बिराटनगरबाट काठमाडौं
२
हामी विरगन्जको
कुनै एउटा होटलमा बस्यौँ। खान त त्यही बासमती चामल, रहरको दाल, बैगन र परवरको तरकारी र त्यसमाथि अलिकति पगालेको वनस्पति घिउ। झण्डै दुई दिन
भात खान नपाएका हामी भातेलाई त्यो भात अमृत नै लाग्यो। खाना खाएपछि त निन्द्राले
पनि छोप्यो र हामी सुत्यौँ।
बिहान उठेपछि
काठमाडौँ केमा जाने? भन्ने प्रश्न खडा भयो तर त्यसमा मसँग कुनै राय लिइएन। लिएकै भए पनि मेरो त्यो बारे
कुनै ज्ञान नभएकाले म राय दिन पनि सक्ने थिइनँ। त्यो बेला त्रिभुवन राजपथ भर्खर
खुलेकाले बस या ट्रकमा काठमाडौँ जान सकिन्थ्यो या विरगंजबाट अमलेखगन्जसम्म रेल, अमलेखगन्जबाट भीमफेदीसम्म मोटरगाडी र भीमफेदीदेखि काठमाडौंसम्म पैदल पुरानै
परम्परा दोहोर्याउन सकिन्थ्यो। मेरा
अभिभावक्कले भिर भिर कुदने गाडीको पक्षमा मन लगाएनन् र हामीले नेपाल सरकारको रेल
समायौँ।
रेल चल्यो तर
रेलको गति साइकलकोभन्दा कुनै गतिलो थिएन। त्यो बेला त भनाइ नै थियो नेपाल सरकारको
रेलमा इन्जिन छेउ बसेको मानिस सुची गर्न ओर्लियो भने सुची सकेर पछिल्लो डब्बामा
चड्न भ्याउछ। त्यही रेल पनि अमलेखगन्ज नजिकको चारकोशे झाडीमा आइपुगेपछि फलामे
लिगबाट खस्यो र यसका दुई डिब्बा बाहिर निस्किए। हामी ओर्लियौँ र के गर्ने? के नगर्ने? रनभुल्लमा पर्यौँ। बीच जंगलको ठाउँ आफूले नचिनेको भेग ! त्यसैले अरू यात्रीको
पछि त लाग्यौँ तर हाम्रो सामान हामीलाई बोझ थियो। एक केन प्रकारेण मोटरको बाटोमा
निकाले पछि एक घण्टा जतिमा गाडी आइपुगे र पहिलो उपलब्ध गाडीमा बसी डेढ घण्टामा हामी भीमफेदी बजार पुग्यौँ।
बडो रमाइलो
थियो भीमफेदी बजार। थोरै घर भए पनि चहलपहल धेरै थियो त्यहाँ। धरानबजारको झैँ
भीमफेदी बजारको पनि आफ्नै महत्व थियो। धरानबजारले पूर्वी पहाडका जिल्लाहरूमा सामान पठाउथ्यो भने
भीमफेदी बजारले काठमाडौं उपत्यका र त्यसका आसपासका जिल्लाहरूमा। त्यसैले भरियाको
चहलपहल त्यहाँ पनि थियो। हाम्रा अभिभावकले एउटा भरियासँग ज्यालाको मोलतोल गरे र
हामी सामान बोकाएर उकालो लाग्यौँ। भीमफेदी गडीमा आएपछि हाम्रो सामानको जाँचपास भयो
र हामी कुलेखानीबजारमा बास बस्न आइपुग्यौ।
“यहाँको माछा नामी छ। माछा खानु
पर्छ यहाँ।” — हाम्रा अभिभावकले निर्णय गरे। नभन्दै माछा मिठै लाग्यो मलाई अथवा सबैले मिठो
भनेकाले मैले पनि मिठै पाएँ हुँला।
बिहानै हामी
कुलेखानीबाट बाटो लाग्यौँ। उकालो चढदै गयौँ र चन्दागिरीको टुप्पोमा पुग्यौँ। त्यो
पाटोबाट यो पाटोमा निस्कने बित्तिकै मलाई साँघुरी भन्ज्याङ नाघेपछि तराईको मैदान
देख्दा जस्तो उत्तेजना आएथ्यो त्यस्तै उत्तेजना आयो काठमाडौ उपत्यका देखेर।
आज चन्द्रागिरी
डाँडाबाट काठमाडौ उपत्यका कस्तो देखिन्छ? त्यो मलाई थाहा छैन तर पानीले
पखालिएर निर्मल र उज्यालो भएको साउनको त्यो दिनमा काठमाडौँ उपत्यका जेम्स हिल्टन (James Hilton) ले बयान गरेको
हराएको क्षितिज (Lost Horizon) को सांग्रीला जस्तै मनमोहक थियो। आकाश यति निलो थियो कि त्यहाँ जुन उदाएको भए
त्यो जुन पनि निलै देखिने थियो होला। गुलाफी टायल र झँगटीले छाएका छानाहरूले
ढाकेको काठमाडौँ सहार गलैचा ओछयाइएको मैदानजस्तो देखिन्थ्यो र त्यहाँको धरहरा
दाइँपछिको रित्तो खलोमा चुनले पोतेको लिङ्गो ठडिए झैँ ठडिएको थियो। वरिपरि हरिया भइ सकेका धानका खेतहरूका बीचको
कान्तिपुर सहर झ्याउले छोपेर हरियो भइसकेको तालका बीचमा रहेको ठुलो टापु जस्तो देखिन्थ्यो र
उपत्यकाका अरू सानाठुला बस्तीहरू त्यो तालमा बसेका त्यस्तै सानाठुला जलगैंडाका हुल
जस्ता देखिन्थे। हामी काठमाडौँ उपत्यका पुग्न लागेकाले हामीलाई कुनै हतारो थिएन र
चन्दागिरीमा निकै लामै समय थकाइ मार्यौँ। त्यसपछि त हामीलाई थानकोट आइपुग्न केही
समय नै लागेन।
जस्तो थियो धरान या जस्तो थियो भीमफेदी त्योभन्दा केही पनि गतिलो थिएन थानकोट
पनि। दोहोरीलता भरियाहरू थिए त्यहाँ पनि। मानिसको ओहोरदोहोर पनि उस्तै थियो फरक
कति मात्र भने धरानबजारमा थोत्रा, मैला लगाउनेहरूको संख्या बढी थियो भने
थानकोटमा सुकिला मुकिलाहरू पर्याप्त थिए। हाम्रै अभिभावकले चन्दागिरीको डाडाबाट
ओर्लनुभन्दा अगाडि आङ्ग134ना सहरिया पोसाक झकेका थिए। मेरो त लगाउने लुगा जुन गाउँमा थियो उपत्यका
आइपुग्दा पनि त्यही नै थियो। राति पनि मैले तिनै लुगा लगाएर सुतेको जस्तो लाग्छ।
जस्तादेखि
पराललेसम्मले छाएका घर भएको थानकोट बजारका घरमा गाडी त थिए तर ती पनि धरानका
जी.एम.सी. लरीभन्दा गतिला थिएनन्। इन्जिनलाई खलासीले नै ह्यान्डल मार्नु पर्थ्यो र
रेडिएटर चिसो पानी बराबर हाल्नु पर्थ्यो। खलासीको कराएर यात्रु बोलाउने र गाडीले
कुराउनु पर्ने चलन त्यहाँ पनि थियो तर जे होस त्यो कुराइ धरानमा जस्तो लामो भएन र
हामी कान्तिपुर हिडयौँ।
गाडीले हामीलाई
टेकु भन्सारमै छोडी दियो कि अलि पर पुर्यायो? त्यो मलाई सम्झना छैन तर
बसस्टपदेखि भने हामीले भरियालाई सामाना बोकाएर हाम्रा बाबुबाजेले डेरा गरी बस्ने
घर डिल्ली बजारमा पुग्यौँ।
No comments:
Post a Comment