साम्यवादी
विचारयात्रा
n
रामप्रसाद दाहाल
एउटा नक्सा बोकेर
हिडेको मानिस लक्ष ताकेर एउटा बाटोमा हिडे पनि चाहेको ठाउँमा पुग्छ भन्ने केही छैन
। पहिलो, उसको त्यो नक्सा ऊ हिडेको समयसँग कति तादाम्य राख्छ ? त्यसमा भर पर्छ ।
त्यो नक्सा कुन कालमा बनाइएको थियो ? त्यो मुद्दा प्रमूख हो । त्यो कालमा त्यो बाटो
हुन, नहुन दुवै सक्छ । बाटो थियो भने पनि त्यो बाटोमा जोडिन आउने या त्यो बाटोबाट
हाँगा फाटेर जाने अरू बाटाहरू थिए वा थिएनन्, त्यसमा पनि भर पर्छ । दोश्रो, समयको
परिवर्तनसँगै नक्सामा भएको स्थानको भौतिक र मानसिक परिवर्तनले पनि उसको गन्तव्यलाई
असर गर्दछ । लक्षतिर बढ्दा नक्सामा नभएको नहर, कुलो बनेछ या खोलो फर्केको हुन सक्छ
या यस्तै अरू केही सुविधा या अवरोश सिर्जना हुन पनि त सक्छ । तेश्रो, नकसा नै गलत
समाइएको त छैन ? कोही पनि त्यो लक्षमा नपुगेकोमा त त्यो नक्सा नै गलत खिचिएको हुन
सक्ने संभावना पनि त्यत्तिकै हुन सक्छ । चौथो, कथम् कदाचित त्यो बाटो सही नै रहेछ
भने पनि कोही पनि प्रवेश नगरिएको लक्षमा प्रवेश गर्ने नै कहाँबाट र कसरी ? यो
प्रश्न पनि उठी नै हाल्छ । अर्थात् एउटा नक्सा समाएर नजानेको लक्षतिर बढ्दा त्यो
लक्षमा पुग्न नसकिने संभावनाहरू थुप्रै हुदा रहेछन् । मार्गचित्र नै छैन भने त झन्
मानिसको के हालत होला ?
सिद्धान्त पनि
परिक्षण नगरिएको नक्साजस्तै हो । पृथ्वी गोलो छ भन्ने सिद्धान्त जहाजीहरूले
त्यसलाई परिक्रमा गरेपछि मात्रै प्रमाणित भयो । आइन्स्टाइनको सापेक्षवादको
सिद्धान्त प्रमाणित हुन २० वर्ष कुर्नु पर्यो । यी त शुद्ध प्राविधिक र वैज्ञानिक
कुराहरू भए । कतिपय स्थितिमा त प्रस्तुत गरिएका वैज्ञानिक र प्राविधिक सिद्धान्त
पनि प्रयोगमा प्रमाणित हुन नसकेर बिलाएर गए । उदाहरणको निम्ति, पुराना
अलकेमिस्टहरूद्वारा थालिएका सुन बनाउने सिद्धान्तहरू प्रयोगमा प्रमाणित हुन नसकेर
नै हराएका हुन् । चञ्चल मानव मस्तिष्कसँग प्रत्यक्ष संलग्न मानव समाजको
परिवर्तनलाई यसको वैज्ञानिक आधार यो हो भनेर किटेर भन्ने कुरा त झन् गाहारो हो र
यो प्रमाणित गर्न त झन् असम्भव जस्तै छ तापनि कार्ल मार्क्सले त जर्मन दार्शनिक
हेगलको द्वन्दवादी दर्शनसिद्धान्तलाई समाएर समाजको परिवर्तन भौतिक द्वन्दवाद सिद्धान्त
अनुरूप हुन्छ भनेर ठोकुवा गरिदिए । उदाहरणको निम्ति, उनले मानव सभ्यताका
विकासक्रममा बढी विकसित उत्पादनविधिबाट अल्पविकसित उत्पादनविधि प्रतिस्थापनको
उदाहरणहरू प्रस्तुत गरे र त्यसलाई वर्गसंघर्षको परिणाम घोषणा गरे । अझ अगाडि बढेर
उनले इतिहासमा सबैभन्दापछि आएको औद्योगिक उत्पादनविधिका श्रमिकहरूको अधिनायकत्वमा
साम्यवाद स्थापना भएपछि वर्गसंघर्ष अन्त्य हुने द्वन्दवादको वैज्ञानिक घोषणा पनि गरिदिए
र यही आधारमा सोभियत संघ स्थापना भयो ।
‘सबैलाई आवश्यकता
अनुसार, सबैबाट सामर्थ्य अनुसार’ को सिद्धान्तमा आधारित साम्यवाद एउटा लक्ष थियो र
सर्वहाराको अधिनायकबाद त्यहाँ पुर्याउने माध्यम । त्यो माध्यमलाई बाटो सजिलो बनाई
दिन सोभियत संघमा एकै रातमा सबैलाई सर्वहारा बनाइयो । तैपनि सोभियर संघ गएन
साम्यवादमा । उसले मिठो वा पिठोले आफ्ना नागरिकको पशुजन्य आवश्यकता पूर्ति गर्न त
सक्यो तर सबै मानिसका मानवजन्य आवश्यकता पूर्ति गर्नेतिर उसले बाटो नै पाएन र
प्रतिस्पर्धात्मक उद्योगको बाटो नै रोकियो । अन्तत करोडौको बलऊ राज्य
पूँजिवादभन्दा पर जान सकेन ।
काल्पनिक चित्रजस्तो
एउटा लक्ष त मार्क्सले दिए र त्यहाँ जानका निम्ति साधन पनि औँल्याई दिए तर उनले तय
गर्नु पर्ने बाटोको मार्गचित्र दिएनन् । त्यसैले, अरू त अरू, साम्यवादीहरूले त्यो
स्वर्गमा पुग्न तर्नु पर्ने वैतरणी पनि फेला पार्न सकेनन्, पारी तर्ने डुंगाको त
कुरै छोडी दिऊँ । उनीहरूसँग कोही पनि नपुगेको साम्यवादको काल्पनिक चित्र त थियो ।
त्यहाँ अपराध, न्याय, दण्डसजाय केहीको पनि कल्पना थिएन । न त्यहाँ राज्यको
उपस्थिति नै हुन सक्थ्यो । स्वर्गसमान हुने थीयो त्यो समाज आफसेआफ सबै चल्ने । सबै
काल्पनिक चित्र । मार्गचित्र नभएपछि सर्वहारा भनिने शाशकको आज्ञाभन्दा फरक विचार
राख्ने सबै प्रतिगामी, सबै जनविरोधि । ट्रस्की मारिए त्यसैले । ल्यु साओ ची जेलमै
सडे । स्तालिन बदनाम भए । मार्सल चु तेह पनि छोडिएनन् । जहाँ अधिनायकवाद थिएन
त्यहाँ नेता पिच्छे नै दल बने । साम्यवादी दलहरू टुट्नुको मूल कारण नै अन्धाहरूले
बाटो पहिल्याएजस्तै हो । जो जता हिड्यो त्यही बाटो ठिक, अरू सबै गलत । नेपाल पनि
अपवाद होइन र यस्तै कथा दोहोरी रहेछ यहाँ पनि । १५००० नागरिकको हत्यापछि एनेकपा
माओवादी आजको स्थानमा आई पुग्नु साम्यवादतिरको मार्गचित्रको अभावको कारणले नै हो ।
कसरी जाने ? को त कुरै छोडी दिऊँ, कहाँ जाने ? भन्ने नै अति भ्रमपूर्ण र मनोगतवादी
छ । प्राव्दा गलत लेख्दैन भनिन्थ्यो सोभियत संघमा । अध्यक्ष माओ गलत हुदैनन् भन्ने
उक्ति थियो चिनमा र हेडक्वार्टर प्रचण्ड गलत गर्दैनन् भन्ने मान्यता थियो नेपाली माओवादीमा
पनि तर ती सही ठहरेनन् । कारण, लक्षको ज्ञान र मार्गचित्र बिनाको यात्राले कही पनि
पुर्याउदैन र पुरानो यात्रीले यो बुझेर मार्गचित्र समायो भने अर्को यात्रीले
त्यही पुरानो सिद्धान्त समाएर अदृश्य यात्रा शुरू गर्न थाल्दछ । मोहन वैद्यको
माओवादीको यात्रा त्यतै तिरको हो ।
No comments:
Post a Comment