(यो लेख मूलघर हुदै लेखिएकाले यसको अस्तित्व यहाँ
देखाएको छ तर नेकपा माओवादीले यसलाई ध्वस्त पारिसकेकाले मूलघरको अस्तित्व अब छैन।)
भन्ने गर्छन् हाम्रो घर सम्पन्नताको प्रतिक हो। यो
घरमा बस्नेले आफूसँग केही नभए पनि सम्पन्नताको पदवी पाउछ। आमाको शेषपछि हामी
दाजुभाइ परदेश बस्न थालेपछि हामीले घरकुरुवा राख्यौ र त्यो सम्पन्नताको झुटो
पगरीले उनीहरूलाई सधैं नै पिरोल्यो। उनीहरूलाई त्यो घरमा आइपुग्ने जोसुकैले पनि असम्पन्न
मान्न सकेनन्। हात्ती चढेर हिडनेका घरमा अन्नको दाना छैन पत्याउनै गाहारो
हुन्थ्यो। मेरा बाजेको मृत्युपछि असम्पन्नतातिर लागेको त्यो घर चालिस वर्षपछि त्यो
घरमा बस्ने पछिल्लो व्यक्ति त्यो घरकी कान्छी बुहारी, मेरी आमा, मरेपछि त्यो घर उजाड भयो। घर
छोडेर समयको दौडसँगै कुदेका हामी दुई दाजुभाइ घरतिर फर्कन सकेनौं र बेवारिसजस्तो
त्यो घरलाई घरकुरुवाको भरमा छोडियो।
पर्ल.एस.बकले ठीकै चित्रण गरेकी छन् कि सम्पन्नताले
मानिसलाई दुर्व्यशनतिर धकेल्छ। मेरा घरकुरुवाहरूलाई पनि त्यही रोगले छोयो। एउटाले
हुँदोखाँदोको सुखी परिवार छोडेर आफ्नो आधा उमेरकी केटी टिपेर मुग्लान भासियो।
घरमा नातिनाति भएकी अर्की आफूभन्दा १०।१५ वर्ष कान्छो केटो टिपेर बेपत्ता भई।
तेश्रो, परिवारको
झिटिमिटी सि्रध्याएर
बहुलाउदै बेपत्तियो। पाखो खोरिया खोस्रेर पनि खान नपाउने मानिसहरू त्यो घरभित्र
पसेपछि सित्तैमा पाएका जमिनमा पाटा गरा खनजोत गर्न गाहारो मानेर खेताला खोज्न
थाल्दथे। भनिन्छ ― त्यो घरभित्र पस्ने वित्तिकै सम्पन्नताको मद चढ्छ र त्यो मदले उनीहरूलाई विकृत
बनाउछ।
मेरी बजै भन्ने गर्थिन् ― “यो घरको मूलीलाई खान्छु भनेर
मसानले सधैं हेरिरहेको हुन्छ। त्यसैले त्यसले कि खाएर नै छाड्छ कि बुद्धि भ्रष्ट
पार्छ।”
हाम्रो घरको जस्केलोबाट निस्किने बित्तिकै मायाखोल र
पिलुवा खोलाको राम्बेनी भन्ने दोभान देखिन्छ र दोभानमै सधैँ लाश पोलिने चप्लेटी
परेको ठुलो ढुंगो पनि देखिन्थ्यो। मेरी आमाले पनि दोहोर्याउने गरेको सासूको त्यो
भूतको कारण नै त्यही मसान थियो। औषधीमुलो बिनाको त्यो दुर्गम गाउँमा अकाल मृत्यु आई रहन्थ्यो र मृत्युसँग सधैँ नै डर
थियो सबैलाई। दोश्रो, गाउँको परिवेशमा त्यो सम्पन्नताको प्रतिक घरभित्र पस्ने बित्तिकै त्यो घरले
दिलाउने मर्यादालाई असम्पन्नले धान्न गाहारो थियो र ढिकीमनिको धनराशिमाथि उभिएकी
कंगालको धनअभिमान बढेजस्तै अभिमान बढेर सम्पन्न झैं व्यवहार गर्ने प्रयाश गर्थ्यो
जसलाई धान्न नसकेर बुद्धि भ्रष्ट हुन्थ्यो। घरमालिकदेखि कुरुवासम्म कि मृत्युको
शिकार भए कि दुर्बुद्धिको।
मेरा बाजेले घर बनाउन सुरु गर्दा त्यो सय रोपनीभन्दा
बढीको कित्तालाई घर, बगैंचा, बारी र खेत गरी चार भागमा विभाजन गरेका थिए र घर, बारी र बगैंचालाई चारैतिरबाट
अल्गो ढुगांको पर्खालले घेरेका थिए। घरहरूको क्षेत्र घेर्ने भित्री कम्पाउन्ड बनाए
र बाहिरी कम्पाउन्डले बारी र बगैंचासमेतलाई घेर्छ। बाहिरी कम्पाउन्डको दक्षिण र
पश्चिमतिर खेतहरू थिए त्यो बेला र कम्पाउन्डसँगै जोडिएर समानान्तरमा उत्तर र
पूर्वमा ढुंगा छापेर सिँढी बनाएको चैनपुर र तेरथुम सदरमुकाम जोड्ने मूलबाटो अझै
छँदैछ।
चालिस हात लम्बाइ र पच्चिस हात चौडाइको हाम्रो मूलघर
छ। दुई हात मोटो दिवाल भएको त्यो घरमा चार तला छन्। घरलाई चौडाइतिर तीन भागमा
बाँडिएको छ र लम्बाइतिर पाँच भागमा। त्यसैले घरलाई तीन कवल भएको भन्दा हुन्छ। यो
विभाजन त्यो घरलाई थाम्नु पर्ने दिवाल र खम्बाहरूले निश्चित गरेका छन्। भैंतलाको
अगाडिपट्टि चार ठाउँमा जोर थाम(खम्बा) र थाममाथि जोर निदाल राखिएका छन् र यिनै थाम
र निदालले चार तलासम्म थामेका छन्। घरको लम्बाइपट्टिको पहिलो खण्डलाई हामी दलान भन्ने गर्छौ।
दलानको थामबाहिरपट्टिको छानोले छोपेको भागलाई पिँढी भन्छौं हामीहरू। दलानको
अन्त्यमा भएको मूलढोकाबाट भित्र छिरेपछि दायाँ पट्टि भरेङ छ जो घरको बुइँगलसम्म
पुग्छ। बायाँपट्टि पानीका गाग्राहरू राख्ने गग्रेटो छ र गग्रेटोभन्दा पर बाहिर
निस्कने जस्केलो छ। घरको तेश्रो र चौथो खण्डमा दायाँपट्टि भान्साचौका र वायाँपट्टि चारैतिरबाट आगो
ताप्न हुने गरी बनाएको अँगेनाको एकातिर
घरका लोग्नेमानिस र मूलमहिला बस्ने स्थान बनाइएका छन् र अर्कोतिर आवतजावतका निम्ति बीचको भाग मझेरीको नाममा खाली
राखिएको छ। अन्त्यको पाँचौं खण्ड चारैतिर दिवाल लगाएर कोठा बनाइएको छ जसको मझेरीकै
सामु खुल्ने ढोका भए पनि भित्र कुनै झ्याल छैनन्। यसलाई भँडारकोठा भनिने गरिन्छ। त्यही अँध्यारो
कोठाको पल्लो छेउको भरेङबाट उक्लदा माथि गुप्तीकोठामा पुगिन्छ। पहिले गुप्तीकोठामा
पुग्ने त्यही एउटा बाटो मात्र थियो पछि मेरी आमाले त्यो कोठामा अर्को ढोका राखेर
ठुलो भरेङबाट पनि पुग्न सकिने बनाइ दिइन्। पहिलो तलामा यस्तै विभाजन भए पनि मझेरी
र भान्साखण्ड धान राख्ने ढुकुटीमा परिणत भएकाछन् तर आज धान छैनन् र ढुकटी रित्ता
छन। बाँकी खण्डहरू कोठामा। तेश्रो तलामा मानिस सुत्ने कोठाहरू मात्रै छन् जहाँ
भैंतलाको भान्साखण्डमाथि आवतजावतको निम्ति खुला राखिएको छ। चौथो तला जसलाई हामी
बुइँगल तला भन्छौ दलानमाथि एउटा र भँडारकोठामाथि एउटा गरी दुई कोठा बनाइको अरू
खाली छोडिएको छ। मेरा बाजेका पालामा त्यहाँ पनि धानढुकुटी थियो रे। मैले देखिनँ।
मेरो थाहा पाउदा त अहिले काम नलागे पनि पछि काम लाग्न सक्छ भनेर राखिएका सामान
मात्र हुन्थे त्यहाँ।
घरको प्रत्येक तलाको उचाइ आठ फुट छ जो त्यो समयमा
अल्गो नै मानिनु पर्छ। घरमा ठूलो मात्रमा साल र चाँपोका काठ प्रयोग भएका छन्। घरमा
लगाइएका चालिसभन्दा बढी झ्याल र ढोकाहरू काठमाडौं उपत्यकाका सिकर्मी प्रयोग गरेर
बनाइएका थिए जो वीसौं शताव्दिका अभिलेख्य कलाका नमुना बन्न सक्छन्। घर झँगटीले
छाइएको छ र घरको दोश्रो तलाको दक्षिण र पश्चिमतिर बार्दली बनाइएको छ र सो तलाका
सबै कोठाबाट त्यहाँ निस्कन मिल्छ।
मूलघरको अगाडि ढुंगा छापेको ठूलो आँगन छ र आँगनको
पल्लोछेउमा हामीले मतान भन्ने गरेको मूलघरसँग मिल्दो जुल्दो सानो तीनतले घर छ। यो
घरमा दलान र बार्दली भने छैनन्। अगाडि लाछी छानो भएको पिँढी भने मूलघरको भन्दा
फराकिलो छ। मतानको पश्चिमपट्टि खरको छानोले छाएको ढिकी, जाँतो र बाख्राको खोर घर थियो
जुन पछि मेरी आमाले भत्काएर अर्कै ठाउमा सार्न लगाइन्। मतानको पश्चिमपट्टि ढुंगा
छापेको बाटोभन्दा पर दुईतले घर थियो जसलाई हामी पल्लो कटेरो भन्ने गर्थ्यौ जसको
भैंतलामा गाईवस्तु र घोडा बाँधिन्थे र मेरा बाजेका पालामा त्यहाँ पनि धानको ढुकुटी
थियो रे। सो भने मैले देखिनँ। मैले थाहा पाउदा त त्यो माथिल्लो तलामा पराल
राखिन्थ्यो। मूलघरको उत्तरपश्चिमपट्टि पनि गाईवस्तु बाँध्न र पराल, काठपात आदि राख्न अर्को
दुईतले कटेरो थियो। त्यसलाई पनि आर्थिक असामर्थ्यता बढ्दै गएपछि मेरी आमाले
भत्काएर फालिदिइन्।
हाम्रो बगैंचा ठूलो थियो। त्यहाँ सुन्तला जातका
अमिला फलफूलको वाहुल्यता भए पनि नासपाती, अनार, खन्युँ, अन्जिर आदि फलका बोट पनि थिए त्यहाँ। हामी केटाकेटी
छँदा बिहानै खन्युँका जरा खोतलेर फल टिपेको सम्झना छ। फूल पनि पर्याप्त थिए
त्यहाँ। आवधिक फूलहरू त यसै हुने नै गर्थे। सो बाहेक जाई, जुही, चमेली, कटरचम्पा, कनकचम्पा, हसना आदि स्थायी फूलका बोट पनि
थिए। घरको पूर्वतिर थियो बगैंचा र बेलुकीपख पूर्वी हावा चल्दा घरै मगमग हुन्थ्यो।
मेरी आमाको मृत्युपछि भने त्यसको खास रेखदेख गर्ने मानिस नभएपछि त्यो क्रमश मासिदै
गएको छ।
मूलघरको पश्चिमतिर लामा मैदान गराहरू छन् र तिनलाई
बारी भन्ने गरिन्छ जहाँ हरिया खानका निम्ति मकै, तरकारीका निम्ति फर्सी, काँक्रा, घिरौंला आदि लगाइन्थ्यो
र केटाकेटीमा हामी काक्राका झ्याँगमा झुत्ती खेल्थ्यौं। हिउँदका दिनमा ती लामा
पाटा गरामा फुलेको तोरीले त्यो पाटो नै पहेँलपुर हुन्थ्यो। आफ्नो कित्ताको
प्रत्येक कुनामा मेरा बाजेले बाँसका झ्याँग लगाएका थिए र ती मौलाएका बाँसहरू अझै
पनि छन्।
मेरा बाजेले कसो गर्थे त्यो मलाई थाहा छैन तर उनको
सेखपछि भने मेरी बजै र पछि मेरा बडाबाहरूले पञ्चैबाजा बजाउदै बेठी लगाएर त्यहाँको
खेत रोपाएको र सबैले मासुभात खाएको मलाई थाहा छ।
मेरा बाजेबजैको यो घर, जग्गा अंशबण्डा भयो र बगैंचा र
खेतको माथिल्लो भाग जेठा बठाबाको भागमा पर्यो र खेतको तल्लो ठूलो भाग साँहिला
बडाबाको अंशमा गयो। जेठा बडाबाको घर बगैंचाको सिरानमा बन्यो र साँहिला बडाबाको घर
कम्पाउन्ड अगाडिको खेतमा। त्यसैले बाँकी रहेको जमिन र मेरा बाजेले बनाएको सबै
निर्माणको जिम्मेवारी, मेरा बाबु म अढाई वर्षको र मेरो भाइ चार महिनाको हुदै २२
वर्षको उमेरमा मरेकाले, मेरी आमा लिन वाध्य भइन् र उनले आफ्नो जीवनभर यथासम्भव
त्यसलाई सँभाल्न प्रयास गरिरहिन्।
आज ती पल्लो, तल्लो कटेरो, ढिकीजातोघर कुनै पनि
छैनन्। छन् त सुक्न लागेका फलफूलका बोटहरू। घर मर्मत हुदै गएको र घरकुरुवा घरमा
बस्दै गरेकाले घर त यथावत नै छ तर कम्पाउन्डका पर्खाल लड्न थालेका छन् र छापिएका
ढुंगा उप्कन थालेका छन्। साँहिलाबाबुको घर जग्गा त बेचि नै सके। जेठाबाबुका छोरा
एक्लै घरमा बसेका छन्। त्यो घर र जग्गाका एकएक बित्ताका निम्ति 'तेरो र मेरो' भन्दै झगडा गर्ने मेरी
आमा र मेरा बडाबाहरू छैनन् र हामी उनीहरूका सन्तान अब त्यो ठाउँ बस्ने सम्भावना
पनि छैन।
No comments:
Post a Comment