Saturday, July 21, 2012

देशबाहिर - ४


विरामीको लर्को

हामी मस्को पुगेको २।४ हप्तामा नै साथी सोमनाथ पौडेल विरामी पर्‍यो र अस्पताल लगियो । क्षयको रोगको शङ्का गरेका थिए र अस्पतालमा क्षय नै हो भन्ने पक्का भएपछि त्यो वर्ष ऊ अस्पतालमा पर्‍यो । भाषा अस्पतालमा नै सिक्न पाएकाले उसको वर्ष खेर गएन । विष्णुबहादुर कार्कीलाई पनि क्षय नै रहेछ । ऊ बिचराले त अस्पतालमा १८ महिना बस्नु परेकोले एक वर्ष पछाडि पर्‍यो । सधैँ शिक्षक बाबुको नियन्त्रमा बसेको र उमेर  नै नपुगेको रमेश भट्टलाई नियन्त्रण गर्ने कोही भएन र उसले मस्को पुगेपछि रक्सी खान सिक्यो । पैसा पायो कि रक्सी खाने त्यो समयको आदतले उसलाई पछिसम्म पिरोल्यो र त्यही कारणले उसले आफ्ना चालिसका वर्षहरू पनि छिचोल्न सकेन ।
मेरो असल या खराब जे भने पनि म कुनै पनि शारीरिक या मानसिक कार्यको अन्तिम परिणाम के हुन्छ भन्ने नसोची प्रतिद्वन्दिता गर्न तयार हुने । एक दिन हाम्रो छात्रावासको करिडोरमा एक जना रूसी विद्यार्थी भारोत्तलनको अभ्यास गर्दै थिए । त्यस्तो अभ्यास कहिले पनि नदेखेका हाम्रा लागि त्यो रमाइलो प्रदर्शन भयो र हामी पनि त्यसमा सहभागी भयौँ । को बढी उठाउने ? भन्ने प्रतियोगिता चल्यो । कोही पनि अर्कोबाट हार मान्न तयार नहुने । म पनि ती रुसी दाइको निषेधाज्ञालाई नमानेर तौल थप्दै गएर हिरो त बनेँ तर भोलिपल्ट म उठ्नै नसक्ने स्थितिमा पुगे । जिउ त दुखेको थियो नै, मेरो छातीको अगाडि पछाडि अझ धेरै दुखेको थियो । म छात्रावासको क्लिनिकमा परिक्षण गरियो । खासै केही रोग देखा परेन । त्यसैले मेरो दुखाइलाई पढ्न अल्छ्याइँ गर्ने बहाना ठानियो तर दुखेको मलाई थियो र मैले उनीहरूको भनाइलाई स्वीकार गरिनँ र अस्पतालमा परिक्षण गरिदा म मुटु रोगले ग्रस्त भएको कुरा पत्ता लाग्यो । चिकित्सकहरूले मैले जानेसम्मका जीवनका घटनाहरू सुनेपछि बाल्यकालमा सधैँ विरामी भइरहने र बैँसमा पनि बराबर विरामी हुनुको कारण मेरो मुटुरोगको समस्या हो भन्ने निष्कर्षमा उनीहरू पुगे । त्यसपछि त मलाई सधैँ नै औषधि र परहेजमा राखियो ।
मेरो चिकित्सकको आदेश थियो - "जतिसुकै हतार भए पनि या हवाइजहाज नै छुट्न लागे पनि नदौडनु । हवाइजहाजको टिकट अर्को पाइन्छ, जीवन पाइदैन । सस्तो पाइयो या उपहार चाहिन्छ भनेर पाँच किलोग्रामभन्दा बढीको भारी कहिले पनि नबोक्नु । महँगोले दुई पैसा बढी पर्ला या उपहार नपाउने एकछिन रिसाउला तर जीवन त रहिरहन्छ ।"
मैले जीवनभर मेरा चिकित्सकको उपदेशलाई मानेँ ।त्यसैले मलाई न कहिले हतार नै भयो, न भारी बोकेर दौडनु नै पर्‍यो ।
दश महिना जति पढ्तौँ हामीले र दुई महिनाको वर्खेविदामा निस्कियौँ । विदा सकेर फर्कदा त हामीलाई सोभियत संघका विभिन्न महाविद्यालयहरूमा पठाइयो । म मस्को पावर इन्जिनियरिङ इन्स्टिच्युटमा पुगेँ र मेरो पढाइको रेकर्डसँगसँगै मेरो स्वास्थ्य विवरण पनि उतै पठाइयो ।

No comments: