालामा नै सुत्न थालें। रातिसुत्नेले बत्ती बाल्न मट्टीतेल ल्याउनु पर्थ्यो र
त्यो दुर्गम पहाडी गाउँमा त्यो समयमा मट्टीतेल खर्चिलो सामग्री ठहरिन्थ्यो।
हामीजस्ता सम्पन्न परिवारलेमात्र प्रयोग गर्न सक्ने हुदा त्यो जमातमा मेरा नजिकका
काका र दाजु मात्रै धेरै थिए। नाताले म सबैभन्दा कान्छो थिएँ र उमेरको हिसाबले पनि
म सबैभन्दा सानो थिएँ। सात वर्षको उमेरको म हुँदा उनीहरू मभन्दा १०।१२ वर्षसम्म
जेठा पनि थिए। मेरो मट्टीतेलको पालो आयो कि मेरी बजै उनीहरूलाई भन्ने गर्थिन् —
'बाबु हो ! यो
फुच्चेलाई किन तेलको पालो लगाउछौ? यो राति के पढ्छ र? सुतिहाल्छ। फेरि उठ्यो नै भने पनि तिमीहरूजस्तो ठुलो
ठाउँ ओगट्ने होइन। यसो छेउबाट आएको उज्यालोमा पढ्ने त हो नि।'
तर बजैको त्यो भनाइले मेरो पालो हट्दैनथ्यो र म पनि 'तेरो तेल छैन, तँ बत्तीमा नपढ्'
भनेर अपमानित
हुनुभन्दा बजै र आमासँग रोइकराइ मट्टीतेल लिएर नै जान्थें।
यसरी नै चलेथ्यो मेरो पहिलो पाठशाला।
काठमाडौं, कुलेश्वर
२०५२।१०।१९
No comments:
Post a Comment