Thursday, July 19, 2012

सौदामिनी - ५


सौदामिनी


सदैव झैं रात थकाइ मारी
विहानीको घाम झुलुक्क हेर्छ
आकाशले लिन्छ गुलाव लाली
माटो पनि रङ्गिन रूप फेर्छ ।

बिउझन्छ मानिस बिउँते सरि भै
आशा निराशा सब साथ बोकी
तर्सन्छ सम्झेर अतित आफ्नो
भविष्य छोटो अति सुक्ष्म देखी ।

दुई रूप नारी पत्नी र आमा
ढोकामा बस्थी नानी कुरेर
बाबु र छोराले चुसिसकेकी
जवानीमै बुढी सरि भएर ।

मानिस लोग्ने घर भित्र खोक्दै
पित्तादि फाल्ने बल जोड गर्थे
घरमा फिँजाइ सुर्तीको धुआँ
ती मर्दको शेखी प्रयोग गर्थे ।

छन् भुँडी पित्ले नानीहरूका
छन हात, गोडा, जिउ सुकेका
नसा हरिया सब ठाउँमा छन्
शरिर ढाक्ने गरी जेलिएका ।

ठाडो पखाला र जुका र चुर्ना
विहान फाल्ने गरी नानी साना
दायाँ र वायाँ लहरै बसेका
खडा सिपाही झैं मिलाइ बाना ।  

सलामीको निम्ति विशिष्ट व्यक्ति
सगर्व सर्के झैं म हिड्न थालें
नानीहरू प्यात्त निकाली जिब्रो
स्वभाविकै स्वागत गर्न थाले ।

चासो कुनै छैन भनी ठूलाले
कर्केर आँखा ती घुमाइ हेर्थे 
अभेक ठाउँ र अकाल बेला
मलाई देखी सब छक्क पर्थे ।

जसै म गन्तव्य पुगी हपारें
थकित नारी स्वर चिर्बिरायो
गएर को बाहिर हेरिहेर् त
र सामु सौदामिनी रूप आयो ।

ऊ क्या नि मैले त थिएँ भनेकै
पक्कै तिमी आउदछौ भनेर
आमा र बाले भर नै गरेनन्
साँचो कुरा बोल्दिनँ झैं गरेर ।

भेटूँ म बालाई तिम्रो भनेर
विहानी आको, बा तिम्रो खै त?”
ल्याउछु बोलाइ बालाई छिट्टै
एकै छिन् मात्रै यहाँ पर्ख है त
को? किन? केलाई?’ पछि कसैको
पैताला भारी सर्केर आयो
मानिस टर्रो ठर्रो स्वभावको
आएर सामु आँखा गडायो ।

खोजेको कसलाई के काम निम्ति?
भनिसकेकै छु अगाडि मैले
कतै कसै सक्दिनँ जानलाई
जतिसुकै दाम दिए नि अहिले ।

साहुको मेलो छ उता निकै नै
ज्याला पुरै खाइसकें अघि नै
बोल्यो कि पोल्यो छ जमान मेरो
सक्दिनँ फेर्न अब त्यो जमानै ।

त्यसो भए गर्दिनँ जोड केही
अरु कसै बाट चलाउला नै
त्यति ठूलो काम पनि त हैन
या दाइलाई पछि लाउँला नै ।

दुखै म देख्छु घरमा तपाईको
टुम्टुम् सधैंको त छदैछ होला
आम्दानी केही अरु थप्नलाई
उपाय सोच्दा ननिको नहोला ।

गरीबका यी बल पाखुरी हुन्
थप्ने अरु के छ र साथमा पो?”
नानी यिनी छन् कहीं कोही ठाउँ
साथी कसैको कि दिइदिने हो ।

राम्रो कुनै ठाउँ म खोजिदिन्छु
तपाईलाई पनि केही दिन्छन्
भलो त उनको पनि होइहाल्छ
दुई चार अक्षर यिनी आफू चिन्छिन् ।

पैसा पनि केही जमाइदिन्छिन्
तपाईलाई हलुकै हुनेछ
लेखेपढेकी धनवान छोरी
भविष्यलाई सजिलै हुनेछ ।

के स्वार्थ तेरो?’ भनि सोध्नुहोला 
तपाईकी नानी प्रतिको स्नेह
दूई चार चोटी आउदा र जादा
बढेर आयो यो माया मोह ।

मान्छेको मान्छे सँगको यो नाता
जति बढायो उति बाँधिने हो 
आयो गयो लाग्दछ माया मोह
गएन आएन त को हो? को हो?”

कुरा त हैनन् ननिका तपाईका
छोरीको जातै तर दिन गार्‍हो
फेरि म एक्लैले भनेर हुन्न
आमा मनाउन त झन छ सार्‍हो ।

विचार हामी सबले गरौ्रला
थलो ठेगाना दिइ जानुहोला
मिले म आफै पछि आउनेछु 
व्यर्थै त्यसै कष्ट नगर्नु होला ।

वचन लगाए पनि सौमी निम्ति
थिएँ म तैयार ती सुन्नलाई
प्रलोभनाको अझ जाल फेकें
अभाव भोग्ने धनहिनलाई ।

मिल्ने त मन हो मन त्यो मिलेमा
गर्जो र खाँचो पनि टर्न सक्छ 
मानिस र ठाउँ पनि आफू हेर्नु 
पैसा त के हो? अझ बढन सक्छ ।

मैले बुझेकोछु कुरा सबैका
चाहन्छ को के यति बुझ्न सक्छु
जानु भए हुन्छ खुरुक्क आफू
मेलो छ धेरै र उता म लाग्छु ।




कोही कसैको हितभागी हुन्छ
बिना कुनै स्वार्थ र अर्थ बोकी
सागर पनि ठाउँ कतै दिदैन 
खोलो गएमा कहीं पानी रोकी ।

मानिस हौं हामी तपाई ता, के?
हाम्रो त जीवन भरि स्वार्थ हुन्छ 
मिल्यो भने स्वार्थ र अर्थ हाम्रो 
त्यो चाहना पूर्ण अवश्य हुन्छ । 

यो मालको मोल गरिदिनु भो
यो मोलको सोच छदै थिएन
बजारमा छु कति मोल लिन्छु
भन्ने किटानी कहिल्यै भएन ।

जानोस तपाई पछि भेट होला
विचारी हेर्दा हित त्यो मिलेमा
अर्को र आफ्नो सबको छ मोल
छौ बेचिएका यी यसै थलोमा ।

सोझो र बांगो उसका कुरा सुनी
म आफू हारी अझ रन्थनाएँ 
आफू चुकेकोछु  कहीं भनेर 
मन भारी पारी घर फर्की आएँ । 

No comments: