त्यति गतिलो छैन कम्युनिष्टहरूको हालत
पनि
भारतमा स्वतन्त्रता आन्दोलन चल्दै थियो । महात्मा गान्धीको नेतृत्वमा पुरै
भारत आफूलाई स्वतन्त्र बनाउन द्वितिय विश्वयुद्धमा फसेको अंग्रेज विरुद्ध आन्दोलन
गरिरहेको थियो त भारतिय कम्युनिष्ट पार्टी भने सोभियत संघ(अहिलेको रूस) का
कम्युनिष्ट पार्टीको निर्देशनमा अंग्रेजहरूलाई सघाई रहेको थियो । त्यसैले भारतमा
कम्युनिष्ट पार्टी लामै समयसम्म बदनाम भयो र स्वतन्त्रता पछि पनि एउटा पुस्ता
नबितुन्जेल उसको कुनै साख भएन । पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी पनि
त्यसै समयमा स्थापित भएको थियो । भारतमा नै खास साख नभएको कम्युनिष्टहरूले नेपालको
प्रजातान्त्रिक आन्दोलनमा खासै प्रभाव पार्न सकेनन् । २००७ सालपछि पनि निकै वर्ष
बन्देजमा रहेकाले २०१५ सालको आम निर्वाचनमा पनि १०५ स्थानमध्ये ४ स्थानमा मात्र
वहुमत ल्याउन सफल भयो । २०१७ सालको राजाको कू पछि नेपाली कांग्रेससँगै नेपाल
कम्युनिष्टपार्टी पनि प्रतिबन्धित जस्तै भए ।
कम्युनिष्ट पार्टीहरू कार्ल मार्क्सका सिद्धान्तमा आधारित हुन्छन् ।
वर्गसंघर्ष, शोषणविहीन समाज र साम्यवाद । कम्युनिष्टहरूले मानेको वर्गसंघर्षको रूप
सर्वहाराको नेतृत्वमा क्रान्ति र उसकै अधिनायकत्वको शाशन हो र त्यो अधिनायकत्वको
प्रतिनिधित्व कम्युनिष्ट पार्टीले गर्छ भन्ने मान्यता मार्क्सले स्थापित गरेका
हुन् । अझ पर माओले त्यो सत्ता, शान्तिपूर्ण विद्रोहबाट होइन, बन्दुकको नालबाट
प्राप्त हुन्छ भन्ने सिद्धान्त प्रतिपादन गरेपछि त कमविकसित देशका कम्युनिष्टहरूले
माओको त्यो कथनलाई पुरै आत्मसात गरेर आफ्ना कार्यक्रम चलाए । नेपाली कांग्रेससँग
मिलेर भारतको समर्थनमा राजा विरूद्ध लड्नु पर्छ भन्ने पुष्पलाललाई गद्दार भनिएको
घोषणा, चारू मजुमदार शैलीको झापा आन्दोलन र अन्त्यमा आएर नेकपा माओवादीको आन्दोलन
माओको मतको आधारमा गरिएका हुन् तर पुष्पलाललाई जतिसुकै गद्दार भने पनि नेपाली
कांग्रेसले जस्तै सबै कम्युनिष्टहरूले के बुझे भने भारतको सकृय समर्थनबिना नेपालमा
सत्ता परिवर्तन हुन सक्दैन र तटस्थ राष्ट्रियता त जनतालाई उत्तेजित गराउने नारा मात्रै
हो ।
कम्युनिष्ट पार्टीहरू नेपाली कांग्रेसजस्तो जनआधारित नभएर सकृय कार्यकर्तामा
आधारित दलहरू हुन् र ती दलहरूमा कसैको पनि नेपाली कांग्रेसमाजस्तो निजी धारणा हुन
पाउदैन । आफ्नो निजी धारणा व्यक्त गर्ने बित्तिकै या ऊ प्रतिगामीमा दरिन्छ या
जडसुत्रवादी ठहरिन्छ । त्यसैले आफ्नो विशेष विचार राख्नेले मूल दलबाट फुटेर अर्को नया दल
खोल्नै पर्छ आफ्नो अस्तित्वको निम्ति पनि र केही कार्यकर्ताको जमात आफ्नो वरिपरि
राख्नै पर्छ । नेपालको कम्युनिष्ट दलिय राजनितिमा पटकपटक दलको फुटको कारण नै यही
रही आएको छ । फुट नदेखिने अधिनायकवादी कम्युनिष्ट शाशित देशमा पनि फरक धारणाहरू त
देखा पर्छन् तर त्यहाँ ती धारणा मात्रै होइन ती धारणा प्रस्तुत गर्नेहरूलाई नै
सफाया गरिने हुनाले दलमा फुटको असर देखिदैन । उत्तर कोरिया, क्युबाजस्ता साना
देशको त कुरै छोडिदिऊँ, सोभियत संघ, चिनजस्ता ठूला कम्युनिष्ट शाशित देशको इतिहास
केलाएर हेर्ने हो भने पनि यही कुरा पाइन्छ । ट्रस्कीको हत्या, ल्यु साओ चीको जेलमा नै
मृत्यु, ग्याङ अफ फोरको सफाया यसका ज्वलन्त उदाहरणहरू हुन् । जब खुलामतद्वारा
नेतृत्व परिवर्तनका बाटा थुनिन्छ्न् हत्या या मृत्यु, बलजफ्ती निष्काशन या पार्टी
विभाजनको बाटो समात्नु बाहेकको अर्को उपाय हुदैन ।
बलजफ्ती निष्काशन या सफायाको संभावना नरहेको नेपालका कम्युनिष्ट पार्टीहरूमा
नेतृत्व आफूले समाउने माध्यम नै पार्टी विभाजन भएको छ र सो विभाजनको कारक
सैद्धान्तिक असहमति हो । डा.रायमाझीदेखि मोहन वैद्यसम्म यही परम्परा चलेको छ ।
नेपालका कम्युनिष्ट पार्टीहरूको थालनी धनीको खोसेर गरिबलाई दिने रबिन हुड
शैलीमा शुरू भएको छ । मोहनचन्द्र अधिकारीको वर्गशत्रुको सफायाबाट शुरू भएको
कोअर्डिनेशन कमिटीको चारु मजुम्दार शैलीको झापा आन्दोलन मदन भण्डारीको नेतृत्वमा
आइपुग्दा एकिकृत माओवादी-लेनिनवादीमा परिणत भएर लोkतान्त्रिक बाटो समाउन पुग्यो । कुनै पनि दल आम मतदाको बाटो समाएर लोकतान्त्रिक
भई सकेपछि सिद्धान्ततः मार्क्सँवादी भनिए पनि मार्क्सका केही सिद्धान्त समाउने
समाजवादी बन्न पुग्छ र वर्तमानको नेकपा एमाले त्यही समाजवादी पार्टी भएको छ । ऊ पक्का
कम्युनिष्ट पार्टी हुदा बन्दुकको नालमा शक्तिशाली महामन्त्री हटाउनु पर्थ्यो भने
लोकतन्त्रको बाटो समाएपछि कार्यकर्ताको खुला मतदानद्वारा नेतृत्व परिवर्तन हुन
थाल्यो । पार्टीभित्रको अधिनायकवाद अन्त्य भयो । आजको नेकपा एमालेका सिद्धान्त
समाजवाद मान्ने बीपीका कालको नेपाली कांग्रेसभन्दा त्यति फरक छैन । जसरी नेपाली
कांग्रेस दायाँतिर गयो त्यसरी नै नेकपा एमाले पनि तुलनात्मक रूपमा दक्षिणमार्गी
भयो । कहाँ शुरू कहाँ खतमको रनभुल्लमा छ अहिले एमाले । मार्क्सवाद बिर्सिएर
जातिवादको भुङ्रोमा फसेको छ । नेपाली कांग्रेसमा जस्तै आफ्नो आफ्नो डम्फु बजाउने
नेताहरू निस्केका छन् एमालेमा पनि ।
देशको सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा एमाले दक्षिणपन्थी भासमा
जाकिएको आरोप लगाउदै नेकपा माओवादीले सशस्त्र आन्दोलन शुरू गरेको हो । राजा
ज्ञानेन्द्रको महत्वाकांक्षी मुर्खता, गिरिजाप्रसाद कोइरालाको हठ, शेरबहादुर
देउवाको राजा रिझाएर नवभारदार बन्ने चाहना, आफ्नो पार्टीको नामको कम्युनिष्ट पगरी
नखोसियोस् भन्ने एमालेको साठगाँठले नेकपा माओवादी जनतालाई तर्साएर सिंगो देशमा प्रभाव
जमाउन सफल भयो । संविधानसभामा कुल मतदानको एक तिहाइ मत ल्याएर आफ्नो वर्चस्वता
देखाएको पनि हो माओवादीले तर त्यतिमा नै कुरा सकिएन ।
नेकपा माओवादीले सबै भुरेटाकुरे कम्युनिष्ट पार्टीहरूलाई जोडेर आफू ठूलो
पार्टी बन्ने प्रयाशमा एनेकपा माओवादी बनेर केहीलाई समेट्यो पनि तर त्यसले तथाकथित
जनयुद्धमा सहभागी नभएकाहरूको पार्टीभित्र हालीमुहालीले मूलधारका माओवादीलाई
चिढ्यायो । फलतः, सानो ठूलो जे होस्, एनेकपा माओवादीका सबै फाँटमा केन्द्रदेखि
गाउँसम्म ठाडो विभाजन भयो । नेकपा-माओवादीको स्थापनाको मूल कारण नै यही भयो ।
विभाजनको शिलशिला यतिमा नै टुंगिने अवस्था छैन । ६ वर्ष अगाडि पार्टीभित्र
प्रचणडको जुन पकड र प्रभाव थियो अब त्यो छैन । देशभरि उनको र उनको पार्टीको जुन
छवि थियो त्यो पनि छैन । नेल्सन मण्डेलाको आशा गरेका जनताले उनलाई भुरेटाकुरे
नेताभन्दा केही फरक पाएनन् । झन डा. बाबुराम भट्टराईको शाशनले त बचेखुचेको साख पनि
शुन्यमा झारी दिएको छ । दलभित्रका तीन या चार गुट पार्टीभित्र आफ्नो वर्चस्व कमी
हुने छाट देख्ने बित्तिकै नया पार्टी खोल्न तयार हुनेछन् ।
२०६९ श्रावण १२
जोरपाटी
No comments:
Post a Comment