चारचतुरमान्य लोकमान
जति गफ लडाए पनि,
जति आफूलाई धुरीमा चढाए पनि हामी भारतिय सँस्कृतिमा हुर्किएका प्राणी हौँ ।
हिन्दुहरूका त ३३ कोटी देवता नै भारतवर्षमा छन् भने हिमालमा बस्ने
बौद्धधर्मावलम्वीहरू समेत लुम्बिनी दर्शन गर्न ओर्लीयो कि भारतको बौद्धगया नपुगी तीर्थाटनको
फल पाउदैनन् । अरू त अरू, शैली पनि हामी विहारीशैली मन पराउछौ र त्यसैलाई अपनाउछौँ
। त्यसैले हाम्रो, राजनीति मात्रै होइन, सँस्कृति पनि भारतपरस्त छ भन्दा अत्युक्ति
नहोला । फेरि खान नपाएर अनिकाल पर्दा झर्ने ठाउँ पनि त्यतैतिर हो र रोटीबेटीको
नाता पनि त्यतै तिर पर्छ । रिस उठ्यो कि सुरुङयुद्धको घोषणा पनि त्यतैतिर गर्छौ र
आफू लुरे भइयो भने "प्रभू ! रक्षा गर" भन्दै लम्पसार पनि त्यतैतिर
पर्छौँ । तैपनि भारतप्रतिको हाम्रो सोचाइ भने छोटो छ । हामी भारत भनेको
काश्मीरदेखि कन्याकुमारीसम्म छ भन्ने बुझ्दैनौ । हामीले अहिलेसम्म बुझेको भारत
त्यही विहार हो । तर हेर्यौँ भने उत्तर भारतभन्दा दक्षिण भारतको सँस्कृति उच्च
भएकाले त्यसलाई पछ्याउनु पर्छ भन्ने लाग्छ मलाई । दक्षिण भारतले मान्यजनहरूलाई
सधैँ सन्मान गर्छ । बाबुको नामसँग आफ्नो नाम जोडेर "म बाबुको छोरो हुँ"
भनेर गर्व गर्छ । हरिदासको छोरो मुकुन्दले आफ्नो नाम 'हरिदास मुकुन्द' राख्छ । अझ
आफ्नो गाउँको नाम, आफूलाई सधैँ संरक्षण दिने धर्मपिताको नाम जोड्छ आफ्नो नामसँग । हाम्रो
देश संचालनको ठेक्का लिएका चारचतुरले सबैको कल्याण गर्ने, हाम्रो रक्षामा सधैँ
तत्पर हुने र हाम्रा लागि नभई नहुने लोकमानलाई हाम्रा अगाडि उभ्याई दिएका छन् । हामीले
पनि आफ्नो नाममा ती अलौकिक दिव्यपुरुषको नाम जोडेर दक्षिण भारतियले झै उनलाई सन्मान
गर्नु पर्छ भन्ने म ठान्छु । त्यसैले यसको थालनी यो देश चलाउने चारचतुरका नामबाट
शुरू गर्छु ।
१.लोकमान पुष्पकमल
२.लोकमान सुशिल
३.लोकमान झलनाथ
४.लोकमान विजयकुमार
फेरि माओ, लेनिन,
स्तालिन, गान्धी, पिनोसे आदिको नाम राखेर दलको गरिमा बढाउन सकिन्छ भने यो मौकालाई
पनि हामीले उम्कन दिनु हुदैन । त्यसैले दलहरूको गरिमा बढाउनका लागि दलहरूको नाममा
पनि निम्न परिवर्तन गर्नु आवश्यक देख्छु म ।
१.एकिकृत नेपाल कम्यनिष्ट
पार्टी (माओवादी-लोकमानवादी)
२.नेपाली कांग्रेस (लोकमानतान्त्रिक)
३.नेपाल कम्युनिष्ट पार्टी
(एकिकृत मार्क्सवादी-लेनिनवादी-लोकमानवादी)
४.मधेसी जनअधिकार फोरम
(प्रजातान्त्रिक-लोकमानतान्त्रिक)
५.संघिय मधेस मञ्च
(लोकमानमञ्च)
समय र स्थानको
अभावले अरू नेता, नागरिक र दलहरूको नाम यहाँ राख्न नसकेकोमा क्षमाप्रार्थी छु म ।
यसमा मेरो अनुरोध छ कि देश संचालक हाम्रा चारचतुरको मनोकांक्षा अनुरूप सबै नागरिक
र दलहरूले आफ्नो नामसँग चारचतुरमान्य लोकमानको नाम सधैँ नै जोडेर आफ्नो देशको नाम
उज्वल राखौँ ।
राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख २३
No comments:
Post a Comment