Wednesday, October 09, 2013

धुन्धुली



धुन्धुली
(खण्डकाव्य)


संध्या गोधुलीको बिछट्ट धमिलो आकाश खाली थियो
थियो सागर उर्लदो जगत नै निर्भाव निश्चल थियो ।।
वायु निश्चल श्वासझै नभसँगै ठ्याम्मै अडेको थियो
संसारै सब सृष्टिका नियतिको आशा लिई पर्खियो ।।१।।

भोलिको दिन अन्धकार रहला या निस्कला ज्योतिमा
सारा जीव-अजीव शाश्वत हुनन् या सर्वथा नाशमा ।
गर्थ्यो निश्चित भाग्य छाल भुँवरी नाच्ने वृथागर्वमा
थियो दृष्टि त्रिलोकको स्थिर भई त्यो पानीको छालमा ।।२।।

बौलायो जलराशी छट्पट भई आकाशझैँ गर्जियो
चिच्यायो अति कष्टभाव बलले व्रह्माण्ड नै थर्कियो ।।
पानी शान्त भयो सधैँ रणपछि मैदानको ताल भो
मृत्यु निश्चित जानियो तर त्यहाँ हार्योो जित्यो को र को? ।।३।।

विस्तारै जलबाट निस्की धरणी पुरै धरा रङ्गिई
दार्हारमाथि अडेकी सौम्य हरिता संसारमै फैलिई ।।
निस्के माथि वराहरूप प्रभूजी मातृधरा साथमा
वाहुयुद्ध गरी सबै झिकी दिए सेखी हिरण्डाक्षका ।।४।।

संसारैभरिको थिती जब बस्यो ढुक्कै विधाता भए
पानीबाट उठेर सामु गिरीमा विश्राम निम्ति गए ।।
नामी नाम वराह पर्वत भयो त्यो पश्चिमी घाटमा
त्यो पुण्यस्थलमा सुते रे प्रभूजी ऊ सत्यवत् कालमा ।।५।।

दार्हाुबाट हुदै बगेर पसिना देब्रेकी तुङ्गा भइन्
दाहिनेतिरबाट निस्की सरिता भद्रा बनेकी थिइन् ।।
पश्चिमा गतिले गइन् जलधिमा नेत्रावति चालले
तीनै रत्न झरे वराह गिरीका बाटो आ-आफ्नै लिए ।।६।।

गंगामूल भयो त्रिरत्न नदीको पवित्र सृष्टि थलो
'गंगा स्नान र तुंग पान' त सधैँ साँचै उखानै बन्यो ।।
गंगाका दुई धार दक्षिणी बने तुङ्गा र भद्रावति
तुङ्गा भागिरथी समान बनीदा भद्रा त मन्दाकिनी ।।७।।

जन्मैदेखि विछोडका जलधरा तुङ्गा र भद्रा मिता
मिल्छन् कुड्ली पुगी किशोरी सरिता भेटी खुला फाटमा ।।
यात्राको शुरू गर्दछन् सँगसँगै ती तुङ्भद्रा भई
डुब्छन् पाप सबै पखाली जननी कृष्णा नदीमा गई ।।८।।

ती गंगातटमा बसे सुर गई ती पुण्यभूमी बने
ती देवस्थल आसपास भूमिमा गृहस्थ आई बसे ।।
ध्यानी ज्ञानी र योगीको स्थल बनिन् ती तुङ्गभद्रा नदी
यो चालासित कल्पकल्प तुरियो बिना कुनै त्राशदी ।।९।।

क्रमशः

No comments: