Thursday, October 17, 2013

Me in Twitter

ट्विटरका केही रूपहरू

मेरो नातिले डेढ वर्ष अगाडि खोली दिएको ट्विटरखाता मैले चलाउन नजानेर नै एक वर्ष बढी थन्किएर बसेको थियो र ३।४ महिना अगाडि यसलाई चलाउन थालेपछि मलाई रमाइलो नै लाग्यो । आफूले पछ्याउने प्रकृयामा मैले कहाँ गल्ती गरेँ थाहा छैन तर म थाहै नपाई तन्देरीहरूको जमातमा छिरेछु । देवेन्द्रराज पाण्डे, निलाम्बर आचार्य जस्तता २।४ जनाले नपछ्याई दिएको भए त ७० नाघेर ७५ तिर लम्केको बुढो म एक्लो हुने रहेछु । त्यसैले म कसैको हजुरबा, कसैको बुढोबा र कसैको ठुलोबा भएको छु ट्विटरमा ।

मेरो ट्विटर जमातमा युवाहरू छन् सबै जसो । कोही विहे गर्ने तरखरमा भएका, कोही सानो नानी बोकेर या डोर्‍याएर हिड्ने र कोही कोही किशोरकिशोरीमा बाबुआमाहरू । त्यहाँ विषयवस्तुभन्दा अ-विषयवस्तुका गफ धेरै हुन्छन् र त्यहाँ युवाहरूले ट्विटरलाई सामान्यत मनोरञ्जनको माध्यम ठाने जस्तो लाग्छ । 

अब ट्विटरको विश्लेषणतिर जाऊँ ।

मैले ट्विटरमा पहुँच भएका तीन जना राजनितिज्ञलाई लिएको छु । डा.बाबुराम भट्टराईको ट्विटरमा पहुँच सर्वविदित छ । उनलाई ४२,६०० ले पछ्याउदा रहेछन् तर उनी केवल २५ जनालाई पछ्याउ छन् । ती २५ मा पनि ८ वटा पत्रिका रहेछन् र १७ जनामा चल्तीका पत्रकार, केही भारतिय नेता र पुराना दरबारिया अभिजात्य वर्गका केही पात्रहरू । नेपाली कांग्रेसका नवोदित भनिएका गगन थापाको स्थिति पनि यो भन्दा कुनै गतिलो छैन । उनलाई १९२०० ले फोलो गर्छन् र उनी १११ जनालाई मात्र । यसमा पनि ठुलो जमात पत्रकारको छ र छ दरबारिया अभिजात्यको पनि । ट्विटरमा आएका विद्यार्थी, जागिरे, कृषकलाई छोएका पनि छैनन् दुवैले । न आफ्नै कार्यकर्तालाई नै छोएका छन् यिनी दुवैले । कमल थापा तेश्रो राजनितिज्ञ हुन् मेरो विशलेषणमा परेका । कमल थापालाई पछ्याउने केवल ६५०० छन् र उनी ८०० लाई पछ्याउ छन् । पत्रकार र अभिजात्य त उनका पनि यसै छदै छन् तर उनको पछ्याउने पात्रहरू अरू प्रकृतिका पनि छन् । कार्यकर्तालाई पछ्याएका छन् उनले र १।२ ठाउँमा त विपक्षी पनि समाउन चुकेका छैनन् ।

कस्तो छ त पत्रकारहरूको चलन ? २२४०० ले पछ्याइने बीबीसी नेपालीसेवाका डेस्क सम्पादक रविन्द्र मिश्रले केवल २२० जनालाई पछ्याउदा रहेछन् । ती पछ्याइएका पनि धेरै विदेशी पत्रिका, विदेशी पत्रकार छन् र ट्विटर चलाउने सबै नेपाली राजनितिज्ञले उनलाई पछ्याउने भएर होला मुख्य मुख्यलाई उनले पनि पछ्याएका रहेछन् । अर्का पत्रकार हिमाल खबर पत्रिकाका पत्रकार कनकमणी दिक्षितलाई पनि १४८०० ले पछ्याउदा उनी भने जम्माजम्मी १०० जनालाई मात्र पछ्याउदा रहेछन् र पछ्याउने प्रकृयामा ५०% मात्र नेपाली रहेछन् र तीमध्ये आधा त पत्रकार । तेश्रो पत्रकार हुन नारायण अमृत । उनका पछ्याउनेको सूचि केवल ५९०० को मात्रै छ र उनले पछ्याइनेको २४० अर्थात् ४% जति । उनको पछ्याइमा पनि पत्रकार त पर्ने नै भए तर सामान्य ट्विटेहरू पनि छन् उनको पछ्याइमा । अघि भनिएका राजनितिज्ञ र पत्रकारहरू जस्तो सर्वसाधारण वर्जित चाहिँ छैनन् उनकोमा ।

महिला ट्विटेहरू पनि छन् मेरो पछ्याइमा । नेपालीकी छोरी तर अमेरिका, क्यानाडामा नै बसोवास भएकी अंग्रेजी लेखिका मन्जुश्री थापा एक हुन् । उपरोक्त राजनीतिज्ञ र पत्रकार झण्डै सबैले पछ्याइकी उनका ११००० पछौटोमा उनी केवल ५६० लाई पछ्याउदी रहिछन् र नेपाली त ५० भन्दा पनि कम । नेपालीमा उनले पुस्तक नलेखेकी हुनाले मैले अंग्रेजी लेखिका भनेको हुँ । अर्की "Fifteen & Three Quarters" कि अंग्रेजी लेखिका रिचा भट्टराई पनि ट्विटरमा नै पाएँ मैले । २६०० ले पछ्याइएकी रिचा मात्र १६० जनालाई पछ्याउछिन् । भक्तपुरकी  ब्लगर र पत्रकार रुबिना श्रेष्ठ पनि छन् ट्विटर संजालमा । उनी ३१५ जनालाई पछ्याउछिन् र उनलाई पछ्याउने ११०० । उनले पछ्याउनेमा पूर्वपंच पद्मसुन्दर लावतीदेखि ट्विटरमा बाबजी नामले विख्यात प्रकाश लामिछाने सम्मका मानिस छन् ।

ट्विटरमा आफूलाई पछ्याउनेहरूको नाममा कुलरिम्सको नामले ट्विटर चलाउने सुबास कोइरालाको नाम पनि लिन्छु म । उनलाई ५५७० ले पछ्याउछन् र उनी पनि त्यसकै हाराहारी ५३२० लाई पछ्याउछन् । उनका मनोरञ्जक ट्विटहरूका निम्ति रुचाउछन् सबेले उनलाई र कुलुदाइ भएनन् भने त उनका पछौटे युवाहरूलाई त ट्विटर नै खल्लो लाग्छ । सर्वोच्च अदालतका एडभोकेट महेश्वर चौधरी पनि उल्लेखनिय छन् ट्विटर जमातमा । ७८० ले आफूलाई पछ्याउदा १९५० जनालाई पछ्याउछन् उनी र उनका ट्विटमा सधै सल्लाह र सुझाब हुन्छन् । ट्विटरको सदुपयोग गर्छन् उनी । उनी त ८ जना फोलोअर हुनेलाई धक नमानी फोलो गरिदिन्छन् । उत्साह बढाउछन् उसको । मेरो अन्तिम छनोटमा झापाकी निशा ओली पर्छिन् । पत्रकारिता पढ्दै गरेकी निशा ओलीका ८०० पछुवाहरू छन् ८१२ का पछि लागेकी छन् उनी । अरू केटी ट्विटेहरूले ८०० लाई पछ्याउदा उनीहरूलाई पछ्याउनेहरू २५०० पुग्थे भने निशा ओली किन पछि परिन् ? त्यसमा दुई मध्ये एक कारण हुनु पर्छ । या त निशा ओलीका ट्विटहरू केटाहरूका लागि अपाच्य हुने खालका हुन्छन् या निशा ओली पहिले आफूले पछ्याएर उसले पछ्याएपछि अनफोलो गरी Lure and leave को सिद्धान्त प्रयोग गर्दिनन् । नया नै छन् उनी ।

मैले राजनीतिज्ञ, पत्रकार, महिला र सामान्य मानिस गरी चार विभाजनका ट्विटेहरूलाई पछ्याउने र उनीहरूले पछ्याएकाको एउटा तथ्याङ्क हेरेर उनीहरूको सर्वसाधारण ट्विटेहरूको विचार बुझ्न खोज्छन् कि खोज्दैनन् या show glamour का अभिनेता या अभेनेत्रीझै आफ्नो उपस्थिति देखाउने हुन् त्यसको नमुना प्रस्तुत गर्ने प्रयास गरेको हुँ । सही बेसही त विचार आ-आफ्नो ।

No comments: