सौदामिनी
३
कुनै ठूलो मण्डप एक रूखको
अघि बनायो रहमा कसैले
र किम्वदन्ती र कथा पुराणमा
नामी भयो त्यो रह काष्ठमण्डप ।
श्रीमञ्जुश्रीले जनजीव थाल्न
चोभार काटी रह त्यो सुकाए
अर्को कथामा इतिहास भन्छ रे
कतै कविले अघि जो बखाने
उपत्यका स्वर्ग समान ठाने
तपस्वीले पुण्यभूमि जनाए
यसै धरामा तप गर्न आए ।
छोइदिदैमा जल यी नदीको
माटो छुदैमा यी पवित्र भूको
मिल्ला परमधाम भनेर ठान्थे
समीर सम्मन् पनि शुद्ध मान्थे ।
बाली र नाली, वन, केलीवाग
बाटा र घाटा, घर पानीघाट
सबै मिलेको सहरी बनोट
मानौं थियो रे सम इन्द्रप्रस्थ ।
जहाँ छहारी हुनुथ्यो
त्यहीँ थियो
जहाँ उज्यालो हुनुथ्यो त्यहीं थियो.
जहाँ जहाँ जे हुनुथ्यो त्यहीं थियो
बनोट बान्की सब ठाउँमा थियो ।
डाँडा र पाखा हरिया मुनाले
चिस्यान खोल्सी जल छल्कनाले
बाला सुनौला रहका गरामा
परिश्रमीका पसिना छुनाले ।
देखेर हुन्थे सब देव मोहित
नाचेर झर्थे परी मुग्ध, लोभित
तारा पनि फूल बनेर आउथे
लज्जावती झैं वन बाट च्याउथे ।
फूको रुआ झैं कही हुस्सु चल्थ्यो
स्फटिक जस्तो कहीं शित झर्थ्यो
कही बिहानी पखको तुसारो
टल्काउथ्यो धर्ती बनेर पारो ।
अहा ! धरामा यति विघ्न मोती
मिल्ला कहाँ पो यति दिव्य ज्योति
परन्तु यो वर्णन भूतको हो
‘थियो’ भनेकै भरमा भनियो ।
हाम्रो थियोमा यदि हाँसिने भए
सुँघेर मात्रै यदि बाँचिने भए
मानिस सबै शीप, कमाइ छोडी
हाँसेर बस्थ्यो ऊ ननासिने भए ।
No comments:
Post a Comment