निष्क्रमण
२
धरानदेखि बिराटनगर
घरबाट कहिले पनि लामो यात्रामा नगएको मानिस चार दिनको पैदल यात्राले लखतरान
भएको थिएँ र बिहान पाँच बजे मेरा अभिभावकले उठाउदा उठ्न गाहारो भएको थियो। चिया
खाने चलन थिएन त्यो बेला। त्यसमा पनी हामी गाउँलेहरूमा त त्यस्ता चलन पनि पसेको
थिएन। त्यसैले हामी केही पनि नखाई बजार अड्डा भनिजे बसपार्कतिर
भर्ने तरखरमा लाग्यौँ।
बसपार्कमा हामी आइपुग्दा छ बज्नै लागेको थियो र हामीलाई देख्ने बित्तिकै एउटा
बसको खलासीले हामीलाई पहिलो पटक ससुराली आएको जुवाइँलाई जत्तिकै मान गरी जि.एम.सी. लरीलाई काठको ढाँचा र टिनको छानो हालेर बनाइएको आफ्नो बसमा हुलेर स्थान
देखायो। बसमा अरू एक दुर्इं जना बाहेक हामी मात्रै थियौँ। हाम्रा अभिभावकले बसको
खलासीलाई सोधे — “बस कति खेर हिड्छ?”
यो प्रश्नसँग अभ्यस्त खलासीले भनि हाल्यो — “अब एकै छिनमा हिड्छ। पहिलो यसैको
पालो हो।”
खलासी ओहोर दोहोर गरेर ‘हिँडिहाल्छ, हिडिहाल्छ’ भन्दै यात्रु कोच्न थाल्यो। सिटमा अट्ने सिटमा बसे, नअटेकाले थुपारेका गुन्टामाथि पलेटी कसे। उकुसमुकसर थियो भित्र। बल्लबल्ल आठ
बजेतिर ड्राइभरले आफ्नो सिटमा बसेर खलासीलाई करायो — “ए कान्छा ! गाडी ठेल त।”
खलासी र उसका साथीहरूले गाडी ठेलेपछि धरानको ओेरालो बाटोमा गाडी गुड्यो र ड्राइभरले
गाडी चालु गर्यो। गर्मीले उकुसमुकुस भएका हामीले सन्तोषको सास फेर्यौं।
हिले हिलाम्मे भएको धरान–बिरानगरको त्यो कच्ची बाटोमा गाडी
कछुवाका चालले २।४ मिनट के हिडेको थियो, एक्कासी घ्याच्च खाल्डोमा परेर
रोकियो र इन्जिन बन्द भयो। कसैको गर्धन अररियो, कसैको पुर्पुरो ठोकियो।
“थुइक्क राँडीको छोरो ! झन उता खाल्डो छ भनेर यता काटेको त कत्रो खाल्डो रहेछ।” — ड्राइभरले दार्हा किटेर करायो र खलासीलाई आदेश दियो — “ए कान्छा ! ह्यान्डल मार त ह्यान्डल एक पल्ट।”
कान्छो ह्यान्डल लिएर गयो र प्वालमा घुसारेर इन्जिन घुमाउन थाल्यो।
तराईको भावर, टन्टलापुर असार–साउनको घाममा कान्छाको ५।७ मिनटको अथक प्रयाशले पनि इन्जिन चालु हुन सकेन।
त्यो देखेर ड्राइभरले भन्यो — “अलि जोडले घुमा न। त्यति घुमाउन पनि
सक्दैनस् भने अघि बिहानै घिचाएको के काम लाग्यो?”
खलासी नबोली फेरि घुमाउन लाग्यो। ५।७ मिनट अर्को गयो। एक्सिलरेटर थिचेर बसेको
ड्राइभरलाई झर्को लाग्यो र करायो — “राँडीको छोरो त्यति घुमाउन पनि
सक्दैन।”
खलासी गर्मी, थकाइ र गालीले चुर भएको थियो र ड्राइभरको पछिल्लो गालीले त उसको धैर्यको सीमा
नाघ्यो। उसले ह्यान्डललाई त्यहीँ सडकमा बजारेर किनारा लाग्दै भन्यो — “तेरो बाबुको खप्पर तँ नै घुमा।”
ड्राइभर र खलासीको आफ्नै सम्बन्ध हुन्छ, आफ्नै भाषा हुन्छ। खलासीको सीमा
कति हो? भनेर ड्राइभरले बुझेन भने खलासी रातबिरात, भेकअभेक केही नहेरी हिडि दिन सक्छ।
यस्तो सम्वेदनशिल स्थितिमा ड्राइभरले खलासीको मानविय समस्या बुझदिन सक्नु पर्छ र
हाम्रो ड्राइभरले पनि त्योभन्दा पर गए खलासी चुँडिन सक्छ भन्ने सोचेर नरम स्वरमा
भन्यो — “न रिसा न, कान्छा। न रिसा। ल, यहाँ आएर एक्सिलरेटर थिच, मह्यान्डल मार्छु।”
ड्राइभरले उसलाई आफ्नो स्थान दिएर आफू ह्यान्डल मार्न गएपछि कान्छा रिस
स्वात्तै घट्यो र ऊ गाडीमा बस्यो। ड्राइभरले पनि ५।७ मिनट प्रयाश गर्यो र केही
नचलेपछि ह्यान्डल निकाल्दै साहुमाथि रिस पोख्यो — “राँडीका छोराको खप्पर ! कहिले बनाउने होइन। खालि पैसा मात्र कमाउन खोज्छ अनि के चलोस् यो ठाँडो !”
ड्राइभर खलासीलेेजस्तो फन्किएर गाडी छोड्न सक्दैनथ्यो। त्यसैले उसले ह्यान्डल
थन्क्याउदै यात्रीहरूलाई नरम स्वरमा भन्यो — “खै ! इन्जिन चलेन, हजुर ! अब त नठेली भएन। यो कान्छो ठेल्छ र
यसो हजुरहरूले पनि हात लगाइ दिनु पर्यो।”
हामी लोग्नेमानिस सबै ओर्लिएर गाडी ठेल्न थाल्यौ। गाडी पनि जब्बर नै रहेछ। डेढ
दुई सय मिटर ठेलेपछि मात्रै इन्जिन चालु भयो। कान्छाले पनि टिनमा पानी ल्याएर
गोलटिनको बट्टाले रेडिएटरमा पानी हाल्यो। हिलैहिलो बाटो रङमिङएर हामी फेरि बसमा
चड्यौँ। प्रत्येक ५।१० मिनटको दौडपछि एउटा न एउटा खाल्डोले फेरि उही कथा दाहोर्याइ दिन्थ्यो। पछि त हामी
यति अभ्यस्त भयौँ कि ड्राइभर, खलासीको अनुरोध आउनुभन्दा अगाडि नै
ओर्लिएर गाडी ठेल्न थाल्थ्यौँ। हामीलाई थाहा थियो — बिराटनगर पुग्नु
हामीलाई थियो, ड्राइभर र खलासी त जहीँ पनि बसिदिन सक्थे।
बाटामा पहिलो पटक मैले चिया र समोसा खाएँ। त्यो समोसाले कहिले पनि पिरो नपरेको
मेरो पेटले मलाई दुई दिनसम्म दुख दिई रह्यो। बाटोमा अरू के खाएँ? त्यो सम्झना छैन। जे होस् हामी बाहुनका छोराले भात भने खाएनौँ।
धरानदेखि बिरानगरसम्मको आज बसमा ढिलोमा पनि डेढ घण्टामा पार गर्न सकिने दूरि त्यो समयमा पार गर्न
हामीलाई आठ घण्टा लाग्यो हामी अपरान्ह चार बजेतिर बिराटनगर आइपुग्यौँ। त्यसैले त्यो यात्रा कति
रोमाञ्चकारी थियो होला? अनुमान गर्न सकिन्छ।
No comments:
Post a Comment