Monday, June 30, 2014

दौरासुरुवाल

पोसाक र भाषा

हामीले नेपाल मण्डलका ज्यापुले लगाउने भोटोलाई तन्काएर दौरा बनायौं । हामीले बाँके, बर्दियाका अवधि मुसलमानले लाउने कुर्ता सलवारबाट सुरुवालको बान्का झिक्यौं । हामीले भादगाउँले नेवारी टपलीलाई टोपीको नाम दियौं । हामीले अरुणपारे लिम्बुको खुकुरी भिर्ने पटुकी समाएर पटुका कस्यौं । यही होइन दौरा सुरुवालको रूप ? भोटोमनि कछाड कस्न सिक्यौ हामीले । दौरामनि धोती पनि बाँध्यौं हामीले । हामीले यो पोसाक बनाउन पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म, हिमालदेखि भारती सीमासम्म एकै ठान्यौं त कहाँ छ यसमा अराष्ट्रवाद ? मन लागे बाहुनले धोती फेर्लान् । गुरुङ मगरले कछाड बाँध्लान् । ज्यापु भोटो सुरुवालमै रमाउलान् । राई, तामाङ, थारु, राजवंसी आदि सबैले आफ्नै भेषभूषा लगाउलान् । माओवादी माओसुटमा ठाँटिएलान् अरुहरू अरु नै लुगा रोज्लान् अथवा जसले जे मन पर्छ त्यही लुगा लगाउलान् तर राष्ट्रिय पहिरन भनेर संसारका सामु उभिदा देखाउने पोसाक के हो त ? पहाडेलाई —मेरो जनकपुरधाम‘ भन्न जति गर्व लाग्छ त्योभन्दा कम लाग्दैन मधेसेलाई पनि —सगरमाथा मेरो‘ भन्न । मेचीको पानी जति पवित्र छ हाम्रालागि महाकालीको पनि त्यति नै पवित्र छ । जुन गन्ध हिमालको माटोमा छ त्यही गन्ध पाउछन् तराईको माटोमा पनि नेपालीले । गुजराती र सिन्धी भाषासँग मिल्दोजुल्दो नेपालीभाषालाई शत्रुभाषा ठान्दै हिन्दीभाषालाई मातृभाषा बनाऊँ भनेर आफ्नै मैथिली भोजपुरी अवधी र देहाती भाषाहरूलाई फाल्ने मधेसी नेताहरूले भारतिय राज्य विहारतिर लहसिने विचार गरेका त होइनन् ? त्यसकोलागि त भाषासमस्या उठाउनै पर्दैन । भारतलाई नेपालको यो भाग हामीलाई छुट्याइ देऊ भनेर चित्त बुझाए त छुट्याइदिन्छ भारतले । नेपालले केही गर्नै सक्दैन । अथवा नेपाली माओवादीलाई नै यो भाग हामीलाई बाँकी सबै तिमीहरूलाई भनेर टुक्र्याए पनि हुन्छ । सहर्ष स्विकार गर्नेछन् माओवादीले ।त्यो विभाजनको सामना गर्न यो मेरो देश नेपाल भन्ने मधेस पहाड दुवैतिरका नेपालीले केही गर्न सक्ने छैनन् । न शरद सीं भण्डारीले —बाइस जिल्ला टुक्र्याइन्छ‘ भन्नु पर्छ, न हृदयेश त्रिपाठी —नत्र अर्कै कुरा हुन्छ‘ भनेर धम्क्याउनु नै पर्छ ।
ramprasad dahal at 4:53:00 pm

No comments: