काठमाडौँ बसाइको शुरूआत
१
वीस फुट लम्बाइ र आठ फुट चौडाइको कोठामा ६।७ जना गुजारा गर्थ्यौ हामीहरू र यही
कोठा नै मेरो काठमाडौं बसाइको थालनी हो। आधा शताब्दि पछि त्यो बसाइको घर भत्कियो, नत्र त त्यो घरले मेरो काठमाडौं बसाइको प्रतिनिधित्व गरी नै रहेको थियो र मेरो
त्यो अतितलाई जीवन्त राखेको थियो। हाम्रो त्यो डेरामा नाताका बाजे, बाबु, दाजुहरूको समूहमा म फेरि पनि उमेरले पनि र नाताले पनि कान्छो थिएँ। दिउँसो त
हाम्रो डेरामा भिनाजुहरू आउँथे, मामाहरू आउँथे, जेठानहरू आउँथे र अझ ससुरा पनि आई पुग्थे। मुूद्दामामिला, पढाइलेखाइ आदिका निम्ति जम्मा भएका थिए ती सबै। दिउसो टुँडिखेलको उत्तर र
रानीपोखरीको दक्षिणमा रहेको प्रधान न्यायालयका अगाडि चौरमा बदाम छोडयाएर घाम
ताप्दै गफ गर्ने मेरा स्वजनहरूको जमात देख्दा मलाई लागेथ्यो — ‘हाम्रो जमात ठुलै छ।’ तर पछि थाहा पाएँ — त्यो जमातको सहयोग गर्ने सामर्थ्य उनीहरूको त्यो सुदूर गाउँमा सीमित रहेछ।
काठमाडौंमा त उनीहरू आफै नै हामीहरूजस्तै निरिह र असहाय थिए। त्यसैले काठमाडौंको
मेरो बसाइ सम्पन्नताबाट शुरू भएको होइन।
मैले जान्न थाल्दा हाम्रो पहाड भेकमा काठमाडौंलाई ‘नेपाल’ भन्ने चलन थियो र मेरी हजुरआमा पनि विक्रम संवत २००४ सालतिर नेपाल आएकी
थिइन्। दश वर्षपछि म आउदा त्यो बजैको नेपाल काठमाडौं बनिसकेको थियो र नेपाल भने
पिँ्कजिएर मेचीदेखि महाकालीसम्म फैलिएको थियो। त्यसैले मैले जहिले पनि काठमाडौंलाई, नेपाल होइन, काठमाडौंको परिभाषामा बुझेको छु।
बसाइको दृष्टिकोणले काठमाडौं तीन भागमा विभाजित थियो। सहर भनिने भाग
टुँडिखेलदेखि पश्चिम र विष्णुमतीदेखि पूर्वमा सीमित थियो र त्यो सीमाभित्र बस्नेले
त्यहाँभन्दा बाहिर बस्नेहरूलाई ‘पाखे’ भनि नहाले पनि गाउँले
त पक्कै ठान्थे। बजार भनिने भाग त सहरबाट देवस्थल, दरबार जाने बाटाहरूमा
बसेका बागबजार, पुतलीसडक, डिल्लीबजार, नक्साल, बानेश्वर, देउपाटन, महाराजगन्ज, बालाजुजस्ता सडकसँग जोडिएर बसेका घरहरूको समूहलाई भनिन्थ्यो। भैमाल, नैकाप, मटार या जोरपाटीजस्ता ठाउँलाई त यसै पनि काँठ भनिन्थ्यो भने तथाकथित बजारका
छेउछाउमा बसेका पर्वते बस्तीहरूलाई पनि सहरियाहरूले काँठभन्दा बढी ठान्दैनथे।
आफूलाई सहर नै ठाने पनि काठमाडौ आफैको आधुनिक सहरको कुनै रूपरंग थिएन। सहरमा
मोहीबाट ठेग लिएर खाने प्रशस्त थिए र वर्षभरिको दालचामल जोहो गर्ने चलन थियो।
सम्भव भएसम्म मानिस दिशा,
सूची पाखामा नै खोज्थे। त्यसैले बिहान वागमती, विष्णुमतीजस्ता नदी किनाराहरूमा बिहानै दिशा, सुची गर्नेहरूको लाइन
बसेको देखिन्थ्यो। जहाँ पाखा जान सम्भव थिएन ती ठाउँमा घरको छिँडीको एउटा कुनामा
या धरबाहिर एउटा छेउमा सानो छाप्रोभित्र टिन राखेर त्यो समस्या समाधान गरिन्थ्यो र
भरिएको टिन च्यामेहरूले आएर खाली गराउथे। राजधानीमा मानव बल वाहेक ढुवानीका कुनै
साधन थिएनन्। चामलका बोरा बोकेका ठिमीलेहरू, खर्पनमा तरकारी र दहीका कतारा
बोकेका या ढुंग्रामा दुध लिएर आएका काँठेहरूको लस्कर चारैतिरबाट सहरतिर पस्दथ्यो।
अलिअलि देखिन्थे गाडीहरू र त्यो पनि त्रिभुवन राजपथले भित्र्याए सँस्कृतिको थालनी
थियो। निजी पानीधारा छँदै थिएनन् र भए पनि दरबार र दरबारसँग सम्बन्धित मानिसहरूसँग
मात्र थिए। सार्वजनिक धारा त थिए तर चोकमा हुने ती सार्वजनिक धारमा पानी कम
आउथ्यो। त्यहाँ रातिदेखि नै लामो लाइन हुन्थ्यो र पानीको निम्ति पँधेनीहरूको
लुछाचुँडी दैनिक दिनचर्या थियो। ती धारामा लगौटी लगाएर नुहाउने १।२ जना बहादुरले
मात्र पालो पाउन सक्थे। हामी त टाडाटाडाका ढुंगेधारामा गएर नुहाउथ्यौ। कति पटक त
नुहाउनका निम्ति हामी डिल्लीबजारदेखि बालाजु बाइसधारासम्म पनि पुगेका थियौं।
दरबारका लागि स्थापित बिजुलीबत्ती २००७ सालको परिवर्तनले सर्वसाधारणसम्म पुर्याइए
पनि त्यो बिजुलीबत्ती स्वयम नै राति टुकी बालेर खोज्नु पर्ने हुन्थ्यो।
केही महिना हाम्रो
कोठामा भिडभाड थियो सुत्नै पनि ठाउँ खोज्नु पर्ने तर मादीबिर्ताको अंशमुद्दा फेरि
शुरू अदालतमा पठाइएपछि भने हाम्रा बाबुबाजे सबै नै घर फर्किए र कोठामा
भोलादाइ(भोलानाथ दाहाल, मेरा माहिला बडाबाका छोरा) र म मात्र रह्यौं।
No comments:
Post a Comment