बिजोग छ नेपाली कांग्रेसको
बिना शाशनव्यवस्था देश चल्न सक्दैन । व्यवस्था बिनाको देश अराजकता हो जहाँ
निर्धो मर्छ र बलियो मात्र बाँच्छ । जंगलको शाशन हो अराजकता त । त्यसैले देशमा
अराजकता नआओस् भनेर शाशनविधि स्थापित गरिन्छ ।
शाशनविधिका आफ्नै मान्यताहरू हुन्छन् । ती मान्यतामा शाशकका अधिकार के? कति ?
भने जस्तै शाशितका अधिर पनि के ? कति ? भनेर परिभाषित गरिएका हुन्छन् ।
अधिनायकवादी शाशनमा व्यक्ति या समूह सर्वेसर्वा भए पनि शाशितका पनि कर्तव्य र
अधिकार हुन्छन् भलै त्यहाँ कर्तव्य धेरै र अधिकार सीमित किन नहुन् । अधिनायकवादी
व्यवस्थामा शाशनमाथिको पहुँच एउटा समूह वा सीमित व्यक्तिहरूको मात्र हुन्छ । सर्वसाधारण
जनताको त्यहाँ कुनै सहभागिता नै हुदैन र भइहाले पनि शाशकले दिएको विकल्पमा सहीछाप
लगाउनु मात्र हुन्छ । राजतन्त्र र अरू अधिनायकवादी शाशन व्यवस्था यसै अधारमा टिकेका
हुन्छन् ।
अधिनायकवादमा शाशनमा शाशितको पहुँच र प्रतिनिधित्व नभएकोले त्यसको विकल्पमा
लोकतन्त्रको अवधाणा अघि आएको हो । लोकतन्त्रले शाशनमा शाशितको आवधिक प्रतिनिधित्व
गराउछ र उसले आफ्नो प्रतिनिधिको काम हेरी उसलाई या अर्को कसैलाई अर्को अवधिका लागि
शाशन गर्न पठाउछ । लोकतन्त्रमा समूहको मात्र होइन, व्यक्तिको स्वतन्त्राताको
अधिकार पनि सुनिश्चत गरिन्छ ।
शाशन एउटा विचारधाराको आधारमा गरिन्छ । 'राजा दैविय शक्ति हो र सर्वधिकार उसमा
रहनु पर्छ, शाशनमा उसको विकल्प छदैछैन' भन्ने विचार नै राजावादी अधिनायकत्व हो ।
लोकतन्त्रमा मानिसका विभिन्न विचार हुन्छन् र समान विचार राख्ने व्यक्तिहरूको
समूहले एउटा दल बन्छ । त्यही दलको विचारधारा अघि सारेर शाशन प्रतिनिधित्वको अधिकार
माग्छ दलले जनतासँग ।
लोकतन्त्रमा दलको उपस्थिति अपरिहार्य छ र दलको क्षमता उसले प्रतिपादन गरेको
विचारसिद्धान्त, संगठन र दलको नेत्तृत्वदायी व्यक्ति या समूहको क्षमतामा भर पर्छ ।
फेरि शाशन गर्न चाहने विचारसिद्धान्तले जहिले पनि जनताका आवश्यकता पूर्ति गर्ने
उद्देश्य लिएको हुनु पर्छ, कोरा दर्शन होइन । अहिलेको नेपाली कांग्रेसलाई यिनै तीन
चिजको सेरोफेरोमा विश्लेषण गरिनु पर्छ ।
मानिसका आवश्यकता पनि पशुजन्य र मानविय दुई प्रकारका छन् । खानु, पिउनु, सास
फेर्नु र यौनआवश्यकता पूर्ति गर्नु यी पशुजन्य आवश्यकता हुन् भने अरू आवश्यकता
मानवजन्य । पशुजन्य आवश्यकताको पूर्ति पछि मात्र मानवजन्य आवश्यकताको पालो आउछ अर्थात्
भोको पेटले स्वतन्त्रता माग्दैन ।
अहिलेको नेपाली कांग्रेस कार्यकर्ता आधारित नभएर जन आधारित दल हो । त्यसैले यो
दलमा बलियो दलिय अनुशाशन छैन र एउटा निश्चित दर्शन बोकेर यो दल चल्दैन पनि । नेपाली
कांग्रेसीहरूमा एउटा साझा धारणा के हो भने सबै कांग्रेसी लोकतन्त्रलाई मान्छन् ।
यो धारणा त मानविय पक्ष मात्रै हो । पशुजन्य आवश्यकताका कुरामा नेपाली कांग्रेस
मौन छ र तिनका समर्थकहरूलाई सोध्यो भने यो बारे उनीहरूलाई थाहा पनि छैन । आधा
शताब्दि अघिका बीपीका समाजवादका कुरा कुनै पनि नेताले पुनर्व्याख्या गरेकै छैन र
ती उहिलेका कुरा खुईले भई सके । बीपीको मृत्युपछि नेपाली कांग्रेससँग विचार
सिद्धानत नै छैन । तैपनि नेपालीकांग्रेस चलेकै छ, किन ? र कसरी ?
नेपालको दलिय राजनिति जेल बसेका टंकप्रसाद आचार्यको अध्यक्षतामा शुरू भए पनि जेलमा
बसेका उनको नेतृत्व सकृय हुन नसकेको बेला भारतिय राजनितिज्ञहरूका निम्ति उनी एकदम
नै नौला थिए । त्यसै ताका भारतमा भएका बीपी कोइराला भारतिय स्वतन्त्रता आन्दोलनमा
भाग लिएकाले भारतिय राजनितिज्ञहरू बीच परिचित पनि थिए । त्यसैले आफू बसेको राज्यको
परिचित समूहको समर्थन प्राप्त नेपाली कांग्रेस भारतियहरू बीच परिचित र प्रिय भयो ।
२००७ सालमा नेपाली कांग्रेसको सफलताको मूल कारण नै यही भारतिय आधार हो ।
लोकतन्त्र नेपाली कांग्रेसको रानैतिक आधार हो जो भारतिय राजनैतिक व्यवस्थासँग
मेल खान्छ । भारतिय राजनिज्ञहरूको सहानुभूति र राजनैतिक व्यवस्थाको सिद्धान्त
भारतसँग मिल्दोजुल्दो भएकाले नेपाली कांग्रेसको भारतप्रति विशेष लगाव या सम्बन्ध
भएको कुरा इन्कार गर्न मिल्दैन र त्यो सम्बन्ध सन् १९७० को दशकमा इन्दिरा गांधीको
अधिनायकवादी आचरण इन्कार गरेर बीपीले तोडेका हुन् । भारतसँगको यही सम्बन्धलाई
राजावादी र वामपन्थीहरूले 'भारत परस्त' को संज्ञा पनि दिएका हुन् ।
नेतृत्व र राजनैतिक आस्थाले मात्र दललाई पुग्दैन भन्ने जानेका बीपीले संगठन
विस्तार गरे । २००७ साल पछिको नेपाली कांग्रेसको संगठन विस्तार यसै आधारमा भएको हो
र नेपाली कांग्रेसको अहिलेको संगठनात्मक आधार नै त्यही पुर्ख्यौली अवशेष हो भन्दा त्यत्ति
फरक पर्दैन ।
लोकतन्त्र राजनैतिक सिद्धान्त थियो, बीपीको सबल नेतृत्व थियो र थियो एउटा
संगठन पनि । त्यतिले दलले प्रतिपादन गर्ने मानविय आवश्यकताको रक्षा भए पनि मानिसका
पशुजन्य आवश्यकता पुरा हुदैनन् । यो कुरा बुझेका बीपीले मानिसका आर्थिक सुरक्षाका
निम्ति समाजवादको सिद्धान्त अघि सारे । यसरी नेपाली कांग्रेस एउटा सबल नेतृत्वमनि आफ्ना
राजैतिक, आर्थिक र संगठनात्मक आधारमा खडा भएकाले राजावादीहरूको ४० वर्षको प्रहारमा
पनि टिकिनैरह्यो ।
बीपीको मृत्युपछि नेपाली कांग्रेस सत्तामा नपुगुन्जेल त्रय नेताको नेतृत्वले
'एनकेन प्रकारेण' काम गर्यो र २०४६ सालको आन्दोलानमा सफल पनि भयो तर सत्तामा
पुग्ने बित्तिकै बीपीले स्थपित गरेका आधारहरू सबै भताभुङ्ग भए र दलको आधार सत्तालाई
बनाइयो । दुई नेता पाखा पारिए र गिरिजाप्रसाद कोइराला सर्वेसर्वा भए तर गिरिजामा न
बीपीको जस्तो विश्लेषणात्मक ज्ञान थियो, न सिद्धान्तप्रतिको आस्था नै । उनको गैर्जिम्मेवार
राजनितिले नेपाली कांग्रेसलाई त ध्वस्त पार्यो नै, अरू राजनितिज्ञहरू समेत त्यसमा
मुछिन पुगे । चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्का र पछिल्लो समयमा
सुजाता कोइरालाजस्ता मानिसहरू रानैतिक वृत्तमा उनका सहयोगी भएर देखा परे र वामदेवजस्ता
मानिस पनि सत्ताको लोभमा सांसदहरूलाई सुरा र सुन्दरी पुर्याइदिने दलालजस्ता हुन
पुगे । सत्ताको लोभमा राजासँग साठगाँठ गर्ने शेरबहादुर देउवाजस्ता राजनैतिक
विकृतिहरूको उपजको कारण पनि गिरिजा नै हुन् र उनीभन्दा बलिया पुष्पकमल दाहाल उर्फ
प्रचण्ड आएपछि मात्र उनको पत्ता चल्न छोड्यो । त्यसपछि त उनी धेरै समय बाँचेनन्
पनि ।
नेपाली कांग्रेस अहिले भताभुङ्ग छ । सत्ता र पैसाको लोभमा उभिने मानिसहरूलाई
नगन्ने हो भने यसको संगठन छैन । रामशरण महतजस्ता खुला अर्थव्यवस्थाका पक्षपातीहरूले
बीपीको समाजवादलाई उहिले नै बागमतीमा बगाइ सकेकाले सर्वसाधारण जनताका सामु पस्कन
सकिने आर्थिक सिद्धान्त अब नेपाली कांग्रेससँग छैन । अब रह्यो नेतृत्वका कुरा ।
नेपाली कांग्रेसका सभापति सुशिल कोइराला आस्थावान हुन्, नेताहरूमा सबैभन्दा
नैतिकवान पनि हुन् तर त्यतिले मात्रै दलको नेता बन्न सकिदैन । दलको नेताले आफ्ना
कारयकर्ता मात्रै होइन, आफ्ना सबै समर्थकहरूलाई एकसाथ पछाडि लगाएर हिड्न सक्नु
पर्छ । सुशिलमा त्यो सामर्थ्य छैन । उनी त उभिएर 'मेरा पछि लाग' भन्ने आँट पनि
गर्न सक्दैनन् । भविष्यका लागि नेतृत्व देखा परेका पनि छैनन् । दलप्रतिको शेरबहादुर
देउवाको विश्वासघात सबैलाई गनाउछ । रामचन्द्र पौडेलको हुतिहारा रूप चिरपरिचित नै छ
। अरू को देखा परेका छन् र ?
बिजोग छ नेपाली कांग्रेसको । दल भएर उभिन नै पनि गाहारो । संकटमोचनका उपाय
खोज्न सकिन्छ तर त्यो पछि विश्लेषण गरौँला ।
No comments:
Post a Comment