Tuesday, September 23, 2014

लुटमा छुट



लुटमा छुट

अनधिकार सम्पत्ती खुलेआम बलपूर्वक लिनु लुट हो भने लुटलाई दण्डित नगर्नुको नाम छुट हो । इतिहासका हरेक कालखण्डमा लुट र छुट चलेकै हो । राणाकालमा चोरीखाने हजारौँ भए पनि लुटमा छुट भने राणाखलकलाई मात्रै थियो । अरू त खुला भएमा दण्डित हुन्थे । ०७ सालपछि पनि चोरीखाने नभएका होइनन् तर लुटमा छुट भने थिएन । पंचायतकालको शुरूमा थुप्रै इमान्दार मानिसहरू देखा परे र उनीहरू आफ्नो सर्वश्व खर्चेर इमान्दारीसाथ काम गरे साँचै रामराज्यजस्तो पंचायतराज्य बनाउन तर राजा स्वयम्ले लुटको धन स्विस बैंकमा लान थालेपछि राजाका आसेपासेमा लुट र छुटको प्रवृत्ती देखा पर्न थाल्यो र ती इमान्दार पंचहरू पाखा लागे । तैपनि खुलेआम लुटको छुट भने राजपरिवारले मात्र पाएको थियो र तिनका रैतीले छुट त तिनीहरूको आडमा मात्र पाएका हुन् । पंचायतकालमा खुलेआम लुटको छुट भने तत्कालिन प्रधानमंत्री सूर्यबहादूर थापाको नेतृत्वमा २०३६ सालमा पंचायतलाई जिताउने नाममा थालनी भयो । 

पंचायत ढल्यो तर लुटको छुट भने मौलाएर गइनैरह्यो । भोका स्यालहरू लाशमा खनिएझै कांग्रेसी नेताहरू लुटमा सामेल भए । अरू त अरू स्वयम् प्रधानमंत्री समेत त्यो रोगबाट जोगिएनन् । उनको नामको आडमा उनकै परिवारले लुट मचायो । वामपन्थीले पनि लुट चाखे र छुट पाए । यो वा ऊ दलको पछि लागेर लुटको भोग गर्नेहरू पर्याप्त भए कर्मचारीदेखि सर्वहारासम्म, मजदूरदेखी पूँजिपतिसम्म । त्यो लुटबाट जनता यति आजित भएका थिए कि माओवादीको भाटेकारवाहीलाई समेत उनीहरूले सहर्ष स्विकार गरे । नया पाउने आशामा माओवादीको ज्यादतीलाई समेत बिर्सन तयार भए । काठमाडौ खुलामंचमा प्रचण्डलाई जनताले खुला हृदयले उनका ज्यादतीलाई माफी दिएर भव्य स्वागत गरे तर त्यो पनि मृगतृष्णा नै भयो ।

लुटमा छुट आज अन्तरिमकालम आएर अडिएको छ । आज त सबैलाई सबै ठाउँमा छुट छ । त्यसले त त्यसो नगर्ला भनेर आशा लिएको प्रचण्ड र माओवादी समेत लुट र छुटमा सहभागी भएपछि जनतामा राजनीति र राजनीतिज्ञप्रतिको आस्था मरेर गएको छ । उनीहरूको दृष्टिमा नेता मर्नु र मौका पर्दा टोक्ने  र मौका नपर्दा पुच्छर हल्लाउने बाटाको कुकुर मर्नुमा अन्तर रहेन । शाशकदलप्रति नै जनताको विश्वास नभएपछि शाशकप्रति जिम्मेवार हुने कर्मचारीमाथि भर पर्न पनि सक्दैनन् जनता । हिजो ५ पर्ने सागको मुठोलाई आज २५ तिर्नु परेपछि जनता अराजकता स्वत अनुभब गर्छ । यहाँ त भ्रष्टाचारी नातेदारलाई जोगाउने र न्याय माग्दै मृत्युशैयामा लम्पसार परेको अनशनकारीलाई गाली गर्ने नेताहरूको हालीमुहाली छ । आफ्ना छोराछोरी मर्दा रुन र अर्काका हजारौँ छोराछोरी मराउने नेताहरूको बिगबिगी छ । शाशन पाउदा 'म त राजाको नातेदार पो त' भनेर जनता थिच्ने र आफूले शाशन नपाउदा 'म त जनाताको छोरो पो त' भन्दै साँखोलो हुनेको जमात छ । 

लुट मच्चिएको देशमा । युवाले ज्यान फालेर कमाएको पैसा यहाँ लुटिइरहेको छ । हिजो १० को चामल आज १५ पुगेको छ । शिक्षा, स्वास्थ्य राज्यको जिम्मेवारी नभएर व्यापारीको नाफानोक्सानको कारोवार भएको छ । जनताले पेट भर्नु पर्ने सामानको मुल्यमा कुनै निगरानी या नियन्त्रण छैन । विदेशीको फाल्नु पर्ने सामान भित्र्याएर सयको माल हजारमा बेचे पनि राज्यलाई केही चासो छैन । यहाँ त कालाबजारिया, दलाल, डन, भ्रष्टचारी जोगाउन दौडन्छन् शाशक बन्छु भन्ने नेताहरू त कसरी पाउन सक्छ राज्यले 'लुटमा छुट' बाट छुटकारा ? 

जोरपाटी १, काठमाडौ
२०७१ असोज ७

No comments: