महानगरको एक रात
—— राम दाहाल
रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु
पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा
देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसोपनमा अझै मात्रा थपिदिएको थियो। टोलका
भुस्याहा कुकुर छिडी, कोप्चो अन्तर
कन्तरमा लुक्न पुगिसके पनि कहींकहींबाट अल्छि पाराको भुक्क, भुक्क भने सुनिंदै थियो। हावा थिएन, त्यसैले तापको चिसोपन त कम
नै थियो तापनि वातावरणको गर्हुँगोपन भने सडकमै ओछ्याइए जस्तो लाग्थ्यो। यही आर्द्र र भारी सडकको छातीमा आङ्गफ्ना जुत्ताको डाम छोड्दै माधवी छिटो चालले पाइला
चालिरहेकी थिई। महानगर भन्दा पनि बत्ती बालेर सडक ओछ्याइएको गाउँ जस्तो निर्जीव र
निस्तेज काठमाडौं जो उसको जन्म थलो थियो, उसको कामकाजको थलो
थियो र यसलाई जति नै मन नपराए पनि छोडेर जान सक्दिनथी ऊ।
आज झमक्क साँझ परे देखि नै
माधवीलाई आफ्नो घर छोड्न मन थिएन र उसले शृङ्गार पनि गरेकी थिइन। आज दिन धेरै उज्यालो थियो र पछिल्लो प्रहर झ्यालको डण्डी समाएर वाहिर मानिसको सिलिङमिलिङ ओहोरदोहोर हेर्दै बिताएकी थिई। त्यस्तो भिडमा उसलाई जहिले पनि विरक्त लाग्दथ्यो र
मानिसको हुलमा हिंड्नु पर्दा ऊ पाइलै पिच्छे तर्सन्थी। साँझ पर्दै गएपछि भने
मानिसको चहलपहल सेलाउँदै गयो र झमक्क साँझ पर्दा त फाट्टफुट्ट मात्र मानिस देखा
परेथे। यसरी मानिस हतार हतार आफ्नो ओसारोमा घुसेको देखेर अचम्म लागेथ्यो उसलाई।
किन ? किन ? माधवीलाई लागेथ्यो – ‘ कोही त आउनु पर्ने हो। को ? थाहा छैन उसलाई। प्रतिक्षा त एउटा चाहनाको अनुभूती मात्र थियो। मनको भित्री
कुनामा एउटा सजीव मूर्ति आउनु पर्ने आभाष हुन्थ्यो तर त्यो मूर्तिको रूप आँखासम्म
आएर अड्किएको थियो। यस्तो हुन्थ्यो उसलाई यदाकदा । चारुमतिको फोन आउँदा माधवी सोफामा लम्पसार परेकी थिई र घन्टी सुनेर सोफाबाट हात
तन्काएर रिसिभर उठाउँदै अल्छि पाराले भनेकी थिई – “माधवी हेयर !"
उसको स्वर सुनेर चारुमतिले भनी
– “तँ तुरुन्त तयार भएर यहाँ आइज त। यहीं म कहाँ ।”
माधवीले आलस्य भरिएको स्वरले
भनी – “आज मलाई केही गर्न मन नै छैन ।”
“त्यसो भन्नै मिलेन, माधवी। ग्राहक आज अलि बढी नै छन्, त्यसमा पनि सेवा अस्विकार गर्नै नमिल्ने ग्राहकहरू। बरु यसो गरुँला। तँ पार्टटाइम गर, फूलटाइम अरूलाई दिउँला ।” – चारुमतीले सुझाव राखी।
पेशा आखिर पेशै ठहर्यो ढाडै
अस्विकार गर्न नमिल्ने। आपसी सहयोग अत्यावश्यक थियो। त्यसैले उसले चारुमतीको
प्रस्ताव अस्विकार गर्न नसकेर हतारहतार सिंगार गरेर घरवाट निस्किएकी थिई।
·
* *
* *
माधवीका अभ्यस्त कानले कहींवाट
आएका पदचाप सुने। निशाचर भएपछि रातमा निस्कने कुनै आवाजलाई सुनेर छुट्याउन पर्ने
हुनाले प्रत्येक पदचापलाई सुनेर पनि चिन्न सक्नु पर्थ्यो। मानिसका पदचापसँग माधवी
सधैं सशंकित हुन्थी त्यसमा पनि प्रहरीका पदचाप सँग। प्रत्येक निशाचरका आतङ्क पनि यिनै पदचापहरू हुन्छन् ।
आफ्ना पछाडी प्रहरी पछ्याइरहेको छ भन्ने बुझे पछि माधवीले आफ्नो पाइला अझ छिटोछिटो बढाई।
उसलाई थाहा थियो – ‘केही समय पछि नै उनीहरूको बीचको दूरी क्रमश घट्दै गएर मेटिने छ तर त्यो समयलाई जति लम्ब्याउन सक्थी
त्यती नै उसको उम्कन सक्ने सम्भावना बढ्न सक्थ्यो।
पहिलो पटक ऊ अनुभव नहुनाको कारणले
प्रहरीको हातमा परेकी थिई।
अज्ञात व्यत्तिहरूद्वारा जिस्क्याइएकी र लखेटिएकीले ऊ शरण लिन प्रहरीकहाँ पुगेकी थिई। उसलाई देख्ने
वित्तिकै पहिलो प्रहरीले भनेथ्यो – “के पर्यो, बहिनी, यो राती ?"
माधवी यस्ता प्रश्नको निम्ति
तयार थिइन। ऊ त असिना पर्दा नजिकैको ओतमा लुक्न पुगेकी थिई र त्यहाँ प्रश्न हुन सक्छन् भन्ने सोचेकी पनि थिइन।
“को हो, ए माने ?” – कसैले भित्रवाट प्रश्न गरेथ्यो।
“अरू को हुन्छ होला र, साप, यो मध्य रातमा ? उही त होला नि ।” – मानेको भनाइमा व्यंग्यात्मक
मुस्कुराहट थियो।
त्यसपछिको केरकार, अश्लिल शब्द र त्यसपछिको अनुभव स्वयम् एउटा कथा थियो। त्यो अनुभव दोहोर्याउन
नचाहे पनि फेरी एक पटक गल्तीले र अर्को पटक दुर्भाग्यले प्रहरी पन्जामा परेकी थिई।
अहिले ऊ बच्न चाहन्थी र त्यो कुरा भाग्यमा निर्भर थियो। त्यो भाग्यलाई ऊ आफ्नो पक्षमा
ल्याउन चाहन्थी।
पदचाप वढ्दे क्रमश नजिक हुदै आइरहेका थिए। माधवीले चारैतिर कान लगाई। कहीं
कोही बराबराइरहेको थियो।
“राधा पियारी, भनेको मान्दिनौ, राधा पियारी ।”
माधवीले सोची ऊ वचावटको ढाल
बन्न सक्थ्यो। ऊ छिटो छिटो पाइला चालेर उसको नजिक पुगी। जँड्याहा बत्तीको खम्बालाई
अँगालो मारेर भट्याइरहेको थियो।
“सत्ते, गाली नगरन। आज साथी भाइले
खाऊँ न भनिहालेर पो त, नत्र म खाने नै
थिइनँ”
माधवीले उसलाई घच्घच्याएर भनी – “हिंड, हिंड, घर हिंड। कति घिच्नु परेको ? आधा रातसम्म यसरी बस्नु हुन्छ ?”
एकाएक प्रत्यक्षमा स्वास्नी
अगाडि उभिएकी देखेर जँड्याहा जिल्लियो, तर्सियो र विनित भावमा भन्न थाल्यो – “हेर न, राधा। अव त सत्ते खान्न नि।
तेरो मासु खाने खान्न ।”
माधवीले राधाको नक्कल गर्दै
भनी – “मुखले त कहिले पो किरिया हाल्दैनौ र ? कामले सधैं घिचेकै छौ ।”
जँड्याहालाई एक काँधतिर भर
दिएर माधवीले उठाउन खोजी र जँड्याहा लरबरिंदै उठ्यो। जड्याहा भारी थियो निकै भारी
तर त्यो भार उठाउन माधवी तयार थिई।
“तलव पा’को कि अनि पो यस्तो भयो त ।” – उसको स्वरमा क्षमायाचना थियो।
पदचापहरू नजिक आईपुगे। एउटा स्वर सुनियो।
“ए ! को हँ तिमीहरू यो आधी रातमा ?”
माधवीले एउटी गृहिणीको नकल गर्दै भनी – “मेरा जहान, सा’प। अलि बढी खाएछन् आज। घर लिएर जानलागेकी।
“कहाँबाट आएका त यो आधी रातमा ?”
“हिड्दै ढिलो भयो, सा’प। फेरि फलामे ढिको जस्ता गर्हौँ छन् यी ।” – माधवीले कति पनि
नआत्तिई जवाफ दिई। समय र वाध्यताले उसलाई परिपक्व बनाएको थियो।
“के घिसार्छेस् त यो मोरालाई ? बैंस त छ त अझै ।” – एउटाले व्यंग्य
कस्यो।
“के गर्नु, हजुर ? घरका दुईटा छाउराका निम्ति पनि घिसार्नै परेको छ ।” – माधवीले वाध्यता देखाई।
जड्याहाको आधा नसा प्रहरीको उपस्थितिले नै हराई सकेको थियो तापनि मरेको मुर्दा झैं भएर माधवीको
काँधमा अडेस लागेको थियो। कति पटक भोगिसकेको चिसो छिँडी फेरि भोग्न उसलाई रहर थिएन। माधवी स्वास्नी
होइन भन्ने निश्चित भए
पनि त्यसलाई स्विकार गर्न श्रेय ठानेर ऊ मौन थियो।
“त्यो जँड्याहाकी स्वास्नीलाई के केरकार गर्छस्, ए हस्ते ? बरु त्यो अघिकी माल कता
लागी सोध् न ।” – हस्तेको साहेबले भन्यो।
“एउटी आइमाई यता लागेकी थिई । कता गई, हँ ? देखिस् तैंले?” –हस्तेले माधवीलाई सोध्यो।
“यी घोक्रो फुटुन्जेल कराउदै थिए म सँग । कोही आए गएको थाहा पाईनँ, सा’प। यो फलामे ढिको बोकेको
बेला त बरियातै गएको पनि के थाहा हुन्छ र ?” –माधवीले दुखेशो पोखी।
“पुर्याई दिऊँ त यसलाई हामी ?” – एउटाले ठट्टा गर्यो।
“भै हाल्यो । सा’पहरूलाई किन दुख ? यहाँसम्म घिसारें भने अब त
कति नै छ र ? फेरि जिन्दगी भर घिसार्नु पर्नेले यति दुख के दुख मान्नु ?” – माधवीले कृत्रिम पीर व्यक्त गरी।
प्रहरी पदचापहरू हट्न शुरू गरे। अघि मरेजस्तो गरेर चलमलाउन छोडेको जँड्याहा बिम्तदै गयो र नजानिदो
किसिमले माधवीको शरिरसँग खेल्न थाल्यो। माधवीले कुनै आपत्ति गरिन। त्यो शरिर भनिने
काँचो मासु एउटाले आधारातसम्म मोल तिरेर लुछेको थियो र त्या मासु सित्तै खान खोज्ने एक हुललाई एक छिन अघि मात्रै शब्द र अभिनय जालले पन्साएर पठाएकी थिई। अघि
भर्खरै मात्र लुछिएको जुठो सिनोलाई एउटा लोभी श्यालले मौका पाएर चाटदैमा उसलाई के
आपत्ति हुन सक्थ्यो र ? त्यसलाई त ऊ जहिले पनि पन्साउन सक्थी तर अहिले नै पन्साउन चाहन्नथी किनकि उसको
अँगालोमा बाँधिएर एकछिन उसकी स्वास्नी बनिदिदा ऊ अरूबाट सुरक्षित थिई।
जँड्याहा माधवी सँग डोहोरिदै गयो।
“राधा पियारी, भनेको मानिनौ, राधा पियारी ।”
माधवीको घर आई पुग्न अब धेरै टाडा थिएन। प्रहरी पनि बिलाइसकेका थिए तर जँड्याहाको हातपात भने
बढ्दै गइरहेको थियो। त्यो देखेर माधवीले मनमनै हाँस्दै भनी – “ए , के गरेको ? बोलाइदिऊँ प्रहरी ?”
जँड्याहा अलिकति
हच्कियो तैपनि भन्दै थियो– “तिमी, राधा पियारी ।”
माधवीले दह्रो स्वरमा भनी – “जाँड खाएर जो भेट्यो
त्यसैलाई राधापियारी भन्दै हिड्ने ? जुत्ताले बजाउछु थाप्लोमा अनि ।”
“तिमीले अघि स्वास्नी भनेको होइन ?” – जड्याहाले सुरका कुरा गर्यो।
“लौ। हिड्नै सकिनँ भन्यो भनेर यहाँसम्म लिएर आइदिएँ त झन् उल्टै मलाई नै स्वास्नी भन्ने ? बोलाऊँ मेरा टोलका केटाहरूलाई ?” – माधवीले पर सरेर धम्क्याई।
आधी नसा छुटेको जँड्याहा ‘कस्ता कस्ता हुन्छन् आइमाई पनि ?’ भन्दै धरफरिदै आफ्नो बाटो लाग्यो। माधवी एक्लै हाँस्दै घरको मूलढोका भित्र
पसी र आफ्नो कोठाको साँचो खोल्न थाली। उसको ढोका बजेको सुनेर घरबूढीले सोधिन्– “आज किन चाँडै त, नानी ?”
“पेट दुखेकोले छुट्टी लिएर आएकी, आमा। आज जान मन नै थिएन। अफिसबाट फोन आयो र मात्रै गएकी ।” – माधवीले जवाफ दिई।
“खै ! भनेको मान्नुहुन्न
रातिको डिप्टी नगर्नोस् भन्दा। राति काम गर्दा त जिउ पो बिग्रन्छ त ।” –बुढीले आफ्नो राय प्रकट गरिन्।
माधवीले जवाफ दिइन। बुढिया फेरि निदाइन्। माधवी पनि ओछ्यानमा गएर पल्टिई। सहर
मरे जस्तै सुनसान थियो। रात क्रमश छिप्पिदै गयो।
बिराटनगर
२०५०।२।३२
No comments:
Post a Comment