उहिले बाजेका पालामा
उहिले उहिले बाटोमा
बिस्कुन सुकाउथे आमैहरू र
कतै 'भोँ पूँ' स्वर सुने
हतारिदै सोहोर्थे बिस्कुनहरू;
अहिले हाम्रो पालामा
ग्यारेज खोल्छौँ बाटो छेकी
अनि बिचरा भोँपूँहरू
पाखा कुद्छन् बाटो नभेटी ।
उहिले बाजेका पालामा
रछेनमा फोहोर हाल्थ्यौँ
अहिले हाम्रा पालामा
सडकमा बिस्कुन पार्छौँ;
त्यो पनि पाइएन भने
छिमेकीको छतमा फाल्छौँ ।
उहिले उहिले बाटोमा
गुच्चा खेल्थे नानीहरू
बाटो माग्थे नानीसँग
गाडीवाल साहुहरू;
अहिले गाडीसाहुहरू
नानीलाई कहाँ टेर्छन् ?
बाटो काट्ने नानीलाई
बीच बाटोमा नै पेल्छन् ।
उहिले बाजेका पालामा
तुलशीमठमा लाश सुताइन्थ्यो
लाश उठाउने मलामीलाई
आँगनभरि बसाइन्थ्यो;
अहिले हाम्रा पालामा
सडकपेटीमा लाश तेर्स्याउछौँ र
आवतजावत बन्द गरेर
मलामी बाटोमा बसाउछौँ ।
उहिले बाजेका पालामा
दशैँपिच्छै मूलबाटो खन्थे
हिड्ने बाटा जति सबै नै
सबैको साझा सम्पत्ती भन्थे;
अहिले हाम्रा पालामा
पारी छिमेकी आधा लिन्छन्
बाँकी रहेको आधा बाटो
वारी छिमेकीमा दिन्छन् ।
घर छ हामीसँग बास बस्ने
लाश राख्ने ठाउँ छैन
पेवा हाम्रो सडक छ खाली
नानी खेल्ने ठाउँ छैन;
खाना खाने भान्साघर छ
फोहोर फाल्ने थलो छैन
सहरिया भए छौँ हामी
जीवन किन्तु भलो छैन ।
No comments:
Post a Comment