काठमाडौँ बसाइको शुरूआत
१
अधिराज्यको एउटै मात्र विज्ञान
कलेज त्रिचन्द्र कलेजमा प्रवेश पाउन मैले सकेसम्म प्रयास गरेँ तर त्यो प्रयासका
थुप्रै वाधाहरु थिए। प्रथमत विज्ञान विषयमा प्रवेसको निम्ति चाहिने गणित नै थिएन मेरो।
मैलेत नागरिक शास्त्र विषय लिएर एस.एल.सी उत्तिर्ण को थिएँ। दोश्रो, सो समयको राम्रै परिक्षा
परिणाम भए पनि मभन्दा अझ राम्रा विद्यार्थी भएकाले मैले कलेजमा स्थान नपाएको हुन
सक्थ्यो तर मभन्दा कम योग्यता भएका कोही कसैले पाएकाले त्यहाँ सबै कुरा न्यायसंगत
थियो भन्ने कुरामा भने मलाई विश्वास छैन किनकि त्यसरी पाउनेहरु शक्तिशाली
व्यक्तिका सन्तानहरु थिए ।
लीलानाथबाले मलाई यहाँ पनि सहयोग गर्ने प्रयास गरे।
कांग्रेसी नेता सूर्यप्रसाद
उपाध्यायका भाइ शारदाप्रसाद उपाध्याय शिक्षाविभागका डाइरेक्टर थिए र लीलानाथबाले
उनीसँग मलाई सहयोग गरी दिन आग्रह गरे। डाइरेक्टरको आश्वाशनमा भर गरेर मैले धेरै
पटक उनीकहाँ धाएँ तर, उनको वाध्यता जेसुकै होस, मैले प्रवेश पाइनँ। अन्ततः तीन महिनासम्म दौडदा पनि केही
नलागे पछि कोही कसैले त्रिचन्द्र कलेजकै सुविधा प्रयोग गर्ने गरी अघिल्लो वर्ष
मात्र खुलेको पब्लिक साइन्स कलेज (जो पछि यसका सँस्थापक अमृतप्रसाद प्रधानको नाममा
अमृत साइन्स कलेजमा परिणत भयो) मा भर्ना हुन सल्लाह दियो र मैले त्यहीँ प्रवेश
लिएँ।
सो समयको काठमाडौंमा शिक्षाको
ठुलो माग पनि थिएन र संभावना पनि थिएन। काठमाडौंमा दरबार स्कूल, जुद्धोदय स्कूल, पद३मोदय स्कूल र भर्खर
भर्खर मात्रै खुलेको नन्दिरात्री विद्यालय मात्र थिए भने पाटनमा एउटा र भक्तपुरमा
पनि एउटा स्कूल मात्र थिए। पढने मानिस कम थिए र पढाउने ठाउँ पनि कम। शिक्षाप्रति
आकर्षण कम थियो, आकर्षण हुनेले पढ्न पाउने संभावना अझ कम। मेरा नातागोता कोही थिएनन्, न चिने जानेका नै कोही
थिए। घरबाट महिनावारी खर्चका निम्ति बिराटनगरसम्म मानिस पठाएर त्यहाँको
राष्ट्रबैंक शाखाबाट पठाएको ड्राफ्टबाट पैसा लिन पनि सरकारी अधिकारीलाई जमानी
राख्नु पर्थ्यो र मसँग त्यस्तो जमानी राख्ने मानिस नै हुदैनथ्यो।
एक पटक महिनौसम्म पनि आएन। घरबाट
पैसा पठाएको ड्राफट नम्बर पनि आयो तर ड्राफट आएन। खान थिएन, साहुले पत्याउने कुरा पनि थिएन।
वाध्य भएर म राष्ट्रबैंकको केन्द्रिय कार्यालय वसन्तपुर पुगेर खोजी गर्दा त्यो रकम
दुई महिना अगाडि नै भुक्तानी भएको जवाफ दिए।
“मैले त लिएको छैन” — मैले आफनो दलिल राखेँ।
“के गरौँ त हामी? पैसा त लगिसकेको छ।
तिम्रा साथीभाइ कसैले लगेकी?
एकपल्ट त्यही खोजी
गर न।” — कुनै एउटा बुज्रुग
कर्मचारीले सल्लाह दियो।
त्यो त मेरो समाधान थिएन। कहाँ
जाऊँ म मेरो त्यो पैसा खोज्न? मेरो रुनु बाहेक अर्को विकल्प थिएन र त्यही बसेर रुन थालेँ।
मेरो रुवाइ त्यो कार्यालयको हल्लीखल्ली नै भयो। बैँसमा त म ४० केजीको पाँच फुटे मानिस,
त्यो बेला त झन दार्ही
जुँगा पनि राम्रोसँग पलाई नसकेको १६ वर्षे केटे। त्यो बालक झैँ देखिने मानिस रोएको देखेर त्यहीँ बैंकमा
काममा आएका एक सज्जनले माया लागेर वा दिक्क लागेर मलाई हाकिमकहाँ पुर्याएर भने —
“यो केटाको पैसा
हराएछ। तल बसेर धुरुधुरु रोइरहेको रहेछ।”
हाकिमले मेरो कुरा सुने र
सम्बन्धित कर्मचारी बोलाए। सम्बन्धित कर्मचारीले खासखुस गरेपछि हाकिमले भने —
“उसलाई बोलाऊ त।”
बोलाएको मानिस आयो र फेरि केही
बेर खासखास खुसखुस चलेपछि हाकिमले भने — “ल अहिले नै गर। म उसलाई यहीँ रोकी राख्छु।”
हाकिमको आदेशले म त्यहीँ नै
बसिरहेँ र नभन्दै एक घण्टा पनि नबित्दै मैले आफनो रकम पाएँ। कसले के गर्यो
त्योप्रति मलाई चासो भएन। मैले त हराई सकेको पैसा पाएँ, त्यही मेरो अहोभाग्य थियो। खालि यति मात्र भन्न
सक्छु कि मलाई हाकिमकहाँ पुर्याई दरिलै व्यक्तित्व भएको मानिस हुनु पर्छ अन्यथा
हाकिमले भुक्तानी भइसकेको पैसा त्यहीँकोत्यहीँ भुक्तानी दिलाई दिनु पर्ने कुनै
कारण थिएन ।
मेरो पढाइ शुरू भयो। मेरो कक्षा त
दुई महिना अगाडि नै शुरू भई सकेको रहेछ र म मात्र पछाडि परेको रहेछु।
No comments:
Post a Comment