Friday, September 19, 2014

भ्रष्टाचार



आमदानी र खर्च विवरण


अर्थशास्त्रका हजारौँ नियम र सिद्धान्त छन् र ती नियम र सिद्धान्त समयानुसार बदली पनि रहन्छन् तर कमाउने र खर्च गर्ने साश्वत सत्य भने आदिमकालदेखि यथावत चलि नै रहेको छ । उसको कमाइ उपभोग्य वस्तुको रूपम रहुन्जेल कमाइ प्रस्ट देखिन्थ्यो मानिसले अरूले नदेख्ने गरी लुकाउन सक्दैनथ्यो । समयकालले मानिसलाई वस्तु सममुल्यनमा मुद्राको प्रयोग गर्न सिकायो । १० मुरी अन्न सममुल्यनको मुद्रा खल्तीमा अटाउन सक्ने भयो । आफ्नो उत्पादनभन्दा बढी अर्काको बारीको चोरेर ल्याए त्यो उत्पादन लुकाउन गाहारो हुन्थ्यो । मुद्राले त्यो लुकाउन सजिलो बनाई दियो । झन त्यसमा पनि अर्काको मुद्रा चोरेर लुकाउन त कुनै आइतवार नै रहेन । लुकाएको देखिन सक्ने सम्भावना न्यून हुने नै भयो । भ्रष्टाचार यहीबाट शुरू हुन थाल्यो ।

भ्रष्टाचार आफ्नो अधिकारमा नभएको वस्तु, मुद्रा या सेवा आफूले लिनु या उपभोग गर्नु हो । बलवानले खुला रुपमा बलपूर्वक लियो भने त्यसलाई लुट भनिन्छ तर तिनै चिज दातालाई समेत सुविधा दिने या नदिने गरी उसको सहमतीमा या सहमतीविना लिए भ्रष्टाचार हुन्छ । संवैधानिक रूपमा राज्य सबैभन्दा बलियो अंग भएकोले त्यसका शाशनाधिकारी र पदाधिकारीहरू सो अनुरूप नै बलिया हुन्छन् र भ्रष्टाचार अराजक स्थितिमा त्यहीँ नै बढी हुन्छन् । सामान्य नागरिक कमजोर हुन्छ र आफूले गरेको अपराध या गल्ती ढाकछोप गर्न पदाधिकारीलाई सुविधा उपलब्ध गराउने वाध्यता या सहमतीमा आउछ । नागरिकले दिने र पदाधिकारीले लिने यो पहिलो किसिमको भ्रष्टाचार हो । भ्रष्टाचारीले वाध्यताले दिएकोलाई सेवा वापतको सुविधा ठान्छ भने खुशीराजीले दिएकोलाई बकस भनिदिन्छ ।दोश्रो किसिमको भ्रष्टाचार राज्यका पदाधिकारीले राज्यको ढुकुटीबाट कागजी नियम मिलाएर राजस्व खानु हो । देशमा यो यति फैलिएको छ कि कुन पदाधिकारी भ्रष्ट छेन भनरे राँको लिएर खोज्नु पर्ने भएको छ । उच्च पदाधिकारीदेखि तल्लो तहसम्म यो भ्रष्टाचार यो वा ऊ रूपमा व्याप्त छ र यो कसैबाट लुकेको कुरा होइन । यसको व्याप्तता प्रधानमंत्रीको कुर्सीदेखि पियनसम्म खुला छ ।भ्रष्टाचार रोक्ने प्रयास भएको देखिन्छ तर त्यो प्रयास चाल्नाका २/४ वटा प्वाल थु'न्ने कामजस्तो भएको छ । चाल्नाका प्वाल थुन्ने काम त पुरा नीति परिवर्तनले संभव हुन्छ ।
 
मानिसले प्राप्त उपभोग्यता विवरण दुई किसिमले प्राप्त गर्न सकिन्छः १.ऊबाट आमदानीको विवरण लिएर र २.ऊबाट खर्चको विवरण लिएर । मानिसले आमदानी गोप्य रूपमा राख्छ तर खर्च उसले खुला रूपमा गर्नु पर्छ । दोश्रो उसको आमदानी र खर्चको विवरण पनि समान देखिनु पर्छ । थोरै आमदानी देखाएर धेरै खर्च गर्ने संभावना हुदैन । त्यसैले त्यसैले भ्रष्टाचार कम गर्नलाई संवन्धित मानिसबाट तीन विवरण लिइनु पर्छः सम्पत्तीको विवरण, उसको आमदानीको विवरण र उसको खर्चको विवरण । सम्पत्ती विवरणले मानिसको वार्षिक वृद्धिको ज्ञान दिन्छ ।  आमदानी विवरणले उसको कमाइ देखाउँछ भने खर्च विवरणले आमदानी र खर्चको सामन्ज्यस्यता देखाउछ । छानविनमा यी दुईमा असमानता देखिने बित्तिकै भ्रष्टाचारको मात्रा देखीन थाल्छ । त्यसैले नेपालको संदर्भमा सकेसम्म सबै वयस्क नागरिकले नभए कम्तीमा पनि  आमदानी विवरण देखाउनु पर्नेले खर्च विवरण देखाउन अनिवार्य गर्नु पर्छ । 

खर्च विवरण पेश गर्नु पर्ने कुरा उठ्यो कि देशका प्रवुद्धवर्गदेखि साहु महाजन सबैले नै नागरिकको गोप्यता भंग हुने या नागरिकलाई अनावश्यक दुख हुने आदि इत्यादि यस्तै तर्क ल्याएर विरोध गर्ने छन् किनकि कानुनबाट लुकाउनु पर्ने गोप्य खर्च कानुनी रूपमा मात्र होइन नैतिक रूपमा पनि भ्रष्ट हुन्छ । गोप्यताको आडमा कानुन र नियमसँग आर्थिक चलखेल गर्ने अधिकार नेताहरूसँग हुने हुदा सबैभन्दा ठुलो विरोध उनीहरूबाट हुनसक्छ । विरोध 'हुन सक्छ दलहरूबाट र सबै संघसंस्थाहरूबाट किनकि भ्रष्टाचार समाज स्वीकृत भएकोले यसलाई रोक्न नखोज्नेको जमात जहीँतहीँ नै छ । अरू त अरू यसलाई लागु गराउनु पर्ने अर्थमंत्रीले नै यसलाई अस्विकार गर्न सक्छन् ।

रामप्रसाद दाहाल
जोरपाटी काठमाडौ
२०७१ असोज ३

No comments: