प्रवेश आङ्ल
भाषाको
(मेरा अंग्रेजी गुरु स्व.प्रकाशराज जोशी)
बाहुनले गाईखाने म्लेच्छ भाषा पढ्न हुन्न भन्ने
मान्यता त्यो समयमा हाम्रा गाउँमा थियो। म्लेच्छभाषा या गाईखाने भाषा पढ्नेलाई
जातबाट र अझ पानीबाट नै पनि काढन सकिन्थ्यो। जुल्फी पाल्नु (पछाडि कपाल बढाउनु),
छरी
काट्नु(पछाडिको कपाल काट्नु) भातमा नचल्ने अझ जातै जान सक्ने कुकर्म मानिन्थे।
नियमले त बाहुनले बिहानै दिसा, सुची गई ३६ पल्ट हात माटोले सफा गरी लगौंटी लाएर नुहाउनु
पर्थ्यो। सफा धोती फेरेर पानीको मूलमा बसी एक सय आठ पल्ट गायत्रीमंत्र जप पनि
गर्नु पर्थ्यो। शुद्ध धोती लगाएर अल्गो चुलोचौकोमा बसेर कसैले नछोई खाना खानु
पर्थ्यो र एउटा फरिया मात्र लाएकी बिहे भएकी बाहुनी मात्र त्यो चुलोमा पुग्न
पाउथे। व्रतबन्ध नभएका छोरा र बिहे नभएका छोरी समेत चुलोमा चल्दैनथे। यी
मर्यादाहरूलाई मादीबिर्ताका बाहुनहरूले सकी नसकी धेरथोर पालन गर्थे। लुकीछिपीका
कुरा गर्ने हो भने त लसुन, प्याज, छ्यापी, गोलभेडा खाँदा जातै जाने भए पनि मेरी बजैले सबै जना
सुतिसकेपछि लसुन खाएको कुरा त मैले अगाडि नै भनिसकें र यस्ता लुकीछिपी काम अरूले
पनि गर्थे।
बाहुनले वेदविद्याजस्तो देवभाषा मात्र पढनु पर्ने
मान्यता बोकेको समाजमा म्लेच्छभाषा पढ्ने हावा एकाएक आयो। मेरी बजै मरेको एक डेढा
महिना नबित्दै चैनपुर बजारबाट वीस वाइस वर्षको नौजवान प्रकाशराज जोशीलाई(जसलाई
हामी सर भन्ने गर्थ्यौ र अब पछाडि प्रकाश सर भनिने छ) वार्षिक एक निश्चित अन्नपात
र रकम दिने शर्तमा हामीलाई पढाउन ल्याइयो। कसले के र कति दियो त्यो त मलाई थाहा
भएन तर प्रकाशसरको प्रवेशले मेरो मात्र होइन सारा गाउँको जीवनढाँचामा प्रभाव पार्न
सुरु गर्यो।
कुनै पाठशाला खुल्नु, कुनै शिक्षक आउनु ठुलो कुरा
थिएन। ठुलो कुरा त पाठशाला चाहिन्छ, शिक्षक चाहिन्छ भन्ने मानसिकता विकास हुनु हो। हिजो
अपवित्र, अछुत
र अमान्य भएको भाषा, कोही कसैले पनि किन नहोस्, त्यसलाई स्वीकार गर्ने विद्रोह देखाउनु पनि तत्कालिन समाजमा
ठूलो थियो र दर्है आँटको आवश्यकता पर्थ्यो। हुनत शिक्षाप्रेमी महानन्द सापकोटाले
मादीबिर्ताबाट एक घण्टाको बाटो परको सदरमुकाममा ५।७ वर्ष अगाडिनै अंग्रेजी
भाषापठनको विद्यालय खोलेका थिए तर त्यसलाई सम्पन्न बिर्तावालहरूको गाउँले आत्मसात
गर्न सकेको थिएन। पहिलो चैनपुर बजार थियो र बजारको मानसिकता गाउँको भन्दा धेरै
उदार हुन्छ। दोश्रो, चैनपुर बजार नेवार वहुसंख्यक बस्ती हो र उनीहरूको आवतजावत, नातागोता धनकुटा,
धरान, धुलिखेल र काठमाडौं
उपत्यकासँग पनि भएकाले त्यसले केही प्रभाव त पारिनैहाल्थ्यो। बजार समूहमा तागाधारी
थोरै र वहुसंख्यक मतवाली भएकाल तागाधारीमाजस्तो कट्टरता उनीहरूमा थिएन। मेरो गाउँ
त कट्टर बाहुनहरूको थलो थियो, आफ्नो ठिंग्रो, मुंग्रो कायम राख्न सत्ताधारीको समर्थन
गर्नुपर्नेहरूको विर्ता थियो। त्यस्ता गाउँमा पनि आधुनिक शिक्षाको चासो बढ्नुको
अर्थ भारत स्वतन्त्रताको प्रभाव परेर नेपालमा सत्ताविरोधको विस्तारै विस्तारै चल्दै
थियो। विद्यालय मादीबिर्ताको रामालय-शिवालयको नारद गुरुको पाठशाला भएको पाटीमा स्थापना
हुने भयो। यो विक्रम संवत् २००६ सालको कुरा हो।
हुनत मेरा मोरङमा केही जग्गा हुनाले बिराटनगरतिर
आवतजावत गर्ने जेठा बाजेका छोरा रुद्रप्रसाद दाहालले प्रकाशसरभन्दा एक वर्ष अगाडि
नै एक जना शिक्षका बिराटनगरबाट ल्याएर आफ्नै घरमा राखी अंग्रेजीभाषा पढाउन थालेका
थिए तर म सानो भएको र उनको घर टाढा भएकोले मलाई त्यहाँ पढाउन पठाएनन्। फेरि उनको
त्यो प्रयास सामुहिक नभएर व्यक्तिगत भएकाले त्यो टिकाउ हुन सकेन जस्तो लाग्छ
मलाई।
अंग्रेजी विद्यालय सुरु गर्न शिक्षक आउने बित्तिकै
गाउँका परिवार दुई भागमा विभाजित भयो। एक थरी आङ्ल भाषाका कट्टर विरोधी भए। विरोध
गर्नेहरूमध्ये एक थरी नयाँ विद्यालयमा लाग्ने खर्च सुनेर नै आत्तिएका थिए भने
अर्का थरी पूर्वमान्यतालाई त्याग्नु सत्ताको विरोध गर्नु हो भनेर नयाँ विद्यालयको
विरोध गरे तर समय यति चाँडो बदलिरहेको थियो कि उनीहरूको विरोध त्यही समयमा पनि
फितलो देखिन्थ्यो र पछि त्यो विरोधले कुनै आधार पनि पाएन।
प्रकाशसरको प्रवेशपछि हामी विद्यार्थी पनि दुई भागमा
बाँढियौं। अंग्रेजी पढनेहरू प्रकाशसरको पाटामा गए र सँस्कृत पढनेहरू नारदगुरुतर्फ
रहे। नारदगुरुकहाँ पढ्न सस्तो थियो। बाबुबाजेका पालादेखिका दुर्गाकवच, चण्डी, रुद्री, वेद, अमरकोष, लघुकौमुदीका पुस्तकहरूले
नै काम चल्थ्यो र नारदगुरुलाई गुरुदक्षिणा पनि थोरै थिए पुग्थ्यो। मेरो पनि
तात्कालिन पुस्तक त अमरकोष मात्रै थियो। प्रकाशसरकातिर भने सुरुमा नै सिङ्गै पाँच
रूपयाँको किताब किन्नु पर्ने। एक सुकामा एउटा खेताला पाइने जमानाको त्यो दुर्गमा
ठाउँमा पाँच रूपया निकाल्न जोसुकैले सक्ने कुरा पनि थिएन। त्यसैले पनि हाम्रो
विद्यालयलाई असकहरूले ठुलाठालुको विद्यालय भन्ने गर्थे।
मेरो घरबाट २।४ मिनट परको रामालय-शिवालयको पाटीमा
नारदगुरुले पढाइ सुरु गरेका हुन्। हामी पराले सुकुलको चकटीमा बसेर पढ्थ्यौ र घाम
ताप्न मन लागे त्यही चकटी ओछ्याएर मन्दिरका वरिपरिका ढुंगामा बसेर पढ्थ्यौं।
युगौंदेखि चलिआएको शिक्षापद्धतिमा न विशेष आसनको जरुरत थियो न विशेष
पाठ्यपुस्तक नै चाहिन्थे। श्रुति र स्मृतिका आधारमा चलेको शिक्षापद्धतिमा आधुनिकता
आएपछि केही पुस्तकहरू प्रयोग हुन थालेका थिए, नत्र त उही गुरु-शिष्य परंपरा, उही डिको-धुलौटो र बाँसका खबटा र
उही श्रुति, स्मृति नै कायम थियो तर प्रकाशसर आएपछि हाम्रो परंपरा तोडियो। हाम्रा हातमा
सुरुका दिनमा नै नयाँ पुस्तक र कापीहरू परे, डिकाको सट्ट कलम र पेन्सिल
पायौं। तितेपाती र गाजलका दिन गएर नया मसीका चक्कीहरू आए। धोती लगाउने भारतिय
उपमहाद्वीपको शिक्षा सुकुलमा पलँटी मारेर आर्जन गर्न सकिए पनि प्यान्ट लगाउने
आङ्लहरूको विद्या लिन, दिन कुर्सी, डेस्क, बेन्च आवश्यक ठानिए। त्यसैले पाटीको पश्चिमपिट्ट नारदगुरुको भाग लाग्यो र
पूर्वपिट्ट प्रकाशसरले डेस्क बेन्च लगाउन थाले।
हाम्रा डेस्क, बेन्च सार्है भद्दा थिए। जमिनमा
चार वटा वाँसका किला गाडेर त्यसमा चुकुल हाली चुकुलमाथि फल्याक तेर्स्याइएको
फलैंचालाई हामी बेन्च भन्थ्यौं र त्यसको ठिक अघिल्तिर बेन्चभन्दा एक फुट अल्गो
अर्को बेन्च हाम्रो बेन्च बनेको थियो। हाम्रा डेस्क र बेन्चमा उचाइमा बाहेक अरू
अन्तर थिएन। प्रकाशसरका निम्ति भने कहीं कतैबाट कसैले काठको कुर्सी उब्जाइ
दियो।
हामी अल्गो बेन्चमा बस्नेहरू हामीबाहेक अरू कसैले पनि नबुझ्ने भाषा पढिरहेका थियौं र
त्यो उचाइबाट सुकुलमा बस्ने हाम्रा अघिल्ला दिनका सहपाठीहरूलाई तल देखिरहेका
थियौं। हाम्रो शिक्षा सम्पन्न र असम्पन्नका बीचमा विभाजित थियो। अघिल्ला दिन
नारदगुरु सबैका गुरु थिए तर भोलिपल्ट नै उनी असम्पन्नहरूको मात्र प्रतिनिधित्व
गर्न थाले। त्यो दुर्गम ठाउँको त्यो बेलाको शिक्षा विभाजन यो देशका आजका
उच्चस्तरिय आवासिय विद्यालय र सरकारी या सामुहिक विद्यालयहरूका शिक्षाजस्तै
विभाजित देखिन्थे।
म्लेच्छ शिक्षाका अध्ययनका दिनहरू हाम्रा निम्ति
आनन्दका दिनहरू हुनथाले। हामीलाई पलेटी मारेर बस्नु पर्ने वाध्यता थिएन। सरलाई
गुरुलाई जस्तो खुट्टामा ढोग्नु पर्दैनथ्यो। नमस्ते गरि दिए पुग्थ्यो। हामी केटाकेटी
थियौं र प्रकाशसर पनि कुनै पाका थिएनन् र एक दिन यस्तै केटाकेटीपनको शिकार हुन पुगेथें म।
प्रकाशसरले हामी प्रत्येकलाई पाँच रुपयाका पुस्तक र
कापी दिदा १५ दिन भित्र पैसा बुझाउनु पर्ने जानकारी दिएका थिए। मैले मेरी आमालाई
सो कुरा सुनाएँ तर मेरी आमाले भनिन् — "पर्या छैन पाँच पाँच रुपया
हालेर किताब किन्नु। सात वर्षका मान्छेलाई पाँच पाँच रुपयाको किताब ! केटाकटीलाई पाएर ठग्न
खोज्छन् ठग मोराहरू।"
"पैसा नदिए किताब फिर्ता लान्छन्
रे।" — मैले रुन्चे स्वरमा भने।
"लगे लान्छन्।"— मेरी आमा आफ्नो भनाइमा
अडिग रहिन्।
मैले दिनदिनैजस्तो आमालाई मनाउन खोजें। आमा आफ्नो
अडानबाट डेग चलिनन्। आखिर त्यो दुर्दिन आइहाल्यो जो आउने कुरामा शंका थिएन। म्याद
नाघेको २।४ दिन पछि पनि मैले पैसा नल्याएकोले प्रकाशसरले भने — "तैले किन पैसा नल्याएको?"
"आमाले दिइनन्।" — मैले डराएर जवाफ
दिएँ।
प्रकाशसरले सबै किताब र कापी खोसेर लिए र भने —
"भोलि पैसा
लिएर आउनु अनि किताब कापी लानु।"
साथीसँगातीहरूको बिचमा म अपमानित भएर घर आएँ र
आमासँग रोइकराइ गर्न लागें तर मेरी आमाले आफ्नो अडान छोडिनन्। अन्ततः मैले रुदै
भनेँ — "सबैका किताब छन्, मेरा छैनन्। मैले के पढने त?"
मैले सोचेको थिएँ — मैले व्रह्मास्त्र छोडेँ र
आमासँग त्यसको काट छैन तर आमाले तुरुन्तै जवाफ दिइन् — "अमरकोषको किताब लिएर जा
र गुरुसँग पढ्। पर्दैन अंग्रेजी पढनु।"
त्यो उमेरमा मेरोनिम्ति ती अंग्रेजी पुस्तक र अमरकोष
पढनुमा कुनै अन्तर नभए पनि मेरा सहपाठीहरू बेन्च र डेस्कमा पढिरहेका र म भने केही
दिन अघि मात्र छोडेको अमरकोषको किताब समाएर त्यही सुकलमा बस्नु परेको पीडा र
अपमानवोधले आहत भएँ र मेरा आँखाबाट आँशु र घाटीबाट हिक्का आइनैरह्यो। नारदगुरुले
मलाई धेरै सम्झाए तर म सम्झन सक्ने स्थितिमा नै थिइनँ। म त कसैले नदेख्ने ठाउँमा
लुक्न चाहन्थे। त्यसैले मैले मृत्युको आह्वान पनि गरें किनकि कसैले नदेख्ने ठाउँमा
लुक्नु नै मृत्यु ठानेको थिएँ मैले। तर मृत्यु मैले बोलाउदैमा आउन सक्ने कुरा भएन
र त्यो आँशु, त्यो हिक्काको बीचमा मैले मेरी बजैको अभावको तिखो पिडा अनुभव गरें।
मेरी आमा भन्थिन् — "यो सार्है रुन्चे छ। बिहान रुन
थाल्यो भने रातिसम्म रुन्छ। अझ निन्द्रामा नै पनि रोइरहन्छ।"
हुन पनि हो। चाहे आफ्नो होस् या अर्काको दुख देख्यो
कि मेरो आँखामा आँशु आइहाल्छ। त्यो दिन त झन रोक्न सक्ने कुरै भएन। किताब अगाडि
खुला भए पनि मैले एक अक्षर पनि पढ्न सकिनँ।
नयाँ आङ्ल विद्या भर्खर भर्खर खुलेको र शिक्षक र
विद्यार्थी दुवै पनि नया भएकाले हाम्रा अभिभावकहरू सबै नै दिनहुँ विद्यालयमा आउथे।
उनीहरूले पारम्परिक शिक्षाको विधि त जानेका थिए, नौलो आङ्ल शिक्षा बारे भने पुरै
अनभिज्ञ भएकाले त्यो शिक्षाका बारेका केही जान्न खोज्ने उत्कण्ठा पनि थियो
उनीहरूमा। सधै झैं त्यो दिन पनि उनीहरू एकल या हुल भएर आए र सबैले निरिक्षणको
सिलसिलामा म सुकुलमा बसेर रोइरहेको पनि देखे। सबैजसोले नै म रुनुको कारण जान्न
खोज्दा नारदगुरु जवाफ दिन्थे — "आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे
भनेर रोएको।"
कुरा सामान्य थियो र जटिल पनि। मेरी आमाले नदिएपछि
सिङ्गो पाँच रुपया मलाई कसैले पनि दिने र दिलाउने आँट गर्न सक्दैनथ्यो। सानो भए
पनि म त्यति बुझ्थे र मैले कसैतिर पनि अनुरोध गरेर हेरिनँ। मेरो मनस्थिति पराजित
थियो र मैले आँशु पनि रोक्न सकिनँ। मेरी आमाको त्यो अडान मेरो जीवनको नकारात्मक
पक्ष हुने थियो कि सकारात्मक? त्यो छुट्याउन गाहारो छ तर त्यो अडान कायम नै रहेको भए आज
जस्तो असीमित ज्ञान खोज्दै भौंतारि रहने भने म थिइनँ। मेरा नैतिकता-अनैतिकता, पाप-धर्म, न्याय-अन्यायका परिभाषा पनि आज
जस्ता हुने थिएनन्। म एउटा साधारण गाउँको एउटा सामान्य मानिस रहने थिएँ र त्यही
अज्ञानले मलाई स्थिर बनाउने थियो।
औशीको रात नै भए पनि कहीँबाट जुनकुरी छिरेर प्रकाश
जन्माइ दिन्छ। सुनसान ठाने पनि कुनै प्वालबाट छिरेको हावाले सुसेली हालिदिन्छ र
मेरो जीवनमा पनि त्यस्तै भयो। निराशाको मेरो त्यो अनन्त सागरमा एउटा दरिलो स्वर
सुनियो - "ए पण्डित, किन रुन्छ यो?"
"आमाले किताब कापीको पैसा दिइनन्
रे। सरले फिर्ता लगे भनेर रोएको।" नारदगुरुले उही रटिरटाउ जवाफ दिए।
ती अभिभावकले मलाई उठाएर बेन्चमा बसालेर प्रकाशसर
तिर हेरेर भने — "ए प्रकाश ! यसका किताब फिर्ता दे। यसले पैसा ल्याएन भने म तिरिदिउँला।"
सबै आश मरिसकेको स्थितिमा ती किताब फिर्ता पाएको
क्षणको जति आनन्द मैले कहिले पनि पाइनँ र त्यो क्षण मेरो निम्ति सधैं स्मरणिय भयो।
उनले मेरी आमालाई के भने? त्यो मैले थाहा पाइनँ र पाउने कोशिश पनि गरिनँ तर मेरी
आमाले त्यो पैसा भोलिपल्ट नै तिरिदिइन् र जीवनमा आफूले जतिसुकै कष्ट सहनु परे पनि
मेरी आमाले आफ्ना छोराहरूको पढाइमा पैसाको लोभ त्यसपछि कहिले पनि गरिनन्। त्यसै
गरी मेरोनिम्ति आफूलाई धरौटी राखिदिने ती अभिभावक मेरो जीवन भर श्रद्धेय भए र सधैं
मलाई मार्गदर्शन गरिरहे। मेरा गाउँका कैयौं बाजेमध्येका ती मेरा बाजेका काकाका
छोरा लीलानाथ बा (२०१५ को निर्वाचनमा प्रतिनिधि सभाको सदस्य भएपछि हामी एम् पी बा
भन्थ्यौ) ले मेरो जीवनमा एउता ढुंगा गाडेर मेरा बाटो तय गरिदिए।
मेरी आमालाई लीलानाथ बाले के भने त्यो बेला मैले
चासो राखिनँ। पछि म उमेरदार भएर सोध्दा आमाले भने अनुसार बाले भनेका थिए रे —
"सँगैमा तेरा
जेठाजुहरूका छोरा भने पढेर ठुलो हुने तँ भने छोरालाई हलो नै जोताउँछेस् त, बुहारी?"
शायद त्योभन्दा ठुलो व्रह्मास्त्र पनि थिएन होला
उनीसँग त्यो बेला। लीलानाथ बाले यिनै शब्द भने वा भनेनन् त्यो त्यति जरुरी थिएन तर
उनले भनेका शब्द मेरी आमाका मनमा यसरी गाडियो कि उनले हामी दाजुभाइको पढाइलाई सधैं
प्राथमिकता दिइन् र आज हामी जो र जस्ता छौं यो उनकै अथक प्रयासको परिणाम हो।
No comments:
Post a Comment