हाम्रो विकासनीति
मेरा एक जना वन्धुले राजधानीमा धडेरी किन्ने योजनामा
मेरो अगाडि जग्गा दलाललाई लिएर आई पुगे । उनीहरूको कुरा सुनेपछि मैले दलालालाई
सोधेँ - "जग्गा कहाँको नि ?"
दलालले बडो दलाली भावमा हात मोल्दै भन्यो -
"हजुर, जगा त बडो भनेको ठाउँमा छ । सहरबाट १७ किलोमिटर पनि छैन । नयाँ बस्ती
हो । भन्ने जस्तो ठाउँ छ गाडी पुग्ने । सस्तो पनि असाध्यै सस्तो, हजुर ।"
दलालबाट त मैले त्योभन्दा कम सुन्ने आशा गरेको थिइनँ
। त्यसैले बन्धुतिर फर्केर भने - "कस्तो लाग्यो तपाईलाई ? बाटोघाटो, बिजुली,
पानी सबै छ त ?"
तर मेरा बन्धुले केही भन्न नपाउदै दलालले भनी हाल्यो
- "ए हजुर ! त्यसको त चिन्तै छैन । जमिनबाट पानी प्रशस्त आउछ । बिजुली त के
दर्खास्त मात्रै दिनु पर्छ । आज भने आजै, भोलि भने भोली आई पुग्छ । ग्यारेन्टी
मेरो । बाटो अरू ठाउमा आठ फुटे हुन्छ । यो त दश फुटे । आफै गएर नजर होस् न ।"
दलालको भनाइले नै मेरा बन्धुको चित्त बुझे जस्तो
लाग्यो मलाई र बन्धुलाई भने - "चित्त बुझेको छ त्यसो भए तपाईको ?"
"ठिकै लाग्यो मलाई त ।" - उनले चित्त
बुझाएको स्वरमा भने ।
मेरो बन्धुलाई ठिक नलाग्ने कुरा पनि थिएन । पैदल
हिडेर आएको भए १७ दिन परको गाउँमा उनी एक डेढ फुटको बाटोमा हिड्थे र दश फुटको बाटो
उनको सोचभन्दा धेरै फराकिलो लागेको थियो उनलाई । टुकी बाल्ने उनको घरमा
बिजुलीबत्ती हुनु नहुनुले केही फरक पार्दैनथ्यो । एक घण्टा परको धारोबाट बोकेर
पानी खाने बानी परेकाका निम्ति जमिनमनिको पानी आफ्नै मजेरीमा भएको ठाने उनले । बास
पनि हाले र बास पनि बसे तर दश वर्ष नबित्दै उनले आफ्नो गल्ती बुझ्न थाले । पाँच
ठाउँ मोडेर ल्याउनु पर्ने सडकमा उनको घरसम्म एम्बुलेन्स पनि आउन नसक्ने रहेछ ।
जमिनको पानी सुक्यो र पानी किन्नु पर्ने भयो । बिजुली नहुदा त सबै चिज रोकिदो रहेछ
सहरमा भन्ने उनले थाहा पाए ।
मेरा बन्धुले विकासक्रममा जुन कुर भोगे हाम्रो
विकासक्रममा हामी पनि त्यही कुरा भोगी रहेका छौँ । हामीले हाम्रा आधुनिक बस्ती
हाम्रा पुर्खाले हजार वर्ष अघि बनाएका असन, इन्द्रचोक, नरदेवी आदिभन्दा धेरै
अव्यवस्थित बनायौँ । हामी कतिसम्म तल झर्यौँ भने ती पुराना हजार वर्ष अगाडिका घर
पुनर्निर्माण र मनहरा, हनुमती, नख्खुका मैदानमा बन्ने नया घरहरूका निम्ति एउटै
मापदण्ड बनायौँ र ती फाँटमा नया ज्याठा, मासंगली, टेबहाल निर्माण गर्यौँ । यस्तो
व्यवस्थाको विरोध गर्नेलाई समाज नबुझेको आरोप पनि लगायौँ र आजका हाम्रा सहरहरू
त्यही विकृतिका नमुनाहरू हुन् ।
दोष मेरा बन्धुको होइन । अझ दोष जग्गा प्लटिङ गर्ने
या निर्माण स्वीकृति दिने निकायको पनि होइन । दोष त नीतिनिर्माताको या अझ
नीतिनिर्माताको सोचको हो । दश वर्षपछि के हुन सक्छ भन्ने सोच न मेरा बन्धुको भयो,
न जग्गा प्लटिङ गर्नेको नै रह्यो, न यस्तै सोच नीतिनिर्माताहरूले देखाउन सके । सोचको
अभाव जहीँतहीँ छताछुल्ल छ यो देशमा ।
घरमूलीको सोचको अभावमा एउटा परिवारले दुख पाउछ तर
देशका नीतिनिर्माताको सोचको अभावमा देशले दुख पाउछ । दुई दशकपछि यो देश कस्तो हुनु
पर्छ भनेर सोध्नोस् यो देशका नेता या नीतिनिर्माणकर्ताहरूलाई त कसैले पनि प्रस्ट उत्तर
दिने छैन र कसैले दिई हाले पनि हावादारी गफ दिने छन् । त्यो दिन नचाहेर या देश
विकास गर्ने सदिच्छा नभएर होइन कि त्यसको खाका चित्रण गर्न नसकेर हो । भँगेराको
जत्रो चित्त हुने नेता, नीतिनिर्माता या संचालकहरूका ठुलो सोच निस्कन नै सक्दैन ।
टुँडिखेल वरिपरि बाटो बढाएर त्यसलाई व्यवस्थिय नबनाए त्यो कुरूप हुन्छ भन्ने सोच
किन केशव स्थापित बाहेक अरू मेयरलाई आएन ? घर भत्काएर भए पनि बाटो ठुलो पार्नु
पर्छ भन्ने सोच किन डा.बाबुराम भट्टराईलाई मात्र आयो ? जसले जति उठेर हेर्छ त्यति
नै पर देख्छ । सबैले सोचे - चलेकै छ,
चल्छ । अरुण - ३ को विरोध गर्ने एमालेहरू गुहे खोलाहरूलाई झोलामा हालेर देश विकास
गर्ने देख्न थाले । उनीहरूमा त्यो भन्दा पर देख्ने क्षमता पनि थिएन । उनीहरूको
सोचमा कहिले पनि आएन कि अरूण -३ को निर्माणसँगै विकास हुने बाटो या अरू त्यस्तै
सहायक निर्माणहरूले बाटोमा पर्ने जनताको कायापलट गरी दिन सक्छ र जोगवनीदेखि
किमाथान्का भएर भारत चिन जोड्न सक्छ नेपालले । सिङ्गो देशको विकास देखेनन्
उनीहरूले । केवल सानो गाउँमा बत्ती बाल्ने नाममा कमाइ गर्न पट्टि लागे । माओवादी
उदण्डताको त झन कुरै छोडी दिऊँ । उनीहरू त झन घरघरमा कुखुर पाले झैँ घरघरमा इस्पात
कारखाना खोलेर या देशभरिका भँगेरा मारेर उब्जनी बढाएर देश उँभो लगाउन खोज्ने माओका
चेलाहरू । भत्काएर माटोमा मिलाए पछि सबै समान हुन्छ भन्ने अवधारणा बोकेका मानिसहरू
। अठार वर्षको अवधिका हेरौँ त कहाँ अवरोध र बिगार गरेनन् उनीहरूले । 'हुन्छे भने
मेरी स्वास्नी होस् नत्र भने कसैकी पनि हुन पाउदिन ऊ' भने जस्तो सामन्ती सोचले आफू
बनिन र आफूले बनाउन नपाए अरूलाई बनाउन नदिने सोचले सधैँ काम गर्यो उनीहरूसँग ।
भँगेराको गीदी हुनेले जमिनमा खसेको चारो र खटप्वालको गुँड मात्रै देख्छ, भविष्यको
संवृद्धिको खाँका कोर्न सक्दैन ।
नेपाली कांग्रेसको त झन कुरै नगरौँ । खुमबहादुर
खड्का, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता, विजय गच्छेदार यी नाम चलेका र नाम
नचलेका हजारौँ अरू नेपाली कांग्रेसकै उपज हुन् । रातारात सुजाता पनि यसै धनी
बनिनन् । मनपरी छोडी दिएपछि आफै बन्छ देश भनी ठाने डा.रामशरण महत र महेश
आचार्यहरूले ।
नया देखा परेका मधेसवादी दलहरूका पनि देशको निम्ति
सोच भएन । मधेसको नाममा जति कुम्ल्याउन सकिन्छ ? त्यति कुम्ल्याउने दाउमा भए
उनीहरू । सिंगै मधेसलाई एउटा बनाएर त्यसमा राज गर्ने बाहेक उनीहरूको विचार पनि
थिएन र लक्ष पनि भएन । 'आखिर जुन जोगी आए पनि कानै चिरेको' किन भयो त ?
सोच मानिसको अध्ययन र अनुभव अनुरूप हुन्छ । त्यसमा
थप मानिसको विश्लेषण क्षमतामा पनि भर पर्छ । जसले गाडी देखेको छैन, गाडीको यातायात
देखेको छैन र अझ गाडीको फोटोसम्म पनि देखेको छैन त्यसले सडकको कल्पना गर्न सक्दैन
। ऊ त हिड्ने दुई फुटे बाटोको मात्र कल्पना गर्न सक्छ । हाम्रो समाजमा जसरी भए पनि
कमाउनु पर्छ भन्ने सोच मान्य छ र त्यसो
भनेर आशिर्वाद दिने आमाबाबुका छोराछोरीमा नैतिकता हुन्छ कहाँ ? 'साधन जे समाए पनि
लक्ष प्राप्ति हुन्छ भने त्यो सही हो' भन्ने धारणा राखेर राजनीति गर्ने हो भने
गणेश लामा, मनाङे, चरी, बस्नेत जस्ता डनहरू र 'सुमार्गी' नाम राखेका टुप्पाबाट पलाएका अजयहरू उत्पत्ति
भई रहन्छन् । त्यही सोच अनुरूप नै राजनीति चल्छ । त्यस्ता डन, लठैत र धनपतिहरूको जमातलाई
विधि निर्माणकर्ता बनाइदा डकैती र रहजनीको विधि निर्माण हुन्छ । राज्य त्यसले
चल्दैन ।
भोलीको निम्ति बाटो खोल्ने काम बिहारी लालुशैली,
नेपाली खुमबहादुरशैली या कालु मनाङेशैलीले चल्दैन । प्रचण्ड या वैद्य शैलीले पनि
कुनै लछारपाटो लाउदैन । अहिले त कुनै दृढनिश्चयी, दूरदृष्टि भएको नेतृत्वको
आवश्यकता छ । अहिले लालु होइन, नितिशकुमार चाहिएको छ । जमात पछि लगाएर हिड्ने
होइन, जनता अघि लगाएर हिड्ने नेताको आवश्यकता छ जसले नारा होइन न्याय देओस्,
समानता होइन सम्वृद्धिको बाटो देखाओस् र आफू कहाँ जादैछु र समाज, जनता र राज्यलाई
नै कहाँ लिएर जादैछु भन्ने पूर्वदृष्टि राख्न सकोस् ।
No comments:
Post a Comment