मलाई एउटी रूदाली चाहिएको छ
(राजस्थानी राजपूत महिलाहरू लोग्ने, छोरो मर्दा पनि डाँको छोडेर रुन पाउदैनथे
। उनीहरूको साटो डाँको छोडेर रुन भाडामा आइमाई ल्याइन्थ्यो र त्यस्ता आइमाईलाई
रुदाली भनिन्थ्यो । रुदाली कपालको झाँक्रो फिँजाएर, लाएको लुगा लथालिङ्ग बनाएर
मर्नेको गुणगान गर्दै आँगनमा छाती पिटी पिटी रुन्थी ।)
अन्धकार कोठरीमा थुनिएका मेरा छोरा
एकै रात छपक्क गिँडिए अन्धकारैमा
सास त गयो गयो नै
लास पनि पाइनँ मैले;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।
मेरो काँखमा सुतेकी छोरी
बैरी बनेर लुटेर लगे,
के गरे, के गरेनन् उसलाई ?
मेरा रगतका धारा बगे;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।
कखहरा सिकाउथ्यो मेरो छोरो,
बाटो देखाउथ्यो मेरो छोरो,
शिक्षा दिन्थ्यो, दिक्षा दिन्थ्यो,
ऊ त गुरु मानिन्थ्यो;
घिसारेर लगे एक दिन सिनो घिसारे झैँ,
तारो हानी खेले प्रगति भन्दै,
त्राशले लाश उठाउन सकिनँ मैले;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।
आफै फिरादी बने, आफै प्रतिवादी बने,
न्यायको कुर्सीका आफैँ अधिकारी बने,
भालाले रोपी मारे, ढुंगाले किची मारे,
ऊसैको डोकोमा उसैको लाश पसारे;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।
हजार पन्द्रेक मरे, मराए,
त्यति नै त चिहान खनाए,
सोतर झैँ सोहोरिदै अनिच्छामै जीवन
गुमाए,
छोराछोरी मेरा मरे, अरूले घर बनाए;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।
--- राम दाहाल
२०६९ कार्तिक १२
No comments:
Post a Comment