Thursday, May 02, 2013

दस्तावेज(उपन्यास)




मैले छोरो किन मारे ?
(‌दस्तावेज)



―― राम दाहाल
 
पूर्वकथा  
टेलिफोनको घण्टी बजिरहेको थियो। डाक्टर अविजितले पहिलो घण्टी नै सुने  पनि त्यसलाई उठाउन चाहेन। पुषको मध्यरातमा सिरकभित्र स्वास्नी अँगालो मारेर सुतेको लोग्नेमानिसले त्यो तातोपन छोड्न पटक्कै चाहेन। ऊ डाक्टर नै भए  पनि इमर्जेन्सी कल ऊ कहाँ आउदैनथ्यो। मनोचिकित्सककहाँ त्यस्ता कल आउने सम्भावना  पनि थिएन। हो, ब्लफकल या रङ नम्बर भने ऊ कहाँ थुप्रै आउथे। त्यसैले उनीहरूबाट छुट्टी पाउन  पनि टेलिफोन झकेर बाहिर  राखिदिन्थ्यो  तर आज भने त्यो घण्टी बजी नै रह्यो। त्यसैले उसले बाध्य भएर तन्द्रामा नै रिसिभरतिर हात बढायो र ह्यान्डसेट ठाउँमा नपाएर आश्चर्यचकित भयो। ह्यान्डसेट नभएको रिसिभरमा घण्टी कसरी बज्न सक्छ? उसको मनमा आए पनि ऊ आफू उठ्न नखोजेर स्वास्नीतिर टाँसिन पुग्यो। लोग्नेको बानी थाहा पाएकी स्वास्नीले मायालु हातले उसलाई ठेल्दै तन्द्रामा नै भनी ― “बाहिर ढोकाको घण्टी बज्यो।
अविजित झल्यास्स भयो। टेलिफोनको होइन ढोकाको घण्टी। स्वास्नीको बोलाइले प्रस्ट थियो ऊ उठेर ढोका खोल्नेवाला छैन। त्यसैले अविजित उठेर दोलाई बेर्दै ढोकाछेउ आएर सोध्यो ― “को, हँ?”
, गणेश, सर। अस्पतालबाट आएको।” ― अस्पतालको वार्ड ब्वाइको स्वर सुनियो। 
अविजितले ढोका खोल्ने बित्तिकै केटोले उसको प्रश्न नकुरेर भनिहाल्यो ― “'टेलिफोनमा कसै सम्पर्क भएन, जा लिएर आ' मर्जी भयो डाइरेक्टर साहेबले र आएको।
अविजितले बुझ्यो – 'यो पक्कै इमर्जेन्सी हो। ठूलै इमर्जेन्सी नपरी .आधा रातमा डायरेक्टर स्वयम् अस्पताल आउदैनन्।' त्यसैले ऊ के? कसो? भनेर सोध्नपट्टि नलागेर अस्पतालतिर लम्कियो। 

राजधानीको सम्पन्न क्षेत्रको अस्पताल अतिसम्पन्न वर्गको सुविधाजनक चिकित्साको निम्ति स्थापना भएको थियो र चिकित्सा सेवा अति सुलभ, सिघ्र र अत्याधुनिक थियो। एउटा मनोचिकित्सकले  पनि आधारातमा आकस्मिक कक्षमा उपस्थित हुनु पर्ने बाध्यता  पनि त्यो सेवाको एउटा नमुना थियो। अस्पतालका भौतिक सुविधा त कुनै पाँचतारे होटलकाभन्दा कम थिएनन्। 
त्यो अस्पतालमा आकस्मिक परिस्थितिमा आधा घण्टाको सूचनाभित्र सफलतापूर्वक मुटु चिरिन सक्थ्यो, मिर्गौला फेरिन सक्थ्यो। अरूको त कुरै छोडौं। सबै विभागहरू थिए त्यहाँ छिटा, छरिता र सुविधाजनक। मनोचिकित्सा विभाग  पनि थियो त्यहाँ तर त्यसको महत्व, आवश्यकता र उपयोग अंगे्रजी माध्यमको विद्यालयमा सँस्कृत विभागको जत्तिकै थियो र त्यो विभागको वरिष्ठदेखि कनिष्ठसम्मको ऊ सिङ्गै एक्लो चिकित्सक थियो। 
अविजित सिधै निदेंशकको कक्षमा पुग्यो। वरिष्ठ चिकित्सक सहित सबै विभागीय प्रमूखहरूको उपस्थिती थियो त्यहाँ। उसलाई देख्ने बित्तिकै निर्देशकले भन्यो ― “आउनोस्, डाक्टर साहेब, आउनोस्। हामी सबै तपाईलाई नै कुरेर बसिरहेकाछौं।
अविजितको रायको आवश्यकता त पर्थ्यो तर आपत्कालिन परिस्थिति बनेर होइन। मध्यरातको त्यो बैठक त आपत्कालिनभन्दा अरू हुनै सक्दैनथ्यो। अचानक आफ्नो पेसाको महत्व बढेकोमा आश्चर्यचकित भए पनि उसले कुनै प्रश्न गरेन। उसलाई थाहा थियो समस्या निर्देशक स्वयम््ले राख्ने छ।
अब शुरू गरौं त?” ― निर्देशकलाई स्वीकृतिको आवश्यकता नपरे  पनि त्यो आवश्यकता देखाएर उसले सबैको ध्यान आफूतिर तान्यो। मौन स्वीकृति दिए सबैले। 
निर्देशकले शुरू गर्‍यो।
आज हाम्रो आकस्मिक कक्षमा दुई जना बिरामी ल्याइयो र उनीहरूसँगै प्रहरी  पनि पस्यो। एउटा बिरामी त यहाँ आइपुग्नु अगाडि नै मरिसकेको थियो तर दोश्रोको हालत खराब भनिए पनि चिन्ताजनक छैन। यो भनाइ मेरो होइन, शल्यचिकित्सकको हो र यो सत्यको जानकारी हामीमा मात्र सीमित छ। प्रहरीलाई समेत हालत खराब र चिन्ताजनक भनेर भित्र पस्न दिइएको छैन र बिरामीलाई सेडेटिभ दिएर सुताइएको छ।
के भएर चोट लागेछ?” ― कसैले प्रश्न गर्‍यो।
छुरा रोपियो दुवैलाई। कसरी? यो प्रश्न हाम्रो लागि होइन। प्रहरीले समाधान गर्ला त्यसलाई। जुन कुरा हामीसँग सम्बन्धित छैन त्यो हाम्रो चासोको विषय  पनि होइन। फेरि जो मरिसक्यो त्यसप्रति हाम्रो जिम्मेवारी छैन। उसको अटोप्सी गर्नु परे भोलि गरिदिउँ्कला तर बाँच्नेलाई बचाउनु हाम्रो कर्तव्य हो।
निर्देशक मौन भयो। शायद ऊ आफ्नो भनाइको प्रभाव हेर्न चाहन्थ्यो। त्यो देखेर शल्यचिकित्सक बोल्यो ― “अब घाइतेलाई ज्यानको खतरा छैन?”
हो, शारीरिक रूपमा छैन तर मानसिक रूपमा भने अवश्य नै छ। पहिलो त, मर्ने व्यक्ति बाँच्नेको एउटै मात्र छोरो हो र छोराको मृत्यु आमाको निम्ति सांघातिक त अवश्य हुन्छ नै। दोश्रो, प्रहरी अनुसन्धानकर्ताहरूको अनावश्यक सोधपुछले बिरामीलाई अझ बढी चोट लाग्न सक्छ र त्यसबाट हामीले उसलाई बचाउनु परेको छ।
खै! निर्देशक साहेब, मैले त कुरा बुझनँ। हाम्रो पेसागत नैतिकता बिरामीलाई बचाउनु हो र त्यो हामी गर्दैछौं। त्योभन्दा पर त हामी केही  पनि गर्न सक्छौंजस्तो लाग्दैन मलाई त। फेरि, छोरो मर्दा पीर पर्नु सांसारिक वास्तविकता हो र त्यसलाई रोक्न सक्ने कुरै भएन। छुरा चल्यो, मानिस घाइते भयो, मर्‍यो। हाम्रो काम प्रहरी तहकिकात रोक्ने होइन भने यो मध्यरातमा आकस्मिक बैठकको अर्थ देख्दिनँ म।” ― वरिष्ठ चिकित्सकको स्वर अलि च्याँट्ठिएको सुनियो। अविजितभन्दा एक घण्टा अगाडि नै निर्देशकको कक्षमा बस्नु परेकोले उसको धैर्य कम हुनु स्वभाविक  पनि थियो। 
वरिष्ठ चिकित्सक निर्देशकभन्दा निकै वरिष्ठ भएकोले उसको भनाइ अदवकासाथ लियो निर्देशकले र नम्रतासाथ भन्यो ― “म विषयवस्तुमा आउदैछु, सर।
अस्पताल सुनसान र निःशब्द थियो। बैठकको टेबुलको वरिपरि चिकित्सकहरू प्रेत जगाउन बसेका प्रेतपूजक झैं टेबुलमा हात राखेर निर्देशकको अनुहारमा केन्द्रित थिए। सबै उत्सुक र तत्पर देखिन्थे तथ्य जान्नलाई र कौतुहलसँग अलिकति शङ्का  पनि मिसिएको थियो अब त। उनीहरूको अधैर्य अनुभव गरेर निर्देशक भन्न थाल्यो हेर्नोस्, यो घायल बिरामी हाम्रो भि.आइ.पि. बिरामी हो।
जासुसी कथामा जस्तो खटाइखटाइ खोलिदै गएको गोप्यताले चासो अझै बढायो र सबैले निर्देशकको मुख हेरिरहे। 
आज हामी हाम्रो व्यवसायको परिक्षाको समयमा आइपुगेका छौं। जुन आइमाई आज घायल भएर लडेकी छ ऊ नै हाम्रो अग्निपरीक्षा हो। आज हामीले त्यो गर्नु परिरहेको छ जो हाम्रो व्यवसायिक नैतिकताभित्र पर्दैन र नगर्नु कसैको निम्ति घातक हुन सक्छ र धेरैको निम्ति नोक्सानदायी  पनि।” ― निेर्देशकले भन्यो।
कुरालाई छोट्याएर गर्नु ठीक होला कि, निर्देशक साहेब? ” ― कुनै वरिष्ठले आपत्ति गर्‍यो। 
ठीक छ , म छोट्याउछु। जुन आइमाई आज घाइते छ त्यसलाई हत्याको आरोप लाग्ने सम्भावना छ र त्यो  पनि आफ्नै छोराको हत्याको आरोप। उसको लोग्ने उसलाई निर्दोष बनाउन 'ऊ त पहिलेदेखि नै पागल थिई' भन्छ र हामीलाई यही कुरा प्रमाणित गर्न अनुरोध गर्दछ।
आफ्नो आवश्यकताको कारण बुझेर अविजितले भन्यो ― “त्यो बिरामीले उपचार गराइरहेको थिई र हामी कहाँ पहिले?”
उपचार त गर्थ्यौ हामी तर पागलपनको होइन। सर्वाङ्ग परीक्षणको शिलशिलामा सामान्य मानसिक परीक्षण अवश्य गरेका र्हौ र डाक्टर अविजितले त्यस्तो असन्तुलित मानसिक लक्षण फेलापार्नु भएको छैन। तैपनि उसको लोग्नेको आदेश मान्न हामी बाध्य छौं। हाम्रो निर्णय अनैतिक नै होला भन्ने पनि म ठान्दिनँ किनकि उसको लोग्नेको भनाइ ठीक भए त्यो आइमाई अपराध सन्देहबाट सहजै मुक्त हुनेछ र उसको भनाइ ठीक नभए एउटी आइमाई पुत्र हत्याको पीडा जीवनभर भोग्नेछ। जेलभन्दा ठूलो सजाय हुनेछ उसलाई त्यो।
लोग्नेको जालसाँजी  पनि त हुनसक्छ त्यो।” ― कसैले शङ्का उठायो। 
के भयो त लोग्नेको जालसाँजी नै भए  पनि? जसको एक्लो छोरो मरिसक्यो त्यसले अझै  पनि आफ्नो स्वार्थ हेरेर 'स्वास्नी बहुलाएकी छ' भन्छ भने हामीलाई केकेा आपत्ती? हाम्रो काम त बिरामीको स्वार्थ हेरिदिनु हो।
हामीले यो काम गरेनौ भने?” ― अविजितले बिस्तारै प्रश्न गर्‍यो।
यही प्रश्न मैले आफैलाई  पनि गरेथेँ र निष्कर्षमा पुगे कि हामी कसैको यहाँ काम हुने छैन। यो अस्पताल नै बन्द हुनेछ।
के?” ― सबैले एकैसाथ आश्चर्य प्रकट गरे।
हो। अस्पतालको र सबैको स्वार्थ हेरेर  पनि यो काम गर्नै पर्ने भएको छ। त्यो  पनि आज रातमा नै सबै कागजपत्र तयार पार्नु पर्ने। भोलि त प्रहरी सामू ती सबुतहरू पेश गरिनुपर्नेछ।
मलाई त गर्न गाह्रो छ।” ― अविजितले लामो सास फेरेर भन्यो। 
नैतिकता र अनैतिकताका बीचमा फसेका ती चिकित्सकहरूले जोड गरेर अविजितलाई  केही भन्न सकेनन् र टेबुलमा आँखा गाडेर बसिरहे। त्यो देखेर साम, दाम, दण्ड, भेद चारै नीति चलाएर भए  पनि अस्पतालको रक्षा गर्न बाध्य निर्देशकले  अनुरोधको स्वरमा भन्यो ― “एक 'हुन्छ' या 'हुन्न' सयौँ परिवारको दानापानीसँग सम्बन्धित छ। त्यसैले 'हुन्न' त हामी भन्नै सक्दैनौं किनकि जसबाट यो अनुरोध आएको छ ऊ यो अस्पतालको मालिक हो।
कोठाभरि मौनता छरियो। 


दश जना विज्ञलाई एउटी आइमाईलाई बहुलाही प्रमाणित गर्न २।४ घण्टाभन्दा बढी समय लागेन र त्यो बिर्सन  पनि एक दिन नै पर्याप्त भयो। केवल अविजितले मात्र त्यसलाई त्यति सजिलै लिन सकेन। पहिले कहिले  पनि नदेखेकी सद्दे आइमाईलाई उसले बहुलाही बनाएर अस्पतालको बेडमा सुताएको थियो। नैतिक अपराधको यो बोझ र बिरामी कहाँ चिकित्सकले पुग्नु व्यवसायिक दायित्वले ऊ गर्‍हुँगो पाइला लिएर बिरामीको केबिनभित्र पसेथ्यो। पहिलो पटक बिरामी निदाइरहेकी थिई र उसले उसको सामना प्रत्यक्ष रूपमा गर्नु परेन। दोश्रो पटक  पनि कोही थियो साथमा र त्यसैले ऊ उम्किएको थियो। तेश्रो भेटमा त उसले सामना गर्नु परी नै हाल्यो।
अविजित केबिनभित्र पस्दा त्यो बिरामी आँखा चिम्लेर सुतिरहेकी थिई। निदाएकै  पनि हुनसक्थी। कोठा भने रित्तो थियो। त्यसैले उसले बाहिर निस्केर नर्सलाई सोध्यो ― “किन बिरामीलाई एक्लै?”
वहाँ कसैलाई पनि भित्र बस्न दिनुहुन्न। अझ पस्नै दिन पनि गाह्रोे मान्नुहुन्छ। वहाँको श्रीमान सर त बाहिर ढोकाबाट नै कुरा गर्नुहुन्छ।” ― नर्सले आफ्नो बाध्यता जनाई। 
अविजितले झुण्ड्याइएको केस हिस्ट्री पढ्न थाल्यो। उसको विषयका १।२ अति सामान्य सिडेटिभ जस्ता औषधी थिए त्यति मात्रै। बाँकी सबै घाउ सम्बन्धी थिए। 
अविजितले बिरामीलाई नियालेर हेर्‍यो वर्ष ३५।४० की आइमाई। अनुहार दुब्लो भए  पनि सुन्दर देखिन्थ्यो। अधवैंसे हुँदा त त्यति राम्री थिई भने वैंशमा त उत्पात नै राम्री देखिनु पर्ने थियो। 
कोही उभिएको आभास पाएर होला बिरामीले आँखा खोली र आफूुलाई हेरिरहेको देखेर संयम नगुमाई मुस्काुराउदै भनी ― “मैले त सोचेकी थिएँ तपाई दोहोर्‍याएर आउनुहुने छैन। मेरो नया रोगको डाक्टरले दोहोर्‍याइ तेहेर्‍याइ आउनु पर्ने आवश्यकता  पनि छैन। होस्  पनि कसरी? म तपाईको वास्तविक मानसिक रोगी त होइन, केवल प्रमाणित मानसिक बिरामी, उग्र स्वभावको मानसिक बिरामी।
तपाईले धेरै बोल्नुहुन्न। आराम गर्नोस्।” ― अविजितले शान्त गर्न खोज्यो उसलाई। 
तैपनि उसमा उत्तेजना आएन। उसले मुस्कुराहट नहटाई भनी ― “मलाई थाहा छ म कति बिरामी छु भन्ने। तपाईले पो मलाई जाँच्नु भएको छैन त। तैपनि तपाई डाक्टर, म बिरामी। अब त अरूबाट छुटेर तपाईको बिरामी। त्यसैले  पनि दायित्व हुन्छ तपाईको म कहाँ आउनु। अझ कर्तव्य नै हो तपाईको त्यो। ढिलै भए  पनि कर्तव्य पूरा गर्नुहुदैछ तपाई। मृत प्रमाणपत्र दिएर नाडी छाम्न आउनुभयो। धन्यवाद छ तपाईलाई यसको निम्ति।
हेर्नोस्, स्थिति नै यस्तै पर्‍यो।” ― अविजितले असजिलो मान्दै जवाफ दियो। 
उसले कुरा काटेर बोली ― “होइन, होइन। मैले तपाईलाई दोष दिएकी होइन। मेरो लोग्नेको सामु तपाईसँग त्योभन्दा अर्को उपाय  पनि थिएन। मैले त तपाई आउनु भएकोमा साँचै नै धन्यवाद दिएकी हुँ। अब त तपाईलाई मेरा मनोचिकित्सक भएको नाताले मेरो केसहिस्ट्री तयार गर्नै पर्ला। प्रमाण जुटाउनु पर्ला, अदालतमा सवुत पेश गर्नु  पनि पर्ला। त्यसैले तपाईको मप्रति या मेरो व्यक्तित्वप्रति केही दायित्व, केही जिम्मेवारी अवश्य छ र अझ तपाईद्वारा प्रमाणित बहुलाहीको इतिहास स्वयम्मा पागलपनको अंश हो कि होइन त्यो च्याउने र खोतल्ने अधिकार  पनि तपाईलाई छ। हुन त म आफूलाई बौलाही नभएको दावी गर्छु तर त्यसको के अर्थ र? सबै विकृत मानिसले त्यस्तो दावी गर्छन् नै। मलाईभन्दा तपाईलाई त्यो कुरा बढी थाहा भएकै कुरा हो।
आज नै सबै सिध्याउनु पर्छ भन्ने छ र? भोलि, पर्सि भन्न  पनि त भ्याइन्छ। तपाई अलिकति ठीक त हुनुहोस्।” ― अविजितले उसलाई पन्साउन खोज्यो। 
आज नै सबै सिध्याउन पर्छ भन्ने बाध्यता त छैन। भोलि पर्सि भने र सुने  पनि हुने हो तर हेर्नोस्, काल या समय कसैको अंशको टुक्रा होइन जो आफ्नो अधिनमा होस्। यो त छोटो अवधिको लागि हातमा आइपुग्छ र प्रयोग नगरे फुत्केर जान्छ। त्यसैले म यो मेरो हातमा आइपुगेको कालखण्डलाई उपयोग र उपभोग गरिहाल्न चाहन्छु। पछि त मैले समय नै नपाउन  पनि सक्छु या पाए  पनि उपभोग नगर्न सक्छु। रह्यो तपाईको समयको कुरा। तपाईले त पेसा नै यस्तो समाउनु भएको छ कि, लामो होस् या छोटो, रोगीको इतिहास सुन्नै पर्छ, त्यही अनुरूप केसहिस्ट्री तयार पार्नु पर्छ र उपचार  पनि त्यही केसहिस्ट्रीको आधारमा गर्नु पर्छ।
तर तपाई त बहुलाउनु नै कहाँ भएको छ र?” ― डाक्टरले सहज स्वरमा भन्यो। 
हेर्नोस्, विपरित निर्णयहरू एउटै मापदण्डको आधारमा सत्य सावित हुँदैनन्। तपाईकासामु यस्तै विपरित विडम्वना उभिएका छन्। एकातिर छोरो मारेको अप्रमाणित गर्न मलाई बहुलाही प्रमाणित गरिरहनु भएको छ, अर्कोतिर म बहुलाही नभएको अनुभव  पनि गरिरहनु भएको छ। अनुभवकै कुरा गर्नुहुन्छ भने त मेरो बारेमा मेरो लोग्नेलाई जति अनुभव कसैलाई  पनि छैन र उसलाई विश्वास छ कि, त्यो उसको विश्वासको भान मात्रै  पनि हुनसक्छ, म बहुलाही हुँ र मेर कृयाकलाप सबै नै बहुलाहा हुन्। नत्र, हेर्नोस्, जसको एक्लो छोरो मारियो त्यो लोग्नेमानिसले स्वास्नीलाई बहुलाही बनाएर अस्पतालमा सुताउनु पर्ने आवश्यकता थिएन। एउटी आमा छोराकी हत्यारा हो वा होइन त्यसको फैसला अदालतलाई गर्न दिए  पनि त हुन्थ्यो नि। मैले अदालतको कठघरामा दोषी, निर्दोषीका आफ्ना सवुदहरू त पेश गर्न पाउथेँ। तर ऊ मेरो लोग्ने हो, ऊ स्वयम् वादी हो, ऊ स्वयम ्प्रतिवादी हो। त्यति मात्र होइन, ऊ आफूलाई कठघरा ठान्छ, अदालत ठान्छ। आरोप लगाउनेदेखि फैसला गर्नेसम्म ऊ आफै गर्छ। जिउदो हुँदा नभ्याए मरेको लाश उठाएर भए  पनि ऊ आफ्नो हकमा फैसला गर्छ। त्यसैले अदालत न सही, कसै न कसैका सामु त आफ्ना सवुत त पेश गर्नै पर्‍यो मैले। मेरो समक्ष आउन सक्ने र मेरो कुरा सुन्न सक्ने अधिकार अब तपाईमा सीमित भएको र तपाई चिकित्सक भएको नाताले मात्र तपाईलाई सुनाउन खोजेकी हुँ अन्यथा तपाईसँग मेरो कुनै सम्बन्ध र साइनो छैन। रह्यो तपाईको स्वार्थको कुरा। मेरो केसहिस्ट्रीले तपाईको अनुभव बढ्ला, अदालत समक्ष पेश गर्न पर्याप्त सवुद उपलव्ध होला र अझ मेरो लोग्नेको दृष्टिमा तपाई सफल चिकित्सक ठानिनु होला। तपाईलाई त फाइदै फाइदा छ।” ― उसले अनुरोध गरी। 
एक मन त अविजितलाई याचना स्वीकार गरौं जस्तो लाग्यो तर अनावश्यक झमेला पर्नसक्ने सम्भावना देखेर भन्यो ― “यस्तो कुरा पन्साउनु नै राम्रो हुन्छ , हजुर।
अहिलेसम्म सौम्य र शान्त देखिएको बिरामीको अनुहार कडा र गम्भीर देखियो र उसको स्वर दृढ भयो ― “डाक्टर! अरूको त कुरै छोडौं। मेरो लोग्ने  पनि .मेरो सामु 'नाइँ' भन्न हिच्किचाउछ। तपाई त उसको अस्पतालको चिकित्सक मात्रै हो।
अविजित त्यो ठाउँबाट चल्न सकेन।  
 क्रमशः

No comments: