कही झुल्किइन् उनी
उनी झुल्किइन् परेवाको जुन
जस्तै कही परपर
रूप पनि देखेको छैन मैले
बोली पनि सुनेको छैन मैले
स्पर्शको अनुभूति पनि पाएको
छैन
उनी छन् यतिले नै सन्तोष
गरेको छु मैले ।
प्रतिच्छायाको रूपमा
टल्केकी छन् उनी
केवल प्रतिध्वनीझैँ बोलेकी
छन् उनी
देख्दैमा मोह लाग्ने छालको
चालझैँ
क्षितिजमा कोल्टे परेर
नाचेकी छन् उनी
सशरीर त उनलाई भेटेको छैन
मैले
उनी छन् यतिले नै सन्तोष
गरेको छु मैले ।
पूर्णीमाको दिन आउला, उनको
रूप देख्न पाउँला
मेरो घरको आँगन जुन ज्योतिले
छाउला
बारीका फूलहरू उनको डाहले
ओइलाउलान्
पातका घुम्टो ओडेर जुनकिरी
लाजले च्याउलान्
पर्खेको छु त्यो दिन मैले तर
अहिले
उनी छन् यतिले नै सन्तोष
गरेको छु मैले ।
राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० भाद्र १८
No comments:
Post a Comment