Monday, May 27, 2013

खण्डकाव्य



सौदामिनी
—— रामप्रसाद दाहाल
आकाशको छाती चिरेर झर्ने
सौदामिनीको चमकै ठूलो छ
स्वर्गिय शौन्दर्य सबै समेटी
बाटो ऊ झर्ने त हिलो गिलो छ
झलक्क देखें एक दिन मैले 
सौदामिनीको झरिलो छटामा
कहीँ पनि देख्न नपाइएको 
दैविय शौन्दर्य छिँडी कुनामा
सौदामिनी त्यो सखी भेट्न आई
आकाशदेखि तल धर्तीसम्म
छुट्याउनै पो अब पर्छ गार्‍हो 
कुन चाहिं सौदामिनी हो, अचम्म !
आकाशकी त्यो सौदामिनीले
धर्तीकी सौदामिनीलाई छुन्छे
चमक, दमक, रुप र चञ्चलेपन 
आफू मिटाइ उसलाई दिन्छे
आयौ कहाँबाट तिमी यहाँ किन
छोडेर बाटो यस ठाउँ रल्लिन?
के लाज लाग्दैन ठूलो बडो भै
सुटुक्क अर्को घरभित्र च्याउन ?”
चम्केर बम्की, हप्की र दप्की
उसले सकेसम्म डरै देखाई
परन्तु त्यो सावकको फुटानी
के गर्न सक्थ्यो म अटेरीलाई  ?
ऊ झन अटेरी छिडीँका बलैले
सम्भाव्य बाटा सब थुन्न थाली
अटेरी मेरा पाइलाहरूमा
वाचाल जालो ऊ त बुन्न थाली । 
 “मलाई टेर्दैनौ तिमी अटेरी
आमाको गाली खाने भयौ नि
कि भेटछौ बाबासँगको पिटाइ
मैले भन्याछु रुने भयौ नि
अस्ति नै यस्तै भुन्टे अटेरी
हेपी मलाई कल गर्न लाग्यो
पायो कि झापट बाको डरैले
आमा पछाडि ऊ लुक्न भाग्यो
बाको त झापट सार्‍है ठूलो छ
गालाभरिमा अटाउदैन
एकपल्ट भेटे पछि थाहा होला
बा हेर्ने आँटै पनि आउदैन ।
छन् बाबा ठूला आकाश छुने
द्यौता सँगै कुस्ती परे नि जित्छन्
दुई काँध राखी भुन्टे मलाई
आमा अगाडि ऊ कुद्न सक्छन् ।
ठूलै रहेछौ तिमी पनि  त
बा जत्तिको त कहाँबाट हुन्थ्यौ ?
कुस्ती परे नि बाले नै जित्थे
बाले पछार्दा तिमी पक्कै रुन्थ्यौ ।
बा तिम्रो खै त?” – यो प्रश्न सुन्दा
अचम्म मान्दै अनुहार हेरी
म मुर्ख, अज्ञानी, अजानलाई
गम्भीर भै ज्ञान सुनाइ फेरि ।
कस्ता नजान्ने मान्छेहरू छन
खै, स्वाँग पार्छन् कि बुझ पचाई
के गर्न बस्छ घर छोरो मान्छे
हामी के खान्छौं नगरे कमाइ ?
बा कस्तो भन्ने चिनेकै छैनौ
एक टनको ठेला बा एक्लै ठेल्छन्
कमाइ ल्याए त पुग्थ्यो रे खान
तर, गर्नु पो के ? बा खोप्पी खेल्छन्
कमाइ गर्छन् माया नि गर्छन्
परे सबैका सेवामा जुट्छन्
बिर्सन्छु उनका गतिला ती बानी
मातेर आई जब आमा कुटछन्
आमा पनि काम कहीं क्यै गर्छिन् ?
कुरो चलेकोमा कुरो उठाएँ 
वाचाल भन्नै थी तयार जस्तै
फटाफटी फेरि जवाफ पाएँ ।
पुगेन नि त बाको कमाइले
भुन्टे विरामी, बा खोप्पी खेल्ने
बा जाँड घिच्छन आँखा नहेरी
आमाले मात्रै के चाल थेग्ने ?
थाकेर पस्छिन् घर भित्र आमा 
साहुले ज्याला अति थोरै दिन्छ 
आफूले रक्सी घिच्नै नभेटे
त्यै पैसा बाले खोसेर लिन्छ ।
आमा चुलो छेउ बसेर रुन्छिन्
हामी डरैले कुनामा पस्छौं
खुवाउछिन् राति उठाई आमा
आमा नसक्दा निख्लाम सुत्छौं ।
छ्या ! सुद्धि कस्तो ! के काम आयौ
भने त हुन्थ्यो नि म हेरिदिन्थें
आमा नहुदा घरै म थाम्छु
गर्जो त तिम्रो पनि टारिदिन्थें ।
बालाई तिम्रो भेट्नु थियो नै
क्यै काम मेरो गर्ने थिए कि?
भेटिनँ भोलितिर आउँला नि
आउने लेठो दोहोरियो नि ।
तर मान्नु के दुख म आउनुमा
मन्दीर जानु दुख भक्तिमा के ?
देवी जहाँ रुप र वाणी, श्रीकी
त्यो ठाउँ पुग्न किन दुख मान्थें ?”
भनाइ मेरो उसले बुझि
स्वभावले जिल्ल परेर हेरी
खुम्च्याइ आँखा र भनी – “नबुझ्ने 
लाटो कुरा गर्छ बुझूँ कसोरी?”
ढोका थुनी त्यो छिंडीका बलैले
भयो अध्यारो अनि चाल पाएँ
दियो बले झैं कहीं छाती भित्र
शौन्दर्य सम्झी घर फर्की आएँ ।

No comments: