देशाटन
उहिले राजा, महाराजाहरू
आफ्ना प्रजाको राय बुझ्न देशाटनमा निस्कन्थे रे । श्री ३ जुद्ध शमशेर राणा पनि
निस्कन्थे रे त्यसरी नै । जहाज थिएन, हेलोकोप्टर थिएन । नेपालखाल्डो बाहिर जाने
गाडीको बाटो पनि थिएन । त्यसैले सिंहदरबारबाट निस्केर नयाँसडक, जुद्धसडक,
इन्द्रचोक, असन, घण्टाघर, भद्रकाली हुदै जनताको पिरमर्का बुझेर फेरि सिंहदरबार
फर्कन्थे रे । बाटोमा कोही ‘अन्याय भयो, सरकार !’ भन्दै तेर्सिन आए त्यही थलोमा इन्साफ पनि दिन्थे रे । राजा महेन्द्र त
त्योभन्दा अझ अगाडि बढ्दै पल्टन र लावालस्कर सहित पुँडे घोडामा चडेर पूर्व-पश्चिम
गर्ने गर्थे । उनको न्यायको शैली पनि जुद्धशमशेरकोभन्दा त्यति फरक थिएन । मुसुमुसु
हाँस्दै राजा विरेन्द्र हिडे बाबुकै बाटोमा र गम्भीर भएर ‘बुझेँ, बुझेँ’ भन्दै
ज्ञानेन्द्रले पनि समाए त्यही बाटो । जुन गरिब र निमुखाले राजाहरूको दर्शन पाए,
तिनीहरूको खुशियाली आजका हाम्रा प्रधानमन्त्रीको दर्शनभेट पाउने मानसिं
सार्कीकोभन्दा कम थिएन । लाखौँलाख रुपया हावामा उडाए राजाहरूले उपलब्धिविहीन आफ्ना
सवारीहरूमा र कसैले प्रश्न पनि उठाएन किनकि उनीहरू महासामन्त थिए र महासामन्तहरू शाशनमा
आफ्नो पकड कायम राख्न आफ्ना आसेपासेलाई राज्यको सम्पत्ती र आफ्नो भरोसा बाँड्दै
हिड्नु सामन्त परम्परा हो । बाबुराम महासामन्त नभएर के भयो ? सामन्तका सन्तान त
हुन् उनी । कान्छी मुखेनीका छोरा, छोटे सामन्त । । बाबुरामले राजा महाराजाहरूले
जस्तै जनताको राय बुझ्न घरदैलोमा जानु पर्ने आवश्यकता थिएन तर उनी गए राजा
महाराजाको जस्तै सामन्तीशोख पुरा गर्न र जुद्धशमशेरले जस्तै थलाका थलैमा न्याय पनि
दिए होलान्, राजा विरेन्द्रले जस्तै मुसुमुसु हाँसे पनि होलान् र राजा
ज्ञानेन्द्रले जस्तै ‘बुझेँ, बुझेँ’ पनि भने होलान् । मानसिं सार्कीजस्ताले यो
भ्रमणले के पाए बाबुरामसँगको दर्शनभेट बाहेक ? कसैले भनेको छैन तर त्यो भ्रमणमा
लागेको १५।२० लाख रुपयाँ २।४ वटा मानसिंका परिवारको जीवन सुधारिएर यताबाट उता हुन
सक्थ्यो तर यो कुरा बुझुन् कसरी बाबुरामले ? सामन्तहरू जनतालाई आफ्नो सत्ताको
गोटीभन्दा ठुलो ठान्दैनन् । नेपाली माओवादी नेतृत्व पनि त सामन्तवादी समूहको उपज त
हो ।
No comments:
Post a Comment