मादीबिर्ता
आजभन्दा करिब
सवा दुई सय वर्ष पहिले वत्स गोत्री दाहाल थरका चार व्राह्मणपुत्रहरू पाती सिउरदै
मंगलवाचन गर्दै अरुणपूर्वको लिम्बुआनको एउटा पाखोमा पुगे। उनीहरूको लक्ष यस्तो
एउटा पाखोको खोजी थियो जसलाई आवाद गरेर बसोबास गर्न सकियोस्। त्यो बेआवाद इलाकामा
बेआवाद पाखाको त कमी थिएन तर पारिलो र पानीको मूल भएका पाटाहरू अगाडि बस्ने र
आउनेहरूले ओगटिसकेका थिए र बाँकी रहेका पाटाहरू पनि उनीहरूका थर्याँइ र किपटभित्र
पर्ने हुनाले उनीहरूको स्विकृति या मन्जुरी लिएर मात्र आवाद गर्न सकिन्थ्यो। फेरि
शाहवंशको शाशनकाल भर्खर सुरु भएकोले आफ्ना समर्थकहरूलाई लिम्बुआन बसोबास गराउनु
पनि शाशकहरूको निम्ति अत्यावश्यक थियो। त्यो कुरा बुझेर नै ती व्राह्मण पुत्रहरू
उपयुक्त भूमिको खोजीमा निस्किएका थिए र आफूलाई काम लाग्ने तर अरूहरूले बेकामे ठहर्याएर
आवाद नगरेको पाटो फेला पारेर शाशक समक्ष आवादीका निम्ति माग गरे।
सामन्तीव्यवस्थाको
जुनसुकै काल र जुनसुकै राज्यमा पनि आङ्गआफ्ना मातहतका भाइ, भारदार, सिपाही, नोकरचाकर या पण्डित, पुरोहित सबैलाई उनीहरूले आफ्नो सेवा गरे बापत या धर्मकामार्थ क्षेत्रफल तोकी
जमिन दिने चलन इतिहासमा भएकै हो। यसरी दिइएको जमिनलाई तत् कालमा बिर्ता भनिने चलन
थियो। यस्ता बिर्ताहरू बिर्ता पाउनेका पूर्ण स्वामित्वमा हुन्थे र आफूखुशी त्यहाँ
बस्ने कसैलाई पनि बसोबास या उठिबास गराउन पाउथे। शाशक या राजालाई तोकिएको रकम
जिन्सी या नगदीमा बुझाउथे। लिम्बुआनमा पनि लिम्बु र राईहरूले सरकारलाई धुरीकर बुझाएर
भोगचलन गर्थे र उनीहरूको किपट धितोका रूपमा लिन सकिन्थ्यो तर राजिनामा गर्ने चलन
थिएन। व्राह्मणहरूलाई दानस्वरूप दिइएको कुशबिर्ताको भने राजस्व लिइन्नथ्यो।
दाहाल
व्राह्मणपुत्रहरूले विक्रम संवत् १८२९ मा चौदण्डीका सेन मकवानी राजाबाट ओखलढुंगाको
कुलागाउँ बिर्ता पाएका थिए तर त्यो बिर्ता पहिले नै आवादी भइसकेको र अरू बढ्ने
ठाउँ पनि नभएकाले त्यो आवाद बिर्ता फिर्ता दिएर नयाँ शाशकहरूबाट टाडाको कुनै
बेआवाद जमिन बिर्ता लिन चाहेका थिए। आवाद भएको बिर्ता रैकरमा परिणत गरेर जंगल
बिर्ता माग गर्दा शाशकलाई आपत्ति हुने कुरा पनि थिएन। बरु आवाद जमिनबाट मालपोत
उठ्ने र लिम्बुआनमा बाहुनहरू बस्दा त्यहाँ आफ्नो समर्थन पनि वढ्ने हुनाले दोहोरो
फाइदा हुने थियो। त्यसैले आवाद कुलागाउँको बिर्ताको सट्टामा लिम्बुआनको दश मझयामा
क्षेत्रको मादी गाउँको एउटा अल्लो र जंगली रूखपातले भरिएको उत्तरपश्चिमी पाटो कुश
बिर्तामा परिणत भयो र झण्डै दुई सय वर्षसम्म मादीबिर्ता को नामले दाहालहरू बिर्ता
रह्यो।
मादीबिर्ता
सामान्यत मायाखोलो र पिलुवाखोलाका बीचमा रहेको पाटो हो तर यसको कुनै पनि पानीढलो
माया खोलातिर नभएकाले यसलाई पिलुवाको पानीढलो भन्दा हुन्छ। उत्तर पश्चिमतिर ढल्केर
सिधा मकालु हिमाल र सगरमाथा हेर्ने हुनाले जाडोका दिनमा बिहानी दश नबजी यो पाटोमा
घाम पनि देखा पर्दैन। त्यसैले यो पाटोको जमिन पर्याप्त मात्रामा चिसो रहन्छ र फेरि
जहींतहीं पानीका सानातिना मुहान हुनाले खेतीका निम्ति यो पाटो रसिलो रहन्छ। चिसो र
तीरदेखि शिरसम्म धान फल्न सक्ने हुनाले मादीबिर्ता धानखेतीका निम्ति प्रसिद्ध
रह्यो। त्यसैले धेरैकालसम्म मादीबिर्ताका पाखो साउनभदौमा तलदेखि माथिसम्म हरियो
देखिन्थ्यो भने मंसिर आइपुग्दा सुनौला बालाले ढाकेर पाखो कञ्चनमय हुन्थ्यो।
मादीबिर्तामा सानाठुला सबैले घर चुनले पोत्ने र घरको तल पटुका बेरे झैं रातोमाटो
पोत्ने हुदा पहेंलो पृष्ठभूमिमा उभिएका घरहरू सुन्दरीका निधारमा झुन्डिएको
शिरबन्दीमा हिरा टल्के झैं टल्कन्थे घरहरू।
सम्पन्न
हुनुभन्दा पनि सम्पन्न देखिनुमा विशेषता थियो मादीबिर्ताको। घर त सबैले चुनले
पोतेकै हुन्थे र गरिबभन्दा गरिबले पनि धानकै भात खान्थ्यो त्यहाँ। दाहालहरू
बिर्तावाल नै भइहाले तर त्यो गाउँमा बिर्तावालका आश्रयमा बस्नेहरूले पनि वरपर
आफ्नो नातागोताकहाँ आफूलाई बिर्तावालजस्तै प्रस्तुत गर्न खोज्थे। वातावरणले
उनीहरूलाई पनि कुलिन बन्न रहर थियो।
शिरमा भिजेको कपाल
झैं हरियो जंगला या पाताल,
तल नुहेका धानले पहेँलपुर भएका खेतहरू, कहींकहीं बाँस, बिरुवा र बगैँचाले मरुद्यानजस्ता देखिने हरियालीहरू र तिनका बीचमा टलक्क
टल्कने सेता घरहरू मंसिरका दिनमा परबाट हेर्दा सुनौला चुनरीमा बुट्टा हालेजस्ता
देखिन्थे। ती खेतका बीचबाट उठेर उड्ने चराका बथानहरू आतसबाजीका बेला चम्किएका
झल्काजस्ता देखिन्थे। यो मेरो आफ्नो जन्मथलोको बखानमा मबाट भएको अतिशयोक्ति भए पनि
स्वयम् दृश्य भने अतिशयोक्ति होइनन्।
कुलागाउँको
आवादी कुशबिर्तासँग चैनपुर सिवाईभित्रको जंगल, पाखो साट्न दौडधुप गर्ने मबाट आठौं
पुस्ता पहिलेका महिपतिका पुत्र कुलानन्द थिए र उनले आफ्ना छोरा नारदका नाउँमा
बिर्ताको लालमोहोर गराएका थिए। मादीबिर्तामा आउदा भने सुरुमा महिपतिका तीन
छोरा कुलानन्द, प्रमानन्द र उदयानन्द र महिपतिका भाई
गंगाधरका छोरा दुर्गादाश आएका थिए। पछि महिपतिका जेठा छोरा पनि आफ्नो बेचबिखन गरेर
बसाइ सरेका थिए। मादीबिर्ताका दाहालहरू यिनीहरूकै सन्तान हुन्। यी सन्तानहरू दिन
दुई गुना रात चौगुना गर्दै लिम्बुआनभन्दा पर दार्जिलिङ, सिक्किम, आसाम हुदै बर्मासम्म पनि छरिन पुगे महाजन, साधु, सन्तदेखि चोर, डाकासम्म पनि भए।
दाहाल थरको उत्पत्तीका
बारेका विद्वानहरूको कुनै एक मत छैन। वंशावलीका एक विद्वानको भनाइमा दाहाल थर
दैलेखको दहगाउँबाट भएको भनाइ राख्छन् भने बालर्कष्ण पोखरेलजस्ता नृवंशशास्त्री
विद्वान यो थर खस आर्यसँगै मध्य एसियाबाट आएको हो भन्ने राय दिन्छन्। मस्टो पूजा
गर्ने हुनाले दाहालहरू हालको भारतिय व्राह्मणभन्दा फरक र ककेसियन मूलका खससँग बढी
नजिक देखिन्छन्।
जे होस् मेरो
बाल्यकालमा आइपुग्दा मादीबिर्तामा चार थरीका मानिसहरूको आवादी थियो। १.विर्तावाल
दाहालहरू २.बिर्तावालमा आश्रित पण्डित, पुरोहितहरू ३.रैतीका रूपमा बसाइएका
मतवालीहरू ४. सेवाका लागि बसाइएका दमाई, कामी र सार्कीहरू बिर्ताका जग्गामा
दाहाल बाहेक अरू कसैले स्वामित्व लिन पाउदैनथ्यो। दान, दातव्य बाहेकका अरू जग्गाहरू गैर्हदाहालले त ठेग, कुत, अँधियामा मात्र कमाउन पाउँथे। आफ्नो भन्नु त उनीहरूको निजी परिवार पनि
हुदैनथ्यो र ठेकी, बेठीको रूपमा उनीहरूलाई सित्तै काममा पठाउनु पर्थ्यो। सेवाको निम्ति वार्षिक
बाली तोकिएको हुन्थ्यो र परिवार र सो परिवारको कामकाज र सम्पन्नता हेरी बाली
तोकिन्थ्यो। गाउँलाई समष्टि रूपमा हेर्दा मादीबिर्तामा नुन, तेल, कपडा मात्र बाहिरबाट ल्याउनु पर्थ्यो। आजका अर्थशास्त्रीहरूको परिभाषामा भन्ने
हो भने त्यो गाउँ स्वावलम्वी सामन्ती गाउँ थियो
जहाँ हुने र नहुनेका बीचमा ठुलो अन्तर थियो।
बिर्तावालहरूमा
सामन्ती शाशकका सबै दुर्गुणहरू थिए। उनीहरू शक्तिको पूजा गर्थे, बली चढाउथे। काँचो मासु खान्थे र मौका पर्दा अर्काको सम्पत्ती पनि लुट्थे।
सोझा, निमुखा र आइमाई, केटाकेटीको सर्वस्व पनि गर्थे। शक्ति प्रदर्शनमा काटाकाट, मारामार पनि गर्न भ्याउथे। जुवा खेल्नु, परस्त्री समाउन जानु पनि नाजायज
ठहर्दैनथ्यो। जातै जाने भएर मात्रै भएर होला, जाँडरक्सी भने उनीहरू खादैनथे। यति
दुर्गुण भएर पनि पूर्वका सम्पन्न बाहुनहरूको चलन भएको र आठराइ पुग्दा त एउटा
सँस्कृति नै बनिसकेको वहुविवाहका भने उनीहरू कट्टर विरोधी थिए। त्यसैले मरिमराउले
अभर परेको स्थितिमा बाहेक वहुविवाह गरेनन्। त्यसैले पनि होला मादीबिर्ताका
दाहालहरूको आठ पुस्ता बित्दा पनि मादीबिर्तामा दाहाल छेत्रीका दुई घरभन्दा बढी
थिएनन्।
अन्ततः विक्रम
संवत् २०१६ बिर्ता उन्मुलन एैन आएपछि बिर्तावालले आफ्नो हैकम छोडिदिए र यत्रतत्र
छरिन लागे। पंचायत कालिन समयमा आइपुग्दा त मादीबिर्ता नाम पनि मेटिएर मादीराम्बेनी
परिणत भयो।
No comments:
Post a Comment