Monday, July 28, 2014

मेरो परिवेश १



जुवाखाल र खान्की

बिहानीको हिडाइको सिलसिलामा गाउँदेखि बजारसम्मको एक फन्को मारेर आउदै थिएँ चौबाटोमा झुरुम्म मानिस घेरा हालेर उभिएको देखेर उत्सुकतासाथ म पनि चियाउन पुगेँ । बिचमा लंगुरबुर्जाको खाल थापेका रहेछन केटाकेटीले । बुर्जाको साहु भएर बस्नेको अनुहार हेरेँ - मेरै चिनाजानीखो असम्पन्न परिवारको केटो रहेछ । १४ वर्ष काटेको थिएन होला त्यसले तैपनि ऊ पक्का खालेजस्तै कुरा गरिरहेको थियो । उभिएर बाजी थाप्ने केटाकेटीदेखि लिएर वयस्कसम्म थिए ।

"लौ बुर्जामा हान् सय रूपयाँ ।" - कसैले बुर्जामा सयको नोट फाल्दै भन्यो ।

मैले सोचेँ खालेले अस्वीकार गर्ला किनकि मेरो त्यही उमेरको नातिले १०० रूपयाँ पाउन ठुलै कारण देखाउनु पर्छ र लंगुरबुर्जामै थाप्नु परे पनि उसले ५ रूपयाँभन्दा बढी आँट गर्न सक्दैन तर खालेले त सयको नोट बुर्जामाथि राखेर भन्यो - "ल अरू क-कसको आउछ ?"

१००/५० झरेर २/४ सयको खाल नै बन्यो । अरू थप पैसा नआउने देखेपछि खालेले लंगुरबुर्जाका गोटीलाई टिनको बट्टामा हालेर हल्लाउदै घोप्ट्यायो र भन्यो - "ल को को के केमा आउने ? आई हाल्नोस् है । आई हाल्नोस् । पानामा खाली छ ।"

५/१० अरू झर्यो । सोभन्दा बढी नझर्ने देखेपछि बट्टा उठाएर पासा देखायो । कही मार्‍यो र कहीँ तिर्‍यो । २/४ हजारको कारोवार उसको त्यही नै भएको देखीयो ।

"प्रहरीले रोक्दैन यसरी चोकमा खेल्दा ।" - मैले सोधेँ केटालाई ।

"हामीले प्रहरीलाई मिलाएको छ ।" - केटोले जवाफ दियो ।

१४ वर्षको केटो प्रहरी मिलाएर जुवाको खाल थापिरहेको थियो भने उसको भविष्य कति पो राम्रो होला भनेर आशा गर्न सकिन्थ्यो र ? फेरि १४ वर्षे केटाले थापेको जुवाको खालमा वयस्क र अधबैँसेहरू निर्धक्क जुवा खेलिरहेका थिए भने तिनका नानीहरूले कुन बाटो समाउलान् ? त्यही प्रश्न मेरो मनमा त्यहीँ तर मैले सोध्ने हिम्मत गरिनँ र आफ्नो बाटो लागेँ ।

अर्को घटना पनि मेरो बिहानको हिडाइको क्रममा नै भएको थियो । घरमालिक्नीको आदेश बमोजिम  दही किन्ने मनशायले बाटोको डेरी पसलमा पसेँ । पसलमा नै मैले चिनेको केही परको छिमेकीको ८/१० वर्षको ४/५ कक्षामा पढ्ने छोरो उभिएको रहेछ । मलाई देख्ने बित्तिकै दुई हात उठाएर नमस्कार गर्‍यो र उसको अभिवादन फर्काउदै भनेँ - "के लिन आएको बाबु ?"

पसलेले मेरो आवश्यकता सोध्यो र मैले आफ्नो आवश्यकता सुनाएर उसलाई भने - "उसलाई पहिला देऊ । ऊ पहिला आएको ।'

पसलेले पहिला उसलाई दियो तैपनि ऊ हिडेन त मैले सोधेँ - "किन बसिराखेको त नगएर ?"

"होइन, हजुरसँगै जान्छु ।" - उसले जवाफ दियो ।

मैले आफ्नो सामान लिएपछि हामी सँगै निस्कियौँ ।

"सधैँ लान्छौ तिमी मोही ?" - मैले जिज्ञासा राखेँ ।

"सधैँ त होइन । ममीले जा भनेको बेला लिन आउछु । मोही नलगेको दिन दही लान्छु ।"
जवाफ दियो उसले । मोही कि दही ऊ सधै खाँदो रहेछ भन्ने मैले अर्थ लगाएँ ।

हामीभन्दा अगाडि एउटा केटो जाँदै देखेर केटो उसको नाम लिएर बोलायो । पछि थाहा भयो मलाई ऊ साथी रहेछ केटोको एउटै कक्षाम पढ्ने । उसले पनि केटोले बोकेजस्तै प्लास्टिकको झोलामा तरल पदार्थ बोकेको प्रस्ट हुन्थ्यो । फरक अघिल्लो केटाको झोला सेतो थियो र पछिल्लो केटाको कालो ।

उत्सुकतावस मैले सोधे - "के बोक्यौँ तिमीले मोही ?"

"होइन । हामी मोही खादैनौँ । यो त निगार हो ।" - उसले सहज स्वरमा भन्यो ।

"सधैँ निगार खान्छौ त ?" - उत्सुकता बढ्यो मेरो ।

"बाबाले पनि खोज्छ अनि ममीले लिन पठाउनु हुन्छ ।" - उसको सहजतामा कुनै कमी आएन ।

"अनि तिमी पनि खान्छौ त निगार ?" - मैले ठाडो प्रश्न गरेँ ।

"खान दिएन भने त को बोक्न आउछ र ?" - उसको उत्तर ठोस थियो ।

अलि वर आएपछि हामी तीनै जना आ-आफ्नो बाटो लाग्यौँ ।

मेरो मनमा एउटै प्रश्न घुमिरह्यो - दुवै मोही र निगारका क्रेताहरूले कुन बाटो समाउलान् ?

जोरपाटी-१ काठमाडौ
२०७१ श्रावण १२

No comments: