सौदामिनी
सातौँ सर्ग
भयो रात
कालो र अतिव निलो
आकाश ढाक्यो घनघोर मेघ
विध्वंशिनी भै प्रकृति उठेर
तोडी सबैका नियमित वेग ।
हुरी चल्यो स्थिर सबै बढार्यो
भेट्यो जहाँ
जे सब सम्म पार्यो
‘त्राही’ भनी मानिस काप्न थाले
पानी, हुरी, मेघ, चट्याङ साथै
लिएर आए पहिरो र बाढी
त्यो रातको रूप र बेग हेर्दा
लाग्थ्यो कहीं केही रहन्न बाँकी
।
मानौं कि आयो प्रलयै भनेर
आस्था र निष्ठा सबले पुकारे
देउतै नमानेहरूले
पनि त
सहायता खोजी कहीं गुहारे ।
को मर्छ आजै अनि के छ भोलि
ठेगाना केही र कहीं थिएन
मारे पनि आश सबै परन्तु
सखाप यो धर्ती भने भएन ।
धरा जसै शान्त भइन् विहानी
चरा उठी राग प्रभाती गाए
बिर्से सबै त्राश अघि बितेको
मानिस निर्धक्क सँगै निदाए ।
न शोक सुर्ता, न त भोक भारी
न मृत्युको त्राश सबै लतारी
क्षणमै बितेका घटना भुलेर
निदाउने, धन्य ! मनुष्य प्राणी ।
सुनेर ठूलो स्वर बिम्झदा म
कोठा भरि घामप्रकाश पाएँ
लाली उषाको कहीँ केही
थिएन
निकै बितेको दिन चाल पाएँ ।
बिना कुनै जोडी बिना जहान
म बाघ जस्तो एक्लो अघोरी
जहाँ मिल्यो जे खुशीले म खाने
भोलिको निम्ति कहीं क्यै नछोडी ।
थिएन कोही जसरी जगाउने
त्यस्तै मलाई न थियो
सुताउने
म पाउथें आफू खुशी निदाउन
केही काम पर्दा पस्थ्यो उठाउने ।
“कहाँ छ
साहु?” भनी कोही
करायो
कतै सुनेको स्वर भित्र आयो
शंका कुशंका मनमा उठाई
अनेक चासो मन भित्र ल्यायो ।
खोलेर ढोका जब निस्किएँ म
आँगनभरि हुल थिए छिमेकी
सौमीको बाबु बसी हुल माझ
बम्किरहेथ्यो घरि छाती ठोकी ।
देखी मलाई ऊ अगाडि आयो
दुई हात मेरा व्यर्थै समायो
“खै, छोरी मेरी? ऊ कहाँ पुर्यायौ?”
सोध्नु न बुझ्नु त्यहीं वात लायो
।
“भलादमी
हौला भनि ठान्दथें म
चाला त तिम्रो ननिको
रहेछ
गरिबको यो घर भाँडि हिडदै
सर्वश्व गर्ने व्यहोरा रहेछ ।
छोरी स-सानी
छलले फकाई
आशा र लोभानी दिई हजारौं
के आँटले आज लिएर आयौ?
दिन्छौ कि फिर्ता जगतै
गुहारौं?"
कुरा सुनी छक्क परें त्यसै म
गरेँ कहाँ भुल भएन ज्ञान
हुने जति नम्र भई बुझाएँ
उसको निराशा, भ्रम शान्त पार्न ।
“छोरी
तपाईकी यहाँ त छैन
शायद कतै अन्त गई ऊ होली
के काम आउथी पराइकोमा?
के काम राख्थे म पराया चेली?
हाम्रो चिनाजानी ठूलो थिएन
आफन्त ठान्ने त कुरै भएन
थिएन थाहा घर ठाउँ मेरो
यहाँ ऊ पुग्ने सुरतै रहेन ।
कहिले हिडी ऊ? कुन ठाउँ बाट?
जान्छु कहाँ भन्थी? र साथ कस्को?
सधैर्य भइ शान्त वयान गर्नोस्
जो जे भएको छ सबै कुराको ।
सुनी कुरा सत्य सबै म बाट
थकित भै हारी त्यसै सेलायो
थचक्क भैंमा बसी खुइय गर्दै
कुरा भएको त्यहीं नै सुनायो ।
“सँगै
सुत्यौं राति हिजो जहानै
बिम्झेर हेर्दा ऊ त्यहाँ थिइन
छिमेकमा खोजी गर्यौं अँध्यारै
कुन छिन् हिडी भेउ कतै दिइन ।
आमा त भन्छे – ‘ऊ निकै अघि नै
त्यसै त्यसै फुङ्ग
उडिरहन्थी
तपाईको घर छ कहाँ? भनेर
खोजीनिति खुब गरेकी हुन्थी’ ।
हामीले सोच्यौ कि तपाईकोमा
आई अरु ठाउँ कतै थिएन
जाने चिनेको र ऊ जान सक्ने
विश्वासिलो मानिस कोही छैन ।”
लिई बाबुलाई घरमा म आएँ
आमा थिई निर्जीव, भावहीन
ठूलै थियो घाउ कतै ऊ भित्र
आँखामा पीडा आँशु विहीन ।
“टाडा
कतै लाने कुरा सुनेर
ऊ ओइलाई अनि जिल्लिइथी
त्यो खोरकी पंखी चरी घुमे झैं
यहीं घरैमा ऊ घुमिरहन्थी ।
उदाश बस्थी कति
साँझ देखि
हिजो त सार्है नै निचोरिइथी
‘त्यो
साहु मेरो किन बा भएन?’
रुदै मलाई ऊ समाई सोध्थी ।
भन्थी – ‘म जन्मे पछि दुख धेरै
घरमा पर्यो कि म अभागिनी भई
के फिर्न सक्छ घर सुख फेरि
छोडी म बस्नाले कही कतै गई ।
हर्के, धने या अरु कोही भन्दा
निको मलाई किन साहु लाग्छ?
कोप्चो, अध्यारो छ कुना कतै कि
म लुक्छु भन्दा कहीं साहु राख्छ?
म छोरीको मोल लिई बसेकी
अभागिनी के भनि भन्न सक्थें
र पापको बोझ मनि लुकेकी
पवित्र ती वाक्य कता म बुझ्थें ।
विन्ती मलाई तिमी क्यै नसोध
संसार रित्तो मरुभूमिजस्तो
आँशु पनि छैन म भित्र चोखो
किनेछु मैले अति पाप सस्तो ।
पाए त उसले जसकी थिई ऊ
सन्तोष हुन्थ्यो कि मरे पछि त
जीवन भरि बल्नु त लेखियो नै
ठाउँ कहाँ पाउँ मरे पछि म ।
नहेर उसलाई कतै नखोज
धर्तीमा देवी त सधैं हुदिन
स्वर्गिय नासो ऊ उतै गई हो
मानिस सम्झी अब ऊ रुदिन ।
आमा चरी पानी, हुरी खपेर
थापी असिना बरु छाती माथि
वच्चा त छोप्छे तर निर्दयी म
ढुंगाकी आमा दिलहीन पापी
।
धत् धत् तिमी यो घरबाट जाऊ
कोही पनि फर्की यहाँ नआऊ
रित्तो छ मन्दीर सदैव निम्ति
देवी पूजाको फूल क्यै नल्याऊ ।
सुम्पन्थें यो प्राण मिले झझल्को
फिर्ने भए लाख जुनी म
दिन्थें
पखालिने पाप भए यो मेरो
त्यति जुनी नै म बसेर रुन्थें ।
आमा भएर म भएँ कलङ्क
म त आफूलाई आफै गनाएँ
दुर्गन्ध बोकी कति बाँचुला
म
दुर्गन्ध जो जीवनमा कमाएँ ।”
उसलाई सोध्ने त कुरै भएन
यसै पनि ऊ सहजै थिइन
भेटिन्न त्यो छोरी भनेर बाबु
फुर्सद लिई खोज्न कतै गएन ।
No comments:
Post a Comment