काठमाडौँ बसाइको शुरूआत
२
म स्थिर प्रवित्तीको त कहिले पनि भइनँ र त्यसमा पनि
१६।१७ वर्षको उमेरमा त स्थिरताको प्रश्न पनि उठेन। भोलादाइ त समय तालिका अगाडि
राखेर दिनचर्या बिताउथे। उनको प्रत्येक कार्यका निम्ति पूर्वनिर्धारित समय
हुन्थ्यो र उनी त्यो कार्य त्यही समयमा मात्र गर्थे। पढन्तेमा गनिन्थे उनी र
अहोरात्रको दुई तिहाइ भाग उनको अध्ययनमा बित्थ्यो। त्यही परिश्रमले नै उनी त्यो
सालको एस.एल.सी.बोर्डको परिक्षामा छैठौँ स्थान पाए।
भोलादाइ र म त्यो समयका विद्यार्थीहरूका नमुना
थियौँ।
‘श्वान निन्द्रा वको ध्यानं काक चेष्टा तथैव च
अल्पहारी गृहत्यागी विद्यार्थी पंच लक्षणं’
भोलादाइ यो नमुनाभित्र ठयाक्कै पर्थे। घर त छोडेकै
थिए उनले। दुई छाकभन्दा बढी खानु पर्दैनथ्यो उनलाई। उनको निन्द्राले त मलाई आधा
पनि पुग्ने थिएन। एउटा अध्ययनमा उनी डेग नचली घण्टौँ बसिदिन सक्थे। काका चेष्टा
थियो वा थिएन, त्यो मलाई थाहा भएन तर त्यो गुण पनि पक्कै थियो हेिला। यस्ता गुणहरू भएका
विद्यार्थी निकै थिए त्यो बेला र उनीहरू
ठुला विशेषज्ञ र दक्ष पनि बने तर शाशक उनीहरू बनेनन्। बरु उनीहरूका ब्याकबेन्चर
साथीहरूबाट शाशित भए। उनीहरू सधैँ नै सामाजिक, राजनैतिक, धार्मिक नैतिकताको दायराभित्र
बाँधिएर बसे। साथमा पैसा हुदा सिनेमा पिकनिकतिर दौडेर नहुदा भोकै बस्ने युवा
प्रवृत्ति उनीहरूमा उनीहरूमा देखिदैनथ्यो। जिन्दावाद र मुर्दावादको नारा बोकेर
उनीहरू उच्छिङखल विद्यार्थी बनेनन्। उनीहरू सधैँ पशुपति या अरू कुनै मन्दीर
पुग्थे। गायत्री मन्त्र जप नगरी उनीहरूको बिहान शुरू हुन्नथ्यो। दश वर्षको उमेरमा
बिहे भएको थियो भोलादाइको तर वास्तविकतामा
उनी कुमार र व्रह्मचारी नै थिए। उनको दृष्टिमा ‘मातृवत् पर दारेषु’ थियो। भित्री मनका त के
थियो? त्यो
त दैव जानोस्। प्रत्यक्षमा त आफ्ना दौतरी केटी साथीलाई पनि उनले दिदीबहिनीको रूपमा
हेर्थे। घरमा स्वास्नी थन्क्याएर पढाइ गर्न सहरमा जाने त्यस्ता व्राह्मण सुपुत्रहरू
थुप्रै थिए त्यो बेला र आफ्नै ज्येष्ठहरूद्वारा भोगिएकी तरुनी स्वास्नीलाई चोख्याउने सित्तैको कमाइ पनि
कतिपयले बेहोर्नु पर्थ्यो।
मेरो जीवन भोलादाइकोजस्तो पटक्कै थिएन। शुरूआत नै
हाम्रा अलि फरक किसिमबाट भयो। म मेरी आमा र बजैले हुर्काएको मानिस। मेरो उदण्डतामा
अङ्कुश लगाउने लोग्नेमानिस कोही थिएन विधवा आमाबजैलाई त्यो लगाउन सक्ने आँट
नै हुन्नथ्यो। म अरूले बाधी दिएको नैतिक
दायरामा भित्र बस्नुभन्दा आफ्नै दायरा सिर्जना गर्न खोज्थे। प्रत्येक आउने नया
सिनेमा हेर्नै पर्थ्यो मैले। भए चार छाक खान्थेँ, नभए एक छाकमै टुंगिएर बस्थेँ।
नाता नपर्ने दौँतरी केटीप्रति आशक्त हुनु अनैतिक होइन भनि ठान्थेँ म र मेरो
केटीसँगको संगत देखेर भोलादाइ भन्थे — “तिमी त खालि केटीको पछि
लाग्छौ। पढन आएको मानिस रे। पढनु पर्दैन तिमीले?”
यो उनको साँच्चिकै गाली पनि हुन सक्थ्यो या उनको आफ्नो
हीनताबोधको परिणाम पनि अथवा दुबै। एउटा
आशनमा त म एकैछिन बस्न सक्दिनथेँ। मेरो पढाइको आफ्नै तरिका थियो। कुनै विषयलाई
एउटै ठाउँमा बसेर कण्ठस्थ गर्नुभन्दा सो विषयलाई लिएर कहीँ एक्लै फुर्सदको बेला
त्यसको चित्रण गर्नु, केलाउनु प्रश्न गर्नु, समाधान निकाल्नेजस्ता काल्पनिक अभ्यास गर्थे म। अथवा
दिवास्वप्नलाई पढाएको माध्यम बनाएको थिएँ मैले।
म आएको वर्ष दिन पनि नबित्दै भोलादाइको एस.एल.सी.को
परिणाम निस्कियो र उनी बी.एस्सी. एग्रिकल्चर पढ्न भारत गए। त्यसको दुई वर्षपछि छट्टिको समयमा पहाड घर गएका उनको
त्यहीँ आउँको बेथाले बिनाउपचार मृत्यु भयो। थुप्रै तन्देरी मरे सो समयमा हाम्रो
गाउँमा। औषधी, उपचारको अभावमा कहिले पखालाले, कहिले आउँले, कहिले सन्निपातले, कहिले ठाइफाइड मर्ने कुरा
सामान्य थियो त्यो बेला। हैजाले, माइप्रकोप आदि महामारीले त गाउँ नै सखाप पार्थ्यो कहिले
कहीँ।
No comments:
Post a Comment