हामी कहाँ छौँ ?
विद्वानहरूका आ-आफ्ना राय र तर्क होलान् तर मजस्तो
सामान्य मानिसले मेरा वरिपरिका कुरालाई लिएर नै हाम्रो स्थितिको आँकलन गर्नु पर्दो
रहेछ । हिजो मात्रै एउटी नानीले भनिन् "गरिबले कसरी बाँच्ने बा ? एक छाक पनि
नपुग्ने जाबो एक मुठो सागको ५० रुपयाँ तिर्नु परिरहेको छ । पोहोर १००० तिर्दै थिएँ
एक बोरा चामलको निम्ति अहिले १५०० तिर्छु । खानमा पनि कति कटाउने ? छोराछोरी भोकै
मार्न भएन ।"
नेताहरू कहाँ उपचार गराउछन् ? त्यो सर्वसाधारण
जनताको चासोको विषय हुनु नपर्ने हो तर जब एकातिर केटाकेटी भोकै बस्नु पर्ने स्थिति
आउछ अनि नागरिक जिम्मेवारप्रति आक्रोशित हुनु स्वभाविक हो । उसले नेताहरू विदेशका
सानदार अस्पताल र वीर अस्पतालमा मर्नुमा अन्तर देख्न छोड्छ । जब सानो विरामी
छोरोलाई औषधी किन्न नागरिक खुत्रुके फोर्दै हुन्छ र उसको रेडियोले नेताज्यू विशेष
हवाइजहाज मार्फत 'हाछिउँ' उपचारको निम्ति विदेश भ्रमण लागेको समाचार भट्याउँछ,
उसलाई खुत्रुकेसँगै यो संसार नै फोरिदिऊजस्तो लाग्नु स्वाभिविक हुन्छ ।
मेरो घरको वरिपरि जवान केटाहरू छैनन् । प्रत्येक
घरमा सोध्दै गयो भने प्रशान्तमहासागरिय टापुदेखि पातालदेशसम्म चारो खोज्न हिडेका
पाइन्छन् उनीहरू । सम्पन्नका छोराहरू यो वा ऊ नाममा पातालदेशतिर लागेका छन् भने
असम्पन्नहरू १००/५० डलरको निम्ति ज्यान फालेर भतुवा हुन संसारभरि छरिएका छन् ।
हाम्रा विद्वान अर्थशास्त्री विश्वग्रामको प्रभाव ठान्छन् यसलाई र यसैले देशको
अर्थस्थिति बिग्रन नदिएकोमा गर्व गर्छन् । तर जब मेरा फेसबुकका भित्तामा विदेशमा
मरेका/मारिएका युवाका लाशहरू दिनहुँ टाँसिन्छन्, ती छोराछोरीको सुद्धाइँ खान वाध्य
आमाबाबुहरू मेरा अगाडि लम्पसार परेजस्तो लाग्छ ।
के छ देशमा ? अर्थशास्त्री भन्नु हुन्छः "पैसा
छ ।" हो पैसा छ हामीसँग । पैसा नहुदो हो त न सुखसयलका सामग्री सम्पन्नहरूले
पाउने थिए, न हाम्रा नेताजीहरू 'हाछिउँ' को ओखती गर्न पातालदेशतिर धाउने थिए ।
एउटै हवाइजहाजले लाश देशभित्र भित्र्याएर नेताजीहरूलाई विदेश पुर्याउने थिएन ।
हातमा स्मार्टफोन लिएका सम्पन्न तन्देरीहरू प्रेमिकासँग जिस्किन पाउने थिएनन् ।
अर्थशास्त्री सोच्छन् कति नै गएका छन् र देश बाहिर ?
बढीमा भए त्यही ५० लाखका हाराहारी त हो नि । अझ त्यति नै पठाउन सके देश
सम्पन्नताले हराभरा हुने ठान्छन । त्यति समस्या हाम्रा नेतालाई पनि छैन । आफूले
सत्ता पाउन यो देश टुक्र्याउन तयार छन् र
उस्तै परे बेच्नै पनि । उनीहरूलाई शाशनाधिकार दिने हो भने के फरक पर्छ उनीहरूलाई ?
माथि एउटालाई रिझाउनु परे पनि तलका सबै जनतालाई कज्याउन त पाइन्छ । त्यसैले होला
देश छुट्याउनु पर्छ भन्नेलाई त्यो प्रचारप्रसार गर्ने अधिकार दिनु पर्छ भन्छन्
हाम्रा नेताहरू । के थाहा ? भोलि 'हतियार उठाउने अधिकार पाउनु पर्छ उसले' पनि
भन्ने हुन् कि ! भोलि यो देश बेच्नु पर्छ भन्नेले पनि छुट पायो भने अचम्म नमान्नु
पर्ने दिन आउन सक्छ नेताहरूको यही रवैयाले ।
कहाँ छौँ हामीहरू ? कहाँ छौँ ? थाहा छैन । कुनै दिन
१४ हजार बिजुली बनाइदिनेहरू झोलामा खोला बोकेर दौडेका थिए र हाम्रा नेता भन्थेः
दिन सप्रेका छन् हाम्रा, देश झलमल्ल हुने छ । तर हामी अन्धकारमा छौँ आज । आज तिनै
नेता र अर्थशास्त्री भन्छन् 'माथिल्लो कर्णाली सन्धी भयो । अब हाम्रो मुलुकमा उद्योग
खोलिदिने ताँती लाग्ने छन् ।' आशा गरौँ
हामी त्यसमा भर नपरे पनि किनकि विशाल छिमेकीहरूको मुलुकको बजारमा लगानी गर्न छोडेर,
कुन मुर्ख होला ? कुनै राजनैतिक नैतिकता पनि नभएको मुलुकमा लगानी गर्न आउने ?
यहाँको मुद्राको भर छैन । मुद्राको भर हुदो हो त
स्वयम् अर्थमंत्रीले देशमा बसेर विदेशी मुद्राको खाता खोल्ने थिएनन् । ३ करोड
नेपालीले बेहोर्नु पर्ने स्वास्थ्यसेवामा पनि यहाँका नेताहरूलाई विश्वास छैन र
सरकारी रकममा विदेश दौडन्छन् । शिक्षामा भर छैन यहाँका सम्पन्न र नेताहरूलाई ।
यहाँका विद्यालयहरू त सामान्य नागरिकका लागि हुन् । यहाँ जन्मिएकैमा अपराध ठान्न
थालेको छ नेतादेखि सामान्य नागरिकसम्मले र मौका पाउने बित्तिकै भाग्न चाहन्छ ऊ ।
विदेशीमुद्राका खाता, अमेरिकी डीभी, विदेशमा पढाइ, नकली पासपोर्ट, विदेशमा लगानी
यी सबै त्यही अपराधबोधको परिणाम हो ।
प्रधानमंत्रीले नागरिकता बाँडुन् या नबाडुन्, निजी
स्वार्थ विना कोही पनि यहाँ पसेर काम गरिदिदैन । त्यसैले विदेशिएका नेपालीले आएर
गरिदिन्छन् भन्ने नसोचे हुन्छ । त्योभन्दा आफ्नो स्वार्थ हेरेर छिमेकी भारतकाले
गर्न सक्छन् । त्यसैले लगानीका आशले नागरिकता बाँड्नु पर्ने जरुरत छैन ।
इन्द्रचोकको घर बेचेर मेनेसोटाको फाँटमा घर बनाउनेको
त विश्वास नहुने नै भयो तर विदेशीमुद्रामा खाता खोल्ने मंत्रीको पनि विश्वास रहेन ।
यति हुदाहुदै पनि आश छ मलाई किनकि यो देश छोडेर जान नचाहने पनि छन् र तिनले यो देश
बनाउन सकेसम्म प्रयास गर्ने छन् । तिनलाई म सपुत भन्ने छु । बाहिरका त आएर हलो
जोती दिने हुन् ज्यालादारीमा या अधियामा ।
हो यही स्थितिमा छौँ हामी दोबाटोमा । गन्तव्य
निश्चित छैन । गन्तव्य पहिल्याउने आशामा छौँ ।
No comments:
Post a Comment