बोकाको मुखमा कुभिण्डो
(वि.सं. २०६२ सालमा यही ब्लगमा प्रकाशित लेखलाई पुन प्रकाशित गरी दिएको छु ।)
सच्चित शमशेर जबरा , भरतकेशर सिंह र टंक ढकाल भन्दा पनि अझ राजावादी भएर अहिले मुख्य सचिव लोकमान सिं कार्की कुर्लदै राज्यका कर्मचारीहरूंलाई तर्साउन अगाडि आएका छन । जसले जे जस्तो राजनैतिक आस्था राखे पनि राज्यको नियम कानुन पालना गरेर राज्य व्यवस्थामा सहभागी हुनु सरकारी कर्मचारीहरूको कर्तव्य हो र यो भन्दा पर गर्न व्याध्य हुनु नपर्ने उसको अधिकार पनि हो । १२ वर्षे प्रजातान्त्रिक पद्धतिले उनीहरूलाई यो कुरामा सचेत बनाएको छ । हिजो सम्म राणा, सिंह र ढकाल त्रिमूर्तिले पंचायत सँगै पाखा लागेको 'देश नरेश' को नारा निकालेर देश र राजालाई एउटै धागोमा उने र राजाको विरोध भनेको देशको विरोध भन्दै राजाका कदमका विरोधिलाई देशद्रोहीको पगरी भिराएर राजा विरोधि खेमाको कित्ता फराकिलो पारिरहेका थिए । आज 'राजमुकुटमा निष्ठा नराख्ने कर्मचारीको दोहोलो काडने' सन्देश प्रवाहित गरेर मुख्य सचिवले दुई फराकिला पाटा तयार गरिदिएका छन जसमा एकातिर देश रक्षार्थ बन्दुकको मोहोरी सामु छाती थाप्न तयार बहादुर सैनिक जवानले पाउनु पर्ने जर्नेली पद बन्दुकको मोहोरी पनि नदेखी हुकुम प्रमाङ्गीले हत्याउन सक्ने बाबुका छोरो हुनाले कर्मचारीले नियुक्ति र बढुवाको निम्ति पार गर्नु पर्ने लोकसेवा आयोगको ढोका पनि नदेखाइ नियम र कानुन र आम जंगी र निजामति कर्मचारीहरूको आस्थालाई बेवास्ता गरी हुकुम र निगाहले नै चाकडीको भरमा नियुक्ति र बढुवा पाएका लोकमान सिं कार्कीहरू जस्ता हुनेछन भने राज्यका नियम र कानुनका दायरा भित्र बसेर देश र जनता प्रति वफादारी राख्दै कर्तव्य पालनगर्ने कर्मचारीहरू अर्को तिर । यो त प्रस्ट हुदै जाला नै तर निगाहले मंत्री भएका ढकालले र सेवा निवृत्त राणा र सिंहले राजनिति गर्नु एउटा कुरा हो तर पंचायतकालिन मुख्य सचिवले पनि तठस्थता देखाएर राखेको पदको गरिमा र राजनैतिक निश्पक्षताको खिल्ली उडाउने बुद्धि मुख्य सचिवलाई आयो कहाँ बाट ? यो कसैलाई खुशी पार्न आफूले उडाएको परेवा आफ्नै थाप्लोमा बसाएर हाँस्ने सर्कसको जोकरको जस्तो विदुषकिय शैली हो कि क्षमता परिक्षण बिना नै माथि उक्लिएकाले बोकाका मुखमा कुभिण्डो ठुलो भएको हो ?
राम दाहाल
जोरपाटी काठमाडौ
५ भाद्र २०६२
No comments:
Post a Comment