Thursday, July 19, 2012

देशबाहिर - ३

हाम्रो पढाइको थालनी

मस्को पुगेको चौथो या पाँचौँ दिनदेखि हाम्रो भाषा कक्षा शुरू भयो । रुसी भाषाका अक्षर पनि हामीलाई छानीछानी पढाउन थालियो । सबभन्दा पहिले नेपालीमा र रुसीमा समान उच्चारण हुने अक्षरहरू सिकाइए । आमालाई बुझाउने 'मामा' र बाबु बुझाउने 'पापा' हाम्रा पहिला रुसी शब्दहरू भए । त्यसपछि अलि फरक उच्चारण हुने अक्षरहरू सिकाइए र अनि मात्र अन्त्यमा एकदम फरक उच्चारणका अक्षरहरूको पालो आयो । अक्षरले बनेको शब्दलाई सयौँ पटक भन्न लगाएर उच्चारण शुद्ध पार्ने प्रयाश गरियो ।
एउटा अक्षरले एउटै मात्र उच्चारणको प्रतिनिधित्व गर्ने हुनसले रुसी अक्षरबट बनेका शब्द उच्चारण गर्न अंग्रेजीभन्दा धेरै सजिलो छ । न रुसी भाषामा अंग्रेजीमाजस्तो दुई वा दुईभन्दा बढी अक्षर मिलेर अरको उच्चारण नै बन्छ, न नेपाली भाषाको देवनागरी लिपीमा झैँ अक्षरहरू जोडेर नया उच्चारण निकालिन्छ । रुसी भाषाको व्याकरणले भने हाम्रो टाउको खाएकै हो । नेपालीमा 'आउनु, जानु' र अंग्रेजीमा 'कम, गो' जस्ता दुई वटा चालन क्रियापदहरूले काम चलाउने हाम्रा लागि रुसी भाषा व्याकरणमा हुने विभिन्न चालनका निम्ति अलग अलग शब्द र शब्द संमिश्रण प्रयोग गर्न हामीलाई निकै गाहारो भयो तर जे होस्, १।२ महिनामा नै हामी, सडकमा बोलेको नबुझे पनि, हाम्री शिक्षिकाले बोलेको बुझ्न सक्ने र कनीकुथी जवाफ दिन सक्ने भयौँ ।
रुसी माध्मिक विद्यालयहरूको शिक्षा अवधि हाम्रैजस्तो दश वर्षको भए पनि स्तर भने हाम्रोभन्दा माथि थियो र सो समयको हाम्रो आइ.एस्सी.सी. केही कम । तैपनि ड्रइङ उनीहरूले जानेका हुन्थे भने हामीले त्यो विषय छोएका पनि थिएनौँ । दोश्रो या तेश्रो महिनापछि भाषासँगै हिसाब, ड्रइङ, विज्ञान आदि विषय पढाउन थालियो । हाम्रो त्यो समयमा बि.एस्सी. एग्रिकल्चर बाहेक माथिल्लो तहको पढाइका निम्ति आजको वार्‍ह कक्षाजस्तो इन्टमेडिएट परिक्षा उत्तिर्ण हुनु पर्थ्यो तर सोभियत संघमा माध्यमिक तहबाट नै लिने हुदा एस्.एल.सी. मात्र उत्तिर्ण भएका पनि पढ्न गएका थिए तर ती हामीजस्तो खुला प्रतियोगिताबाट नभई दरबारको या नेपाल कम्युनिष्ट पार्टीको सिफारिस कोटाबाट जाने गर्थे । दरबार तर्फबाट जाने पंचायत व्यवस्थाका कट्टर समर्थक हुन्थे भने नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट जाने संसारका सबै कम्युनिष्टका कट्टर समर्थक । हामी खुला प्रतियोगिताबाट जाने भने ती दुई समूहको विद्यार्थी राजनितिको द्वन्दको चेपुवामा पर्थ्यौँ । एकै समयमा एक थरीले राजावादी भएको आरोप लगाउथे, अर्को थरीले कम्युनिष्ट भएको ।
हाम्री भाषाशिक्षक कडा थिइन् तर कठोर भने होइन । ३५ वर्षतिरकी ती आइमाई न हाम्रो निम्तामा आइन्, न हामी विद्यार्थीलाई कहिले निम्ता नै गरिन् । आफ्नो विषयभन्दा पर ती कहिले पनि गइनन् । त्यसैले उनको परिवार बारे मलाई र हामी सबैलाई केही ज्ञान भएन र हाम्रो एक वर्षको पढाइपछि उनीसँग कुनै सम्बन्ध रहेन । यसरी वर्ष दिन जस्तो प्रत्येक दिन एउटै कोठामा घण्टौँ बसेर दिन बिताएको व्यक्ति छोडेको भोलिपल्ट नै पराईजस्तो लाग्नुमा हाम्रा कमजोरी त थिए नै तर उनको हामीप्रतिको निस्पृहता पनि कम जिम्मवार थिएन ।

No comments: