कान्तिपुर दैनिक र हिमाल खबर पत्रिका
आफूलाई श्रेष्ठ ठान्नेहरूमा, चाहे ती अधिनायक हुन् वा
लोकतन्त्रवादी या चाहे पदाधिकारी हुन् वा सडकछाप, जहिले पनि श्रेष्ठताभास टाँसिएर बसेको हुन्छ ।
सर्वोच्च अदालत तलव खानेहरूमा पनि सर्वोच्च अदालतको श्रेष्ठताको आडमा अरू बाँकि
सबैभन्दा आफूलाई श्रेष्ठ ठान्छन् । केही दिन अघि मात्र रिट दर्ता गर्न जानेलाई
"सम्बन्धित सँस्थासँग जवाफ लेऊ पहिले" भनेर दरपिठ गरी दिनेले अदालतको
मानहानीको रिट दर्ता गरिदा "कान्तिपुर दैनिक, विजयकुमार या सिरोहियाबाट जवाफ
लिएर आऊ पहिले" भनेनन् । 'न्यायका नौ सिङ हुन्छन्' भन्थे उखानमा । के दुईटा
सिङ पलाएकै हुन् त ?
हाम्रो समाजमा सम्पत्तीवाल, पदाधिकारीले आफूलाई
श्रेष्ठ ठान्ने त परंपरा नै हो तर यस्ता परंपरालाई खोतलेर छताछुल्ल पार्ने आफूलाई
स्वतन्त्र र लोकतन्त्रवादी ठान्ने संचारमाध्यम पनि यो रोगबाट अछुतो छैन । अरू त
अरू दैनिक पत्रिकामध्ये ठुलो ठानिएको कान्तिपुर दैनिक पनि आफ्नो श्रेष्ठताभास
देखाउन पछि पर्दैन । पत्रिकाको आलोचना गरेर झुक्किएर पनि तपाईले इ-मेल पठाउनु भयो
भने कि तपाईको ठेगाना स्प्याममा पर्नेछ या ब्लक गरिने छ । नक्कली पाठक बनाएर आफूले
चाहेजस्तो पाठकपत्र पठाउनु त 'द राइजिङ नेपाल' का पालादेखिनै चलेको हो र कान्तिपुर
दैनिकले मात्र यसलाई छोड्ने कुरा हुदैन । आखिर पाठक के भन्छ ? त्यो संपादक मण्डलका
निम्ति महत्वपूर्ण होइन । पाठकबाट के भनाउनु पर्छ त्यो महत्वपूर्ण हुन्छ । आखिर
सम्पादक पनि त पाठक नै हुन् केवल डाडुपुन्यु हातमा भएका पाठक ।
ठुला पत्रिका ताक न तुकका कुनै सार नभएका लेख पनि छाप्छन्
कहिले कहीँ पाठकको स्वादको निम्ति होइन लेखकको सुविधाको निम्ति । पछिल्लो समयमा
कान्तिपुर दैनिकमा छापिएको खगेन्द्र संग्रौलाको हलेसी पुगेको लेख, खगेन्द्र संग्रौलालाई
मैले सम्मान गर्दागर्दै पनि भन्न कर लाग्छ र उनले यसलाई अपमान नठानुन्, संध्याकालिन
पत्रिकामा पनि छापिन योग्य छैन तर लेखलाईभन्दा लेखकको महत्व बुझेर पाठकलाई कोचियो
किनकि दलहरूलाई गाली गर्न सौरभलाई अगाडि सारिए झै भोलि गैर्ह-एनेकपा(माओवादी)
दलहरूलाई गाली गर्नु पर्ने समयमा संग्रौलालाई बोलाइनु पर्ने हुन्छ । एक समय आफूलाई
कान्तिपुर दैनिकभन्दा श्रेष्ठ ठान्ने संग्रौलालाई पाठक खन्याएर मानमर्दन गरेको हो
कान्तिपुरले । खालि यति मात्रै हो कि तीमध्ये कति वास्तविक थिए कति स्वनिर्मित ।
त्यो बेला खगेन्द्र संग्रौलाको नाक केशव पिंडाली शब्दमा भन्दा 'स्याप्पै सुकेको'
थियो ।
अब मेरा आफ्नै कुरा । म हिमाल पत्रिकाको ग्राहक र
कान्तिपुर दैनिकको पनि ग्राहक म । पछिल्लो आइतवार मैले 'हिमाल' बिहानभरि कुरेँ,
आएन र आएन कान्तिपुर दैनिक पनि । मैले हिमाल कार्यालयमा फोन गरेँ । 'ल सबै कुरा
बुझेर फोन गर्छु' - कसैले भन्यो तर न फोन आयो न पत्रिका । दोश्रो दिन त्यही
प्रकृया दोहोरियो र तेश्रो दिन बिहान पनि आएन । कान्तिपुर दैनिकले पनि वितरककोमा
बुझेर फोन गर्ने भाकामा फोन नम्बर लियो तर न फोन आयो न पत्रिका । दोश्रो दिन त
एउटाले भनी नै हाल्यो - "तपाईको म्याद २।४ दिनमा सकिने रहेछ ।" मानौँ कि
२।४ दिन मेरो पत्रिका रोकेपछि म वाध्य भएर फोन गर्ने छु र उनले म्याद सकिन लागेको
सुनाउन भ्याउने छन् ।
तेश्रो दिन पनि पत्रिका नआएपछि म छिमेकी पत्रिका पसलमा
गएँ । पसलेसँग मेरो दोस्ती राम्रै छ र पसल भित्रको कुर्सीमा नै गएर जम्ने गर्छु ।
मैले 'पत्रिका देऊ न' भन्दा उसले जिस्क्याउने पारामा पत्रिका दिदै भन्यो -
"आज फेरि पत्रिका ल्याएन, बा ?"
काकताली भनूँ या अरू केही, त्यही समयमा एक व्यक्तिले
२।४ वटा पत्रिका बटारिएको मुठो पसलेलाई दिएर गयो । पत्रिका बटारिएको देखेर मैले
सोधेँ - "के हो त्यो बटारिएको ?"
"तपाईहरूकोमा आई पुग्न नसकेको कान्तिपुर हो यो
।" - उसले हाँसेर नै जवाफ दियो ।
"त्यसोभए मेरो हिमाल खबर पत्रिका पनि आई पुग्यो
होला नि तिमी कहाँ ?" - मैले जिज्ञासा राख्नै पर्यो ।
"केको हतार ? पाँच दिनपछि तपाईकोमा नै आई पुग्छ
नि त्यो । २। ४ जनाले पढून् न त्यो बेलासम्म ।" पसले मरीमरी हाँस्न थाल्यो ।
मैले ५५ रूपयाँ घाटा बेहोरेँ नै । हजारौ ग्राहकले
दिनहुँ यस्तो घाटा बेहोरेकै होलान् । केवल यो भ्रष्टाचारको जालो सुबथाले भने झैँ संस्थागत
भएर कनकमणी दिक्षित र कैलाश सिरोहियासम्म नपुगोस् । यही मेरो कामना छ ।
रामप्रसाद दाहाल
जोरपाटी
२०७० वैशाख ३१
No comments:
Post a Comment