मानविय समस्या
एउटी छोरी नानीले
गुनासो गरिन् – “६।६ वर्ष विदेशमा
बसेर कमाउदा पनि किन मेरो घरव्यवहार मिल्दैन ? किन घर फर्कन्छु भन्दा पनि घर फर्कन
सक्दिनँ ?” प्रश्न उनको मात्र
होइन । यसले त एउटा सर्वव्यापी प्रश्न जन्माई दिन्छ – किन एउटा बाटो समाएर हिडेपछि
मानिस फेरि त्यही बाटो फर्केर शुरू ठाउँमा आउन गाहारो हुन्छ ?
उनी आफ्नो मोजमस्तीका
निम्ति अल्लारे बैँसमा विदेश गएकी होइनन् । उनी त एउटा परिवार भएकी छोराछोरीकी आमा
परिवारको सुविधा बढाउने चाहना बोकेर केही आमदानीको निम्ति परदेशिएकी हुन् । यस्तै
आकांक्षा बोकेर पृथ्वीका असंख्य नरनारीहरू आफ्नो घर छोडेर, आफ्नो देश छोडेर हिडी
रहेका हुन्छन् । कति घर परिवार सप्रन्छन्, कति भताभुंग हुन्छन् तैपनि मानिस आफ्नो
प्रयाश छोड्दैन । प्रत्येक सफलता या असफलता पछि ऊ फेरि प्रयाशरत हुन्छ ।
भनिन्छ – मानिस
प्राणी हो । हो, मानिस प्राणी हो तर ऊ विशेष प्राणी हो । अरू प्राणी प्राणीजन्य
आवश्यकता पूर्ति हुने बित्तिकै सन्तुष्ट भएर बस्छन्
, मानिस बस्दैन । ऊ
आफ्नो सुख सुविधा वृद्धि गर्न चाहन्छ, प्रगति गर्न खोज्छ । ऊ आफ्नो सम्पन्नता बढाउन
चाहन्छ, संवृद्धिको प्रयाश गर्छ । उसको संवृद्धिको चाहना कहिले पनि सन्तुष्ट नहुने
अजिङ्गर जस्तै हुन्छ । ती छोरीनानीको सम्पन्नता गत ६ वर्षमा अवश्य नै धेरै वृद्धि
भयो होला तर उनको सम्पन्नता वृद्धिको आकांक्षा पनि अवश्य नै बढ्दै गई रहेको हुनु
पर्छ । त्यो स्वाभाविक पनि हो किनकि सम्पन्नतावृद्धि या संवृद्धिको चाहना नै
मानिसको विकासको कारण हो । आदिम मानिस र पशुको युग र आजको दिनको अन्तराललाई हेर्ने
हो भने पशुसमानको आदिम मानिस र आजको मानिसमा विशाल अन्तर आएको छ । प्रकृतिले गरी
दिएको परिवर्तनलाई नगन्ने हो भने पशु जहीकोतहीँ छ, मानिस विशाल फड्काहरू मारेर
पृथ्वीको अधिपति भएर बसेको छ ।
संवृद्धिको चाहनाले व्यक्ति हिजोभन्दा आज र आजभन्दा भोलि बढी सम्पन्न हुदै
जान्छ । जो गर्न चाहदैन ऊ पशुजन्य आवश्यकता पूर्ति हुने बित्तिकै सन्तोष गरेर बस्छ
। न उसको सम्पन्नतामा विकास आउछ, न उसले बढी सम्पन्नताको निम्ति अरूसँग
प्रतिद्वन्दिता नै गर्नु पर्छ । साम्यवाद, जो छ या जो प्राप्त हुन्छ त्यसैमा
सन्तोष गर्न सिकाउने, एउटा वादको नाम हो । मानिसको मानवजन्य आवश्यकता सीमारहित
हुने हुनाले ‘प्रत्येकलाई आवश्यकता अनुसार’ ले पशुजन्य आवश्यतालाई मात्र ओगट्छ र
मानिसलाई उसको मानवजन्य आवश्यकता पूर्ति गर्ने प्रयाश गर्न स्वतन्त्र छोडी दिएन
भने उसको प्रयाश पशुजन्य आवश्यकता पूर्तिमा सीमित हुन्छ । पद, मान, पदवी, सत्ता,
शक्ति या सम्पत्ती प्राप्त हुदैन भने मानिसका संवृद्धिका मानवजन्य
आकांक्षाहरू स्वत हराउछन् र मानिस पशुजन्य आवश्यकतापूर्तिमा सीमित हुन्छ ।
केही पनि नचाहनु एकातिर सन्तुष्टि हो भने अर्कोतिर विकासको अन्त्य पनि हो ।
आफूसँग भएको सामग्रीबाट अरू विकास गरिएन भने असन्तुष्टिको कुण्ठा पनि जन्मन्छ । फेरि
लामो समयसम्म परिवारबाट छुटेपछि परिवारप्रतिको लगाव पनि धमिलो हुदै जान्छ र टाडैबाट
अभिभावकिय जिम्मेवारी पुरा गर्दै मानिसमा स्वतन्त्र बस्न चाहने इच्छा प्रवल हुन
थाल्छ । त्यसैले ती छोरीनानीमा घरपरिवारको माया छ भने जो आफूसँग छ त्यसैलाई समेटेर
आफ्नै देशमा नया सिर्जनापट्टि लागे उत्तम हुने म ठान्छु । सबै घरव्यवहार मिलाएर
जान्छु भन्न थालियो भने त्यो दिन नआउन सक्छ किनकि घरव्यवहारका समस्या कहिले पनि
नटुंगिने सर्वकालिन हुन् ।
No comments:
Post a Comment