मस्कोमा विद्यार्थी
राजनीति
(मेरो जीवन यात्रा आत्मवृत्तान्तबाट लिइएको)
-- रामप्रसाद दाहाल
इस्वी सम्वत् ६० को
दशक नेपालमा राजा र दलहरू बीचको संघर्ष थियो । नेपाली कांग्रेस त अराष्ट्रिय
तत्वमा दर्ता भएकै थियो तर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष डा.केशरजंग रायमाझी
नै राजाप्रति नरम देखिएकाले कम्युनिष्टहरूप्रति राजावादीहरू नेपाली कांग्रेसतिर
जति आक्रामक थिएनन् र देशभित्र नै पनि कम्युनिष्टका राजनैतिक बाहेक अरू गतिविधि
चली नै रहन्थे । त्यसैले देशमा त्रिकोणात्मक राजनैतिक स्थिति थियो । एकातिर
सत्ताको हालिमुहालीमा बसेर राजावादी डा.तुलशी गिरी, विश्वबन्धु थापा, सुर्यबहादुर
थापा, होमबहादुर श्रेष्ठका द्वयबन्धु, हेमबहादुर मल्ल, खड्गमान सिंह आदिको
नेतृत्वमा राजावादी पंच समूह अराष्ट्रिय तत्वको नाममा कांग्रेस निमिट्यान्न पार्ने
प्रयासमा थिए त कांग्रेसीहरू कोही जेलमा कोचिएका थिए, कोही विदेशिएका थिए त कोही
एकदम निष्क्रिय भएर आफूलाई लुकाई रहेका थिए । तेश्रो कोणमा बसेका केशरजंग पक्षका
कम्युनिष्टहरूका लागि स्थिति कांग्रेसकोभन्दा सुविधाजनक थियो ।
नेपाल अधिराज्यको राजनैतिक
हावा सोभियत संघका नेपाली विद्यार्थीसम्म पनि पुगेको थियो । सोभियत संघको
छात्रवृत्तीको विद्यार्थी छनौट भिन्न भिन्न थिए । एक थरी शिक्षामंत्रालयको खुला प्रतियोगितामा
आइ.एस्सी. पास गरेका मध्येबाट गुणस्तरका आधारमा छानिन्थे । दोश्रा थरी राजदरबारको
सिफारिसमा छानिएर आउँथे या सरकारी सेवामा काम गरी रहेकालाई सरकारले पठाउथ्यो । छनौटको
तेश्रो माध्यम तात्कालिन नेपाल कम्यिनिष्ट पार्टीको सिफारिस हुन्थ्यो । पहिलो माध्यमबाट
जानेका निम्ति आइ.एस्सी पास गर्नु अनिवार्य थियो भने दोश्रो र तेश्रो माध्यमबाट
जानेले एस.एल.सी. मात्रै पास गरेको भए पनि हुन्थ्यो । साठीको दशकमा यी तीन किसिमका
नेपाली विद्यार्थीहरूको जमघट थियो सोभियत संघमा । त्यसैले छनौट अनुसारको आचरण र
वफादारी देखाउन वाध्य हुन्थे विद्यार्थी । दुई देशका पार्टी बीच अन्तरसम्बन्ध हुने
नै भएकाले शिक्षक र महाविद्यालयका तर्फबाट विद्यार्थी बीच कुनै भेदभाव नगरिए पनि
महाविद्यालयका दलिय अंगहरूबाट दलगत विदेशी मित्रहरूप्रति विशेष सहानुभूति अवश्य नै
हुन्थ्यो । दोश्रो माध्यमबाट आएकाहरुले मस्को स्थित नेपाली दूतावासको विशेष निगाह
पाएका हुन्थे । यी दुवै समूहको यो वा ऊ राजनीतिसँग सम्बन्ध हुन्थ्यो ।
प्रतियोगितबाट आएको पहिलो समूह भने राजनीतिसँग चासो नराख्ने पडक्कडहरूको समूह थियो
र उनीहरूलाई यो वा ऊ राजनीतिका धारले आफूतिर तान्ने प्रयाश गर्थे र जो तटस्थ बस्न
खोज्थ्यो एक थरीले उसलाई राजदूतावासको सुराकी राजावादीको आरोप लगाउथे त अर्का
थरीले अराष्ट्रियतत्व कांग्रेसी ।
सोभियत संघ पुगेको
पहिलो वर्ष भाषाशिक्षणको अवधिभर हामी मस्कोको अटोमोबाइल एण्ड रोड इन्स्टिच्युटको
छात्रावासमा बस्थ्यौँ । सरकारी कोटाबाट आएका हामीभन्दा वरिष्ठ अरुण ढुंगाना पनि
त्यही छात्रावासमा बस्थे । सरकारी कोटाबाट आएकाले घरमा बालबच्चा हुने उनले सरकारको
पक्ष लिनु अस्वाभाविक थिएन । कुन विषयमा हो उनी आरोपित भए तर आरोप झुठा थियो ।
मेरै सामु कुरा भएकोले त्यो कुर आरोप मात्रै हो भन्ने म जान्दथेँ र विद्यार्थी
संघको साधारण सभामा उनको पक्षबाट मैले पनि कुरा सामु राखिदिएँ । परिणाम जे भए पनि
निलाम्बर आचार्यको सैद्धान्तिक विचारसमूहले मलाई राजावादीको समूहमा लगेर गाँसी
दियो । हुन सक्छ – म राजावादी हुँ भनी ठाने राजदूतावासका सुराकीले पनि र त्यही
कुरा पुर्याए दूतावासमा, अन्यथा सधैँ प्रजातन्त्रमा विश्वास गर्ने मलाई मैले
अनुरोध नै नगरी पश्चिमी युरोप जानको निम्ति ५० स्टेर्लिङ पौण्ड साटी दिने प्रस्ताव
आउने थिएन । त्यो बराबरको रकम दूतावासलाई बुझाएर ५० पौण्ड लिई बर्लिनसम्म घुमेर
आएँ । मैले त्यसलाई अपराध ठानिनँ ।
म मस्को पावर
इन्जिनियरिङ इन्ष्टिच्युटमा पढ्न थालेपछि त्यही विद्यार्थी संगठनको चुनावमा मेरा
दुई मित्रहरू सोमनाथ पौडेल र विजयमान शेरचन एउटै पदको निम्ति उम्मेदवार भए । सोमनाथ
र म एकैसाथ पढ्न गएका थियौ । पहिलो वर्ष छात्रावासमा एक साथ बसेका थियौँ र सोमनाथ
टी.बी.को बिरामी पर्दा अस्पतालमा जाने काम पनि मेरै थियो । विजयमानसँग भेटगाट बढी
हुन्थ्यो । विचार उनीहरूको अलग्गै कुरा हो तर सोमनाथ साम्यवादी भनिने समूहबाट
समर्थित हुन पुग्यो र विजयमान प्रजातन्त्र भनिने समूहबाट । सोमनाथसँग धेरै मित्रता
हुदाहुदै पनि, मित्रघातको दोष मलाई नलागोस्, मैले विजयमान शेरचनलाई नै मत दिएँ तर
विजयमानले सोमनाथ र मेरो बीचको मित्रतालाई हेरेर मत दिएको कुरा पत्याएन । भन्ने त
भन्छन् – पछिल्लो चुनावमा अध्यक्ष पदको निम्ति रामप्रसाद श्रेष्ठ र मेरो बीचको
प्रतिद्वन्दितामा बराबरी मत परेकाले निर्वाचन आयोगका सदस्यका नाताले निर्णायक मत
दिदा मेरो विपक्षमा मत दिएर विजयमानले पहिलेको हारको बदला लियो रे । हो, होइन,
त्यो विजयमानले जानोस् ।
अध्यक्ष पदमा म
हारेँ । नेपाली विद्यार्थीहरूको ठुलो जमात भएको साम्यवादी विचारको गढ मानिने
मस्कोको मैत्री विश्वविद्यालय(लुबुम्बा विश्वविद्यालय) मा रामप्रसाद श्रेष्ठको
पक्षमा ठुलै समूह थियो र शायद विजयमान शेरचनको समूह पनि मेरो पक्षमा रहेन होला ।
बाँकी बचेकाले मत दिदा पनि म हाराहारीमा पुगेँ र निर्वाचन आयोगले निर्णायक मत दिनु
पर्यो ।
सहिद दुर्गानन्द
झालाई मृत्युदण्ड दिएकोमा सुवर्णविक्रम थापा अध्यक्ष भएको मस्कोस्थित नेपाल
विद्यार्थी संघले भर्त्सना गर्यो र विरोधपत्र श्री ५ को सरकारलाई पठायो । थापा
कांग्रेसी पक्षका त थिए नै । त्यसमा कम्युनिष्ट पक्षले पनि समर्थन दियो । नेपाली
दूतावासले त्यसलाई सजिलै लिएन र थापासहित १।२ जनालई नेपाल फिर्ता पठाउने भन्ने
सरकारी कुरासम्म पनि पुग्यो तर माफी माग्न लगाइयो, पठाइएन । त्यो बेला सुनिएको हो –
सो समयका वफादार बडाहाकिम वद्रिविक्रम थापा सुवर्णविक्रम थापाका नजकैका नातेदार
भएकाले उनैले ततकालिन प्रभावशाली महापंच सूर्यबहादूर थापा मार्फत् राजा महेन्द्र
कहाँ कुरा पुर्याएर माफीमा कारवाही अन्त्य गरियो रे । अन्यथा राजदूत दामोदर शमशेर
त निष्कासनकै पक्षमा थिए रे ।
बडो मजाको थियो विद्यार्थी राजनिति मस्कोमा ।
लुबुम्बा विश्वविद्यालयमा पढ्नेलाई कम्युनिष्ट समर्थक मानिन्थ्यो र सोकल
छात्रावासमा बस्नेलाई कम्युनिस्ट विरोधि अर्थात् राजावादी पंच । कांग्रेस त के, म
प्रजातन्त्रवादी हुँ भन्नेसम्म आँट पनि कसैले गर्न सक्दैनथे । भन्यो कि देशद्रोही
अराष्ट्रियतत्वमा गनिएर निकालिने डर थियो । अरू छात्रावासम बस्नेलाई सामान्यत
तटस्थ मानिन्थ्यो त्यहाँ । यही विभाजनकै सिलसिलामा एक पटक विद्यार्थी संघको
सभापतिमा जित्ने लुमुम्बा विश्वविद्यालयमा पढ्ने घनमान बज्राचार्य कम्युनिष्टमा
गनिए र सचिवमा जित्ने सोकलका कृष्णगोपाल नासनानी राजावादीमा र ती दुई बीच संघर्ष
लामै चर्काइयो पनि ।
विद्यार्थी
गतिविधिको पछिल्लो खण्डमा म सन् १९६८ मा बुल्गेरियाको राजधानी सोफियामा भएको विश्व
युवा महोत्सवमा सहभागी हुन पुगेँ । मेरो पढाइको अन्तिम समयतिर आएकोले सो समयमा विद्यार्थी
गतिविधिमा मेरो सकृयता थिएन तापनि मेरो नाम पनि समावेश भएकाले अरू विद्यार्थीसँगै
म पनि त्यहाँ पुगेँ तर त्यहाँ हाम्रो कुनै सकृयता रहेन । नेपालबाट जाने समूहले त
हामीले जत्तिको उपस्थिति पनि जनाउन सकेनन् । ओड्ने ओछ्याउनेको गुण्टा बोकेर पुगेका
महापंच जयप्रकाशलाई देख्दा नै लाग्थ्यो कि विदेश के हो ? महोत्सव के हो र केका निम्ति हो ? त्यसको ज्ञान उनीहरूलाई
कसैले दिदै दिएन । जात्रे झै आए, २।४ बोतल सस्तो रक्सी सिध्याए, जात्रेले झै
जात्रा हेरे, गए ।
सन् १९७० को मार्चमा
मैले सोभियत संघ छोडे ।
No comments:
Post a Comment